सप्तरी / सप्तरीको राजविराज नगरपालिका ६ का राकेश महर्जनले गत पुस ३० गते पत्नी कल्पना खनालसँग सम्बन्ध विच्छेदका लागि निवेदन दिए । ४ वर्षदेखि अलग्गै रहेको र अब पनि सँगै बस्न नसक्ने भन्दै उनले सम्बन्ध विच्छेदका माग गर्दै निवेदन दिएका हुन् ।
राकेशले ०६२ माघ १ गते गोर्खाको थालाजुङ ३ की कल्पना खनालसँग प्रेम विवाह गरेका थिए । उनीहरुले राजविराज नगरपालिकामा विवाह दर्ता गरेका थिए । दुई वर्षसम्म सम्बन्ध राम्रै चलेको थियो । ०६४ मंसिर २५ गते उनीहरुकी छोरी (कृति) जन्मिइन् ।
‘त्यसपछि एकाएक कल्पनाको व्यवहारमा परिवर्तन देखिन थाल्यो, त्यसको असर विस्तारै सम्बन्धमा प¥र्यो’, उनको निवेदनमा उल्लेख छ, ‘सुधार होला भन्दै प्रतीक्षा गरेँ, तर त्यस्तो भएन ।’
आवश्यकता बढ्दै र व्यवहारले थिच्दै लगेपछि ०७० असोज १६ गते राकेश विदेश गए । यसैबीचमा घरमा कसैलाई जानकारी नै नदिई कल्पना माइत गइन् । उनीहरुबीच सम्पर्क बन्द भयो । राकेशले ०७४ साउन महिनामा घर फर्किएर श्रीमती र छोरीको खोजी गरे । जानकारी नै नभएको जवाफ दिँदै आएका ससुराली पक्षले राकेशको दबावपछि बल्ल मुख खोले । कल्पनाले ४ वर्षअघि धर्म परिवर्तन गरी क्रिस्चियन बनेर छोरीसहित भारतमा बसोबास गर्दै आएको खबर उनले सुने।
लामो समयदेखि पत्नीसँग सम्पर्क नभएकाले अब सम्बन्ध विच्छेद गर्ने निष्कर्षसहित उनले नगरपालिकामा निवेदन दिएका हुन् ।
यसैगरी, राजविराज नगरपालिका वडा नम्बर २ का देवेन्द्रप्रसाद देवले पत्नी रञ्जनासँग सम्बन्ध विच्छेदको मागसहित गत बैशाख २२ गते निवेदन दर्ता गराएका छन्। ०६२ असार २६ गते मागी विवाह गरेका दुवैबीच सुरुवाती समयदेखि नै राम्रो सम्बन्ध भएन ।
‘विवाहको पहिलो दिन कल्पनाले मसँग कुरा गर्नै मानिनन्, नबोलेरै रात बित्यो’, उनले आफनो निवेदनमा उल्लेख गरेका छन्, ‘निकै दबाव दिएपछि आफ्नो अर्कै केटासँग प्रेम रहेको र बाबुामाको करकापमा विवाह गर्नुपरेको भन्दै कल्पनाले मलाई पति अस्वीकार गरिन् ।’
उनले परिवारलाई समस्या बताए। समाजमा इज्जत जाने पीरले जसोतसो सम्बन्ध धान्दै गए। तर, पत्नीमा कुनै परिवर्तन नदेखिएपछि दुवै परिवारको सल्लाह अनुसार साउन ५ गते माइती पठाइदिए। सम्बन्ध सुधारेर बस्न बाबुआमाले दिएको दबाव थेग्न नसकेर रञ्जनाले विष सेवन गरिन्। सगरमाथा अञ्चल अस्पतालमा ६ दिन उपचारपछि उनको ज्यान बच्यो । सम्बन्ध विच्छेद गराउने सर्तमा ०६४ भदौ १ गते उनी घर फर्किइन्। यसैबीचमा ०६५ जेठ १६ गते उनीहरुका छोरा (कृष्णमोहन) को जन्म भयो। अपेक्षा विपरीत कल्पना ०६५ कात्तिक २० गतेपछि छोरासहित माइत बस्न थालिन्। कल्पनाले आफूलाई पति मान्न अस्वीकार गरेको र सम्बन्ध विच्छेद पनि चाहेकाले सोही अनुरुप गरिपाऊँ भनी उनले दिएको निवेदनमा माग गरिएको छ। नगरपालिकाले उनको निवेदन तामेलीमा राखेको छ ।
राजविराज नगरपालिका स्थानीय सरकार सञ्चालन ऐन ०७४ ले न्यायिक समिति मार्फत विभिन्न १३ प्रकारका मुद्दा निरुपण गर्न सक्ने अधिकार दिएपछि यतिबेला नगर तथा गाउँपालिकामा सम्बन्ध विच्छेदका निवेदन आउन थालेका हुन्। यसअघि भने यस्ता निवेदन जिल्ला अदालतले मात्र हेर्ने गर्थ्यो।
स्थानीय तहमा पुरुष वादी भएका सम्बन्ध विच्छेदका निवेदन समेत धमाधम दर्ता हुन थालेका छन्। राजविराज नगरपालिकाका प्रशासकीय अधिकृत प्रफुल्ल श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा दर्ता भएका कुल ७ मध्ये ६ वटा मुद्दा सम्बन्ध विच्छेदका मात्रै छन्। जसमध्ये ५ वटा मुद्दालाई म्याद तामेल गरिएको जानकारी दिँदै अघिल्लो वर्षको तुलनामा यस वर्ष सम्बन्ध विच्छेदका मुद्दा बढेको उनले बताए ।
यो आर्थिक वर्षमा दर्ता भएकामध्ये एक थान निवेदन मात्र महिलाले दर्ता गरेको देखिन्छ । पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा हाल्नेबारे के छ कानुनी प्रावधान ?
