देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहौल चर्किइरहँदा सुनसरी क्षेत्र नं. ३ पनि अछुतो छैन । सुनसरीका ४ ओटा क्षेत्रमध्ये आर्थिक, सामाजिक रुपमा पछि परेको क्षेत्र भनेको ३ नं. क्षेत्र हो । विकासका दृष्टिकोणले अन्यन्त संभावना बोकेको यो क्षेत्रमा विगत २६ वर्षदेखि विजयकुमार गच्छदारले नेतृत्व गरेको अवस्था छ । दोस्रो संविधानसभामा नेकपा एमालेबाट उम्मेद्वार बनेकी महिला नेतृ भगवती चौधरीले गच्छदारलाई कडा चुनौति दिएकी थिइन । उक्त निर्वाचनमा (प्राविधिक कारण)ले गच्छदारसँग झिनो मतान्तरले पराजय ब्यहोरेकी चौधरी यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पुनः गच्छदारसँगै प्रतिष्पर्धा गर्दैछन् ।
स्थानीय स्तरमा छरिएर रहेका सानासाना पुँजीलाई एकत्रित गरी महिला मार्फत समुदायमा देशभर लघुवित्त कार्यक्रम सञ्चालन गरेकी चौधरीले महिला शशक्तिकरण, युवा स्वरोजगार, प्राविधिक शिक्षालय, आधुनिक कृषि योजना जस्ता विकासका एजेण्डा अघि सारेकीछन् । नेकपा एमालेकी केन्द्रिय सदस्य समेत रहेकी चौधरीसँग प्रतिनिधिसभा निर्वाचनको तयारी, चुनावी एजेण्डा लगायतका विषयमा गरिएको कुराकानीः
भगवती चौधरी (वाम गठबन्धन उम्मेद्वार, नेकपा एमाले)
सुनसरी क्षेत्र नं. ३

प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा यहाँको तयारी कस्तो भईरहेको छ ?
नयाँ संविधान कार्यान्वयनको चरणमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा दोस्रो चरणको निर्वाचनका लागि हामी अहिले घरदैलो अभियानमा छौं । यसपटक देशभर केन्द्र तथा प्रदेश सभामा बाम गठबन्धनको बुहमतको सरकार गठन गर्ने माहौल बनेको छ । यहि सन्दर्भमा सुनसरी क्षेत्र नं. ३ का जनता पनि यसपटक परिवर्तनको पक्षमा देखिएका छन् । यस पटकको निर्वाचनमा हाम्रो विजय सुनिश्चित देखिएको छ ।

सुनसरी क्षेत्र नं. ३ मा विगत २६ वर्षदेखि विजयकुमार गच्छदारले आधिपत्य जमाएको अवस्थामा तपाईले जित्ने आधार कत्तिको छ ?
मैले भनि सकें यसपटक यहाँका जनता परिवर्तनका पक्षमा छन् । सुनसरीको ३ नं. क्षेत्र विकासका लागि सबै कुराले भरिपूर्ण भएपनि यहाँबाट २६ वर्षदेखि सत्तामा जाने नेतृत्वले यहाँको आर्थिक संबृद्धिका कुनैपनि योजना ल्याउन सकेन । गाउँको विकास कसरी गर्ने, यहाँका दलित, अल्पसंख्यक, आदीबासी जनजाति, मुस्लिम, किसानलाई राजनीतिक, आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा कसरी अगाडी ल्याउने विषयमा उनीहरुले कहिल्लै सोच्न सकेनन् । यहाँ विकासका सामान्य पूर्वाधार समेत नहुँदा जनताहरु प्राविधिक शिक्षा, स्वास्थ्य, सडक, आधुनिक कृषि योजनाबाट अहिलेपनि बञ्चित छन् । र, यहि विकासका लागि यहाँका जनताले विगतमा एउटै ब्यक्तिलाई पटकपटक जिताएर सत्तामा पुर्याएका पनि थिए । ती ब्यक्तिले जनताले दिएको जनमतको कदर नगरेपछि यसपटक जनताले नयाँ नेतृत्वको चाहना गरेका हुन् । र, त्यहि जनताको चाहना र अपेक्षा अनुरुप मैले बाम गठबन्धनबाट उम्मेद्वारी दिएको हुँ ।

