धरान / सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष अशोककुमार राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ । 

सोमबार सार्वजनिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शरिन तामाङलाई ४५३ मतले पछि पार्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको हो । राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत पाउनु भएको छ । सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता मुक्साङहाङ मेन्याङ्बोले १३ हजार ८७ मत ल्याएर तेश्रो हुनु भएको छ । १५ बर्ष अघि नेकपा एमालेको उपाध्यक्ष पद छाडेका राईले त्यही एमालेको मतले प्रतिनिधी सभा यात्रा तय गर्न सफल हुन भएको छ । २०४८ र २०५१ सालमा खोटाङमा एमालेबाटै निर्वाचति भएर यातायात । स्वास्थ्य मन्त्रीसमेत हुनु भएको थियो ।  

०५६ मा उहाँले उदयपुर २ नं. क्षेत्रबाट चुनाव लड्नु भएको थियो । निर्वाचन क्षेत्र परिर्वतनसँगे उहाँ पराजित हुनु भयो । २०६४ सालको संविधान सभा पछि एमालेमा असन्तुष्ट जनाउदैं उहाँले एमाले छाडेर संघीय समाजबादी पार्टी गठन गरि अध्यक्ष हुनु भएको थियो । राई २०७० सालमा संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित हुनु भए पछि उहाँ संसदीय यात्रामा पुग्ने मौका पाउनु भएको थिएन । ०७४ सालमा नेपाली कांग्रेससँगको गठबन्धनबाट सुनसरी–१ बाटै उम्मेदवार भएका राईलाई नेकपा एमालेका आफ्नै राजनीतिक चेला जयकुमार राईले २२ हजार मतान्तरले पराजित गर्नु भएको थियो । संयोगवस २०७४ सालमा चुनाव हराउने एमालले कै समर्थन र भोटले २०७९ सालको निर्वाचनमा विजयी भई प्रतिनिधि सभा सदस्यको यात्रा तय गर्न सफल भएका छन् ।  जसपाको सुनसरी क्षेत्र नं. १ मा करिव ३ हजार मत रहेको छ ।

नेकपा एमाले स्थानीय पार्टी नेतृत्वले यस बर्ष पनि संघीय संसदमा जयकुमार राईलाई  एकल रुपमा सिफारिस गरेको थियो । तर पार्टी केन्द्रीय नेतृत्वले जयकुमार राईलाई वाइपास गरेर अशोक राईलाई तालमेलको उम्मेदवार बनाएको थियो । एमालेका केही नेता कार्यकर्ताहरुले नेतृत्वको गलत निर्णय भन्दैं असहमति जनाएर एमालेका प्रदेश कमिटी सदस्य तथा धरानका पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङबोलाई उम्मेदवारसमेत बनाएका थिए । उहाँले ७ हजार ८ सय १२ मत ल्याउनु भयो । 

एमालेमा रहदा शक्तिशाली उपाध्यक्षसमेत रहेका राई ०५१ मा एमालेबाट यातायात मन्त्री हुनु भएको थियो । यस्तै ०५३ मा संयुक्त सरकारको संसदीय व्यवस्था मन्त्री र ०६२ मा संयुक्त सरकारको स्वास्थ्यमन्त्री समेत हुनु भएको थियो । 

२०७९ सालको निर्वाचनमा सुनसरी–१ मा एमाले–जसपा तालमेलबाट उहाँलाई पार्टीले टिकट दिएको थियो । उहाँसँगै सुनसरी–१(१)मा नेकपा एमालेका रमेशकुमार बस्नेत विजयी हुनु भएको छ । निकटतम प्रतिष्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उमेश थापालाई १ हजार ३५० मतले पराजित गर्दै बस्नेत विजयी हुनु भयो । बस्नेतले ११ हजार १०२  मत प्राप्त गर्दा थापाले ९ हजार ७५२ मत प्राप्त गर्नु भयो ।  

यस्तै सुनसरी–१(२)बाट नेकपा एमालेक विजयकुमार राई विजयी हुनु भयो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राईले राप्रपाका उम्मेदवार अनिश ढकाललाई ४ हजार ९८२ मतान्तरले पराजित गर्दै विजयी हुनु भएको हो । राईले १२ हजार ४६४ मत पाउनु भएको छ । राप्रपाका ढकालले ७ हजार ४८२ मत पाउनु भयो । यस्तै, गठबन्धनबाट नेकपा एसका रेवतीरमण राईले ४ हजार ९८८ मत पाउनु भयो भने स्वतन्त्र उम्मेदवार रोहित सुब्बाले ६ हजार ८३८ मत पाउनु भयो । 

एमालेको इतिहास जोडिएको अशोक राई को हुन ? 

नेकपा एमालेका केही नेता कार्यकर्ताहरुलाई अहिले अशोक राई मन नपर्न सक्छ । तर, एमालेको इतिहास पढ्दा वा लेख्दा पटक–पटक पढ्नुपर्ने र लेख्नुपर्ने नाम भएको छ । १० वर्षअघि (२०६९) मा आफैंले बनाएको एमालेको भव्य घरआँगन छाडेर जानु भएका अशोकको परिचय राजनीतिक जीवनको चर्चा गर्दा फेरी पनि एमाले जोडिन्छ । एमाले उल्लेख नगरीकन उहाँको परिचय पुरा हुदैंन् । 

उहाँको सबैभन्दा उर्बर र गौरवमय समय २०२९ देखि २०६९ सम्मको ‘बायोडाटा’मा सबै एमाले गर्नुपर्ने हुन्छ । २०२९ मा विराटनगरमा पढ्दै गर्दा झापाली आन्दोलनकारीसँगको सम्पर्कमा पुगेर कम्युनिस्ट आन्दोलनमा लागनु भएका अशोक वामपन्थी यात्रा २०६९ मा विराम लगाउनु भएको थियो । अशोक २०३१ मा हात्तीसार क्याम्पस धरानमा विद्यार्थी परिषद्को निर्वाचित सदस्य, २०३३ मा काठमाडौंमा युवाहरूको ‘राँको समूह’को नेतृत्व गर्दै सोही वर्ष नै अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन केन्द्र(९माक्र्सवादी लेनीनवादी)का सदस्य हुनु भयो । २०३६ देखि पूर्णकालीन भएर पूर्वको पहाडी जिल्ला पुग्नु भयो । पूर्वको भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका गाउँ–गाउँ गएर संगठन विस्तार गर्नु भयो । पूर्वी पहाडमा कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा उहाँको उल्लेख्य भूमिका छ । 

अशोक १०३७ मा पूर्व–दक्षिण क्षेत्रीय कमिटी मालेको सदस्य हुनु भएको थियो । २०४६ मा नेकपा (माले)को केन्द्रीय सदस्य हुँदै २०५९ मा जनकपुरमा आयोजित नेकपा मालेको सातौं महाधिवशेनमा सर्वाधिक मत पाउनु भएको थियो । २०५९ मा नेकपा एमाले स्थायी कमिटी सदस्य हुनु भयो । २०६५ को बुटवलमा आयोजित एमाले आठौं महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरी निर्वाचित उपाध्यक्ष हुनु भएको थियो ।