धरान  / इटहरीमा “आमा” गीति खण्डकाव्यको बिमोचन गरिएको छ ।  इटहरीको जनजागरण पुस्तकालयको नियमित वाचन ३८ औँ श्रृङ्खलामा पुस्तकालय अध्यक्ष भैरव सापकोटाको सभापतित्वमा खण्डकाव्य विमोचन गरिएको हो । प्रमूख अतिथि महाकाब्यकार डमरु बल्लव भण्डारी हुनुहुन्थ्यो भने बिशिष्ठ अतिथिमा बरिष्ठ छन्द कवि द्वय डा। दिवाकर रेग्मी र मुक्ति पोख्रेल हुनुहुन्थ्यो । टीका आत्रेय, रोहिणी रसिक र रामप्रसाद खरेल बक्ता रहेको उक्त कार्यक्रममा स्वागत कवि टीका मिलनले गर्नुभयो । 

            इटहरी, इनरुवा, बिराटनगर, बेलवारी, दमक लगायतका स्थानबाट विभिन्न साहित्यिक ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न विद्यालयका सन्चालक शिक्षकहरु समेतको उपस्थितिसँगै मानव अधिकार कर्मी तथा समाजसेवी राजु केसी लगायत ७६ जनाको उपस्थित रहेको टीका मिलनले बताउनुभयो ।

“आमा” कवि कोइरालाको मात्र नभएर सिङ्गो ब्रह्माण्डकै सारा जीवको आमा रहेको चर्चा गर्दै ४५ बर्षे तराइमा जन्मी हुर्के बढेका कवि कोइरालाले हामीलाई ९० बर्ष अगाडि पहाडी जनजीवनमा भुलाएको बताउँदै “आमा” वर्तमानको अवस्था केलाउँदै असल, संस्कार युक्त भविष्यको मार्गदर्शक रहेको सहभागीले बताउनु भयो । 

त्यसैगरी अर्का बक्ता कवि रसिकले काब्य अति नै उत्कृष्ट रहेको बताउँदै लुकेका कविलाई बाहिर आउन आह्वान गर्नुभयो । पत्रकारितामा परिचित साहित्यकार खरेलले आफूले कुनै पनि सृजनाले पाठकको मनमा बस्नुपर्ने, समाजलाई सकारात्मक परिवर्तन गर्न सक्ने हुनु पर्छ भन्दै “आमा” ले आफूलाई पनि आँसु झार्न बाध्य बनाएको बताउनुभयो । 

साहित्यकार कृष्णविनोद लम्सालले पढ्दै जाँदा आँसु पुछ्नु परेको कुरा वहाँको शुभकामनामा पनि रहेकोले “आमा” उत्कृष्ट कृति भएकोले हरेक पाठकको मनमा बस्न सक्ने रहेको बताउनुभयो ।

विशिष्ठ अतिथि पोख्रेलले डा रामजी तिम्सिनाले राम्रो भनी शुभकामना लेखिदिएको, छन्दमा अति चनाखो कवि आत्माराम न्यौपानेले भाषा हेरिदिएको तथा कवि स्वयं एम ए , बी एड गरी भाषा तथा ब्याकरण शिक्षणमा दुई दशक बिताएको हुनाले छन्दगत तथा ब्याकणगत त्रुटी नगन्य रहेको बताउँदै झ्याउने छन्द ७ तरिकाले गाउन मिल्ने भनी गाएर सुनाउनुभयो ।

 प्रमूख अतिथि भण्डारीले “आमा” पढिरहँदा महाकाव्य लगायत दर्जनौँ कृति दिएर भाषा साहित्यमा योगदान दिन सक्ने कवि कोइरालाको खुबी रहेको बताउँदै कोइरालाको साहित्यिक यात्रामा थालनी मात्र भएको भन्दै हातेमालो गर्न आह्वान गर्नुभयो । 

 सभापति सापकोटाले रचना अति नै उत्कृष्ट रहेको दाबी गर्दै इटहरीले यस्ता कवि पाएकोमा गर्व गर्नुपर्ने बताउनुभयो । साथै “आमा” पाठ्यक्रममै समावेश गर्नु अत्यावश्यक रहेको बताउँदै “आमा” को बजार खोज्नु नपर्ने पाठकले आफैँ खोजेर पढ्ने बताउनुभयो ।

मङ्गलाचरण, १४ सर्ग र उपसंहारसहित एक सय १७ श्लोक झ्याउरे गीतिलयमा सिर्जना गरिएको आमा गीति खण्डकाव्यको भूमिका आत्माराम न्यौपानेले लेख्नु भएको छ । 

सर्जक निरज कोइरालाका ेआमा कृतिमा ९ वर्षमा बिहे भएको, बच्चा पेटमा हुँदा पति मरेको, माइतबाट पनि अपहेलना भएको, सहरमा बसेर छोरो हुर्काउन–पढाउन सङ्घर्ष गरेको र छोरो सक्षम बनाई आमा गाउँ फर्केको कथा झ्याउरे गीतिलयमा बुनिएको छ ।

लोकार्पण समारोहमा बोल्ने वक्ताहरूले आमा गीति खण्डकाव्य पढ्दै गर्दा झ्याउरे छन्द प्रयोग भएका कारण महाकवि देवकोटाको अमर–काव्य मुनामदनको स्वाद र झल्को आउने चर्चा गरेका थिए ।