सुनसरी क्षेत्र नं. ३ का जनताले नयाँ नेतृत्व खोजेको भनिरहँदा तपाईले जितेर गएको अवस्थामा मात्र यहाँको विकास हुन्छ भन्ने कसरी ग्यारेण्टी गर्नुहुन्छ ?
०४६ सालपछि जतिपनि सरकार बने कुनैपनि सरकार स्थिर भएन । राजनीतिक खिचातानीमा एउटा सरकारले ल्याएको राम्रो कार्यक्रम समेत अर्को सरकारले हटाउने कार्य भयो । यसले भ्रष्टाचार, कुशासन बढ्यो । र, विकासका बाधक भनेकै यीनै कुरा हुन्, नयाँ संविधान कार्यान्वयन भएपछि हामीले राजनीतिक अधिकार पाईसक्यौं । अबको आवश्यक्ता भनेको विकास र संबृद्धि मात्र हो भन्ने निक्र्यौल गरेर नेकपा एमाले र माओवादी केन्द्र विच एकताको प्रयास थालिएको हो । यसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनलाई दुई तिहाई नभएपनि बहुमत अवश्य दिन्छ र, अब बन्ने बाम गठबन्धनको सरकारले ५ वर्षसम्म आफ्नो भिजन र उद्देश्य लागू गर्नसक्छ र, त्यसैले विकास र संबृद्धि ल्याउँछ भनेर नै बाम गठबन्धन गरिएको हो ।
जहाँसम्म मेरो ग्यारेण्टीको कुरा गर्दा यो क्षेत्रमा मैले विगत २० वर्षदेखि लघुवित्त कार्यक्रम मार्फत यहाँका जनतामाझ विभिन्न कार्यक्रम चलाएको छु, महिलाहरुलाई आर्थिक रुपमा बलियो नबनाएसम्म उनीहरुको विकास र मुक्ति संभव छैन भनेर मैले यो क्षेत्रका महिलाहरुलाई घरघरमा पुँजी पुर्याएको छु । मैले निजी क्षेत्रबाट यहाँको विकासमा जे जति काम गरेकी छु जनतालाई प्रष्ट छ । मैले जनताको घरदैलोमा जाँदै गर्दा म र मेरो पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धता पुरा गर्न प्रतिबद्ध छु ।

विशेषगरी यो क्षेत्रको विकासमा तपाईले गर्नुभएको योगदानको चर्चा गर्दा के के छ ?
मैले आफैले आफुले गरेका कामको वर्णन गर्दा नसुहाउला । तथापि, यो चुनावी मैदानमा उत्रिएपछि केहि भन्नै पर्दछ ।
मैले आफूले सक्ने विकासका काम यहि जिल्लाको लागि गरेको छु । म यहि जन्मेकोले यस क्षेत्रलाई आफ्नो मातृभूमी ठानेर आफूले सक्ने सबै थोक अर्पण गरेको छु । युवा स्वरोजगारका लागि काम गरेको छु । बिसौं वर्षदेखि महिला हिंसा भइरहेको थियो जसको प्रमुख कारण उनीहरुसँग आर्थिक अधिकार पनि थिएन । लघुवित्त कार्यक्रम मार्फत महिलाको हातहातमा पुँजी पुर्याएर यो क्षेत्रको गरिबी निवारणको अभियानका साथै उनिहरुमाथि हुने घरेलु हिँसा कम गर्नपनि लागेकी छु । सामाजिक सचेतना, महिला स्वास्थ्य र स्वरोजगारका कूरालाई प्राथमिकतामा राखेर काम गरेको छु । युवा स्वरोजगारका लागि काम गरेकी छु ।