मुलुकी ऐनमा लोग्ने(स्वास्नीको महल दफा १ को (क) मा लोग्ने मानिसले सम्बन्धित गाविसरनगरपालिकामा ३ वर्षसम्म लोग्नेको मञ्जुरी बेगर अन्यत्र बसेमारनिजको इज्जतमा पर्ने गरी ज्यान जाने, अंगभंग गर्ने, मानसिक कष्ट दिने कार्य गरेको वा यौन सम्बन्धी रोग लागी निको नहुने भएमा वा अरु पुरुषसँग करणी गराएमा पतिले गाविसरनपा (हाल गापारनपा) मा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेको छ।
सम्बन्ध विच्छेदका लागि महिलाले सीधै अदालतमा मुद्दा दर्ता गर्न पाउने व्यवस्था भए पनि पुरुषका हकमा स्थानीय तह मार्फत जानुपर्ने व्यवस्था रहेको अधिवक्ता तथा राजविराज नगरपालिकाका कानुनी सल्लाहकार शिवकुमार चौधरी बताउँछन् । स्थानीय सरकार सञ्चालन ऐन ०७४ को परिच्छेद ८ को दफा ४६ मा उपमेयररउपाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति गठन हुने ब्यवस्था छ। दफा ४७(१) अनुसार समितिले १३ वटा मुद्दा निरुपण गर्न सक्छ ।
मुद्दा दर्ता भएपछि दफा ४७ को उपदफा २(ग) अनुसार समितिले प्रतिउत्तरका लागि दोस्रो पक्षलाई म्याद दिई सामेल गराई तारेखमा राख्ने, मेलमिलाप गराउने र १ वर्ष्भित्र मुद्दा किनारा नलागे रायसहित फाइल (मुद्दा) सम्बन्धित अदालतमा पठाउने व्यवस्था छ।
जिल्ला अदालतमा पनि उस्तै
जिल्ला अदालत राजविराजमा चालु आर्थिक वर्षमा कुल ३९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। जसमध्ये २७ वटा मुद्दा विचाराधीन छन् भने १२ वटा मुद्दाको फैसला भएको छ । अदालतका तहसिलदार किरण सिंहका अनुसार ०७२ देखि हालसम्म दर्ता भएका कुल २ सय ६ मध्ये १ सय ५८ वटा सम्बन्ध विच्छेदका मुद्दाको फैसला भइसकेको छ। ४८ वटा मुद्दा किनारा लाग्न बाँकी छ।
बढ्दो सम्बन्ध विच्छेद र कारण
बदलिँदो सामाजिक परिवेश, पश्चिमा संस्कृतिको प्रभाव र वैदेशिक रोजगारीका कारण सम्बन्ध विच्छेदका मुद्दा प्रतिदिन बढ्दै गएको जानकारहरु बताउँछन् । वैदेशिक रोजगारीका कारण लामो समयसम्म पति–पत्नी छुट्टिएर बस्नुपर्दा सम्बन्धमा दरार उत्पन्न हुने गरेको राजविराज ७ का वैजनाथ जोशी बताउँछन् । ‘निवेदनमा जेसुकै लेखिएको भए पनि भित्री कुरा चाहिँ एक–आपसको सम्बन्ध नै हो’, उनी भन्छन, ‘स्थानीय स्तरमा रोजगारीको व्यवस्था र नैतिक शिक्षालाई विस्तार गर्न सके सम्बन्ध विच्छेदको संख्या आधा घटाउन सकिन्छ ।’