तपाईले महिला हिंसाको कुरा गरिरहँदा यस क्षेत्रका महिलाहरूको आर्थिक, सामाजिक अवस्था कस्तो छ ?
आजभन्दा वीस वर्ष अघिकै कुरा गर्दा धेरै महिलाहरु घरेलु हिँसाबाट पिडीत थिए, महिला साक्षरता थिएन । आर्थिक, सामाजिक क्षेत्रम घरबाट बाहिर निस्कन सक्दैनथे । सामाजिक, सांस्कृतिक कारणले समाजमा खुलेर कुरा गर्न सक्दैनथे । हामी सुनसरीका केही पढेलेखेका महिलाहरूले नै फरवार्ड नेपाल सामाजिक संस्था स्थापना गर्यौं । यसले महिला शशक्तिकरण तथा महिला माथी हुने लैङिगक हिँसा र घरेलु हिँसाका विरुद्ध महिलालाई शशक्त बनाउन धेरै काम गर्यो ।
अहिले यहाँका महिलाहरु पुरुषसँगै आर्थिक क्षेत्रमा सकृय भएका छन् । हामीले लघुवित्त कार्यक्रम सञ्चालन गर्दैगर्दा सामाजिक, शैक्षिक कार्यक्रम पनि चलायौं । यसले महिला हिँसा न्ययूनिकरण गर्न र आर्थिक क्षेत्रमा उनीहरुको पहुँच स्थापित गर्न धेरै टेवा दियो । घरघरमा पुँजी गएपछि यहाँका २७ हजार बढि महिलामा सिप विकास भएको छ । गाउँघरमा एकजना नयाँ मान्छे देख्दा लुक्ने महिला अहिले समाजमा खुलेर कुरा गर्ने, आफ्नो क्षमता दक्षता अनुसारको ब्यवसाय गर्नसक्ने भएका छन् । फरवार्ड नेपालमा देशभरबाट दुई लाख २५ हजार बढि महिला संगठित छन् ।

वर्षाैदेखि सत्तामा रहेका विजयकुमार गच्छदारले समेत यहाँका लागि केहि नगरेको अवस्थामा तपाईले ५ वर्ष भित्रै सबथोक गर्नुहुन्छ भनेर जनताले कसरी विश्वास गर्ने ?
विजयकुमार गच्छदार जी २६ वर्षदेखि १८ पटकसम्म छानिछानी मन्त्री हुनु भयो । सधैं सत्ता र शक्तिकै वरिपरी हुनुभयो । तर, जनताको प्रतिनिधी हुन सक्नु भएन । उहाँ मन्त्री हुँदा यस क्षेत्रमा एउटा प्राविधिक शिक्षालय स्थापना गर्न सक्नु हुन्थ्यो, बारम्बार यातायात मन्त्री हुँदा कालोपत्रे सडक बनाउन सक्नुहुन्थ्यो । बारम्बार भौतिक तथा योजना मन्त्री हुँदा आधुनिक कृषि, सिचाई र उद्योग करकारखानाका योजना ल्याउन सक्नुहुन्थ्यो । पर्यटन मन्त्री हुँदा यहिँकै बर्जु तालको संरक्षण र विकासका लागि काम गरेको भए, अहिले यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने आधार तय हुन्थ्यो । तर, उहाँले आफ्ना पार्टीका केहि कार्यकर्तालाई ठेकेदार बनाउन एक दुईटा पुल र सडक बनाउने वाहेक कुनै काम गर्नुभएन । उहाँले यतिसम्म गर्नुभएको छ की, आफ्नै क्षेत्रमा आएको योजना समेत आफु मन्त्री हुँदा अन्यत्र सार्नु भयो । यो कुराले उहाले जनताको लागि यो क्षेत्रको लागि राजनीति गरेको हैन भनेर प्रमाणित नै हुन्छ ।
मैले निजी क्षेत्रबाट लघुवित्त कार्यक्रम चलाईरहँदा मैले गरेको काम र उहाँ १८ पटक मन्त्री हुँदा उहाँले गरेको कामको मुल्याङन समेत गरौं न कसले कति गरेछ भनेर । र, यो मुल्याङकन जनताले अब २१ गतेको निर्वाचनमा ब्यालेटबाट मलाई अत्याधिक मत दिएर गर्नुहुनेछ भन्नेमा म ढुक्क छु ।
मैले यस क्षेत्रका दाजूभाई दिदी बहिनीहरूले कृषि क्षेत्रमा केहि गर्न सक्नुहुन्छ भन्ने देखेको छु । यहाँका उखु किसानले समयमा पैसा नपाईरहँदा यसका लागि पहल गर्ने भगवती चौधरी नै हो । अहिले गच्छदार जी मा एक किसिमको दम्भ आएको छ त्यसलाई चिर्नुपनि अहिलेको आवश्यकत्ता भइसकेको छ । यो क्षेत्रको विकास र परिवर्तनका लागि राजनीतिक परिवर्तन आवश्यक छ ।

यो क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक जस्ता विकासमा आधारभूत कुरा पनि नहुनुमा जनता दोषी छन् कि नेतृत्व वर्ग ?
हामी २१ औं शताब्दिमा आईरहँदा सुनसरी क्षेत्र नं. ३ का गाउँघरमा विकासका आधारभूत कुरा समेत नहुनुमा जनता दोषी हुने कुरा आउँदैन । यो दोष त २६ वर्षसम्म सत्तामा रहेर हामीमुहाली गर्ने नेतृत्वलाई नै जान्छ । भोट माग्ने बेलामा आफुलाई जनताको सेवक भन्ने सत्तामा पुगेपछि आफ्नै घर अघिल्तिरका जनतालाई विर्सने विजयकुमार गच्छदार जी जस्तो ब्यक्तिलाई अबपनि हामीले सत्तामा पुर्यायौं भने हामी जनता दोषी हुन्छौं । तपाई यहाँका गाउँघर डुल्नुस्, यहाँका जनतासँग सोध्नुस् २६ वर्षमा उहाँले शिक्षा स्वास्थ्य, सडक, स्वच्छ खानेपानी र कृषि आधुनिकिकरणका लागि कति काम गर्नुभयो ।
गच्छदारले चाहेको भए नहुने केहि थिएन । २६ वर्षको सत्तामा रहँदा उहाँले एउटा सुविधासम्पन्न स्वास्थ्य संस्था खोल्न सक्नुहुन्थ्यो । जनतालाई घरै अगाडी प्राविधिक शिक्षा दिन प्राविधिक शिक्षालय खोल्न उहाँलाई कसैले रोक्दैनथ्यो । आधुनिक कृषि प्रणाली अन्र्तगत ब्यवसायीक कृषि परियोजना ल्याउन उहाँलाई २६ वर्षमा कुनै आइतबार पर्खनु पर्दैनथ्यो । खै केहि गर्नुभएन ।
मैले आफ्नो संस्था मार्फत यो क्षेत्रमा अस्पतालका लागि योजना बनाएको छु । हाल स्वकृतिका लागि पहल भइरहेको छ । राज्यबाट आउन ढिलो भएपनि आफ्नो तर्फबाट बजारमा मात्र हैन यहाँको विकट दक्षिण भेगमा समेत अस्पताल स्थापना गराउने छु । म जितेर गएको खण्डमा राज्यको तर्फबाट सुविधा सम्पन्न अस्पताल निर्माण मेरो प्राथमिकतामा छ । युवा स्वरोजगार र प्राविधिक शिक्षालय गाँउमै संचालनमा ल्याउने मेरो प्रमुख योजना रहेको छ ।

तपाईले एक घर एक रोजगार भन्ने योजना उठाइरहँदा, यस क्षेत्रका युवाहरूका लागि कस्तो योजना ल्याउनु भएको छ ?
युवाहरूको योग्यताको आधारमा रोजगारीको अवसर गाउँमै प्रदान गर्ने मैले लक्ष्य लिएको छु । महिलाहरूको सिपका लागि गाउँमै रोजगारीको अवसर सृजना गर्ने योजना बनाएको छु । एउटा घरमा कम्तिमा एक जना रोजगार हुन पर्दछ यसले यहाँका बेरोजगार युवाहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्छ । र, युवाहरु विदेशीने बाध्यता पनि हट्छ भन्ने मेरो बुझाई हो ।

सुनसरीको यो क्षेत्र अन्य क्षेत्रभन्दा पछाडी परेको छ, यसलाई पकेट क्षेत्रका रूपमा विकास गर्न सकिन्छ कि सकिँदैन ?
अवस्य पनि सकिन्छ । गच्छदार जी सत्तामा रहँदा केहि गर्नुभएन तर, म वनराज्य मन्त्री रहँदा ‘तराई बोर्डर हरियाली वन’ भन्ने योेजना ल्याएको थिए । त्यहि योजनालाई समेत गच्छदार जी ले मन्त्री हुँदा खारेज गर्नुभयो । यो क्षेत्रलाई आधुनिक कृषि कार्यक्रम, ब्यवसायीक कृषि प्रणालीका आधारमा पकेट जोन बनाएर गएको खण्डमा यहाँको विकास र आर्थिक संबृद्धिमा ठूलो संभावना छ ।

दुहवी क्षेत्रमा बढ्दो जनघनत्व र शहरीकरण व्यवस्थित गर्न तपाईको के योजना छ ?
दुहवी इटहरीभन्दा पूरानो शहर हो तर, यहाँका जनप्रतिनिधीको बेवास्ताका कारण पछी परेको छ । यसलाई व्यवस्थित गर्न सके नमुना शहर बन्छ । दुहवीको शहरीकरण र विकासका लागि चक्रपथ सडक योजना बनाएको छु । ब्यवस्थित पार्क एवम् संग्रहालय बनाउने योजना छ । यस क्षेत्रलाई हरियाली शहर एवम् सौर्य सिटीका रूपमा विकास गर्ने लक्ष्य छ ।

यहाँको धार्मिक, प्राकृतिक एवम् सांस्कृतिक विकासका लागि यहाँका एजेण्डा के के छन् ?
हामी कम्युनिस्ट हौं तरपनि, हाम्रो सबै धर्म, संस्कृति र विचारमा समान भावना छ । यहाँ भएका विविध धर्म संस्कृतिको संरक्षण गर्ने, प्राकृतिक संपदा र क्षेत्रको विकास विस्तार गर्ने, पर्यटकीय क्षेत्रको पहिचान गरी गुरुयोजना तयार गर्ने एजेण्डा छ ।

अहिले प्रतिष्पर्धी पार्टीले नेकपा एमालेलाई मधेश विरोधी पार्टीको रूपमा आरोप लगाइरहँदा यहाँका जनताको प्रतिकृया कस्तो छ ?
नेकपा एमाले कहिल्लै पनि मधेश विरोधी पार्टी हैन । संविधान जारी गर्न नदिने खेल भईरहेको अवस्थामा मुलुक अन्धकार तर्फ नजाओस्, अन्तराष्ट्रिय क्षेत्रमा देश कालो सूचीमा नपरोस् भनेर संविधान जारी गर्न त्यत्तिबेला अडान लिएको हो । दोस्रो पटकपनि संविधान जारी नभएको भए नेपालको छवि पूरै बदनाम हुने थियो । त्यतिबेला नेपाली कांग्रेसको सरकार थियो । कांग्रेस संविधान जारी नगर्ने पक्षमा हुँदा हामीले नै बल गरेर संविधान जारी भएको हो । त्यतिबेला संविधान जारी नभएको भए अहिले देश सोमालियाको अवस्थामा जान्थ्यो । नेकपा एमाले नेपाल राष्ट्र, यहाँ रहने सबै वर्ग, क्षेत्र, समुदायको साझा पार्टी हो । यो कुनै एउटा सम्प्रदाय, धर्म, संस्कृति र भुगोलको मात्र हैन ।
हाम्रो पहिलो चाहना संविधान कार्यान्वयन गर्नु हो । माघ ७ गते भित्र चुनाव गराएर देशलाई सहि दिशा तर्फ लाने हाम्रो चाहना हो । संविधानमा मधेशीलाई जति पहाडीयालाई अधिकार दिइएको छ त्यति अधिकार दिईएको छ । अहिले सबैलाई सबैधानिक आयोगको व्यवस्था गरिएको छ । समाजमा कस्तो प्रकारको परम्परा छ त्यो आयोग मार्फत संसदमा पेश गर्ने अधिकार समेत दिइएको छ । एमालेलाई मधेश विरोधी भन्नुको अर्थ छैन ।

मधेशको हक हितका लागि पार्टीले चालेका कदमहरू के–के छन् ?
मधेशको हक हितका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले सम्मकै सबैभन्दा बढी बजेट मधेशकै लागि छुट्टयाउने काम भयो । एमालेले मधेशमा सडक निमार्ण र कृषिका लागि सबैभन्दा बढी बजेट पठाएको छ । जनकपुर, सिमरा र विराटनगर विमानस्थललाई व्यवस्थित बनाउन बजेट पठाएको छ । पहाडमा जसरी सडक सन्जाल जोड्ने योजना प्रस्तुत भयो त्यसरी नै स्मार्ट सिटी जोड्ने सडक निमार्णको प्रक्रिया अगाडी बढेको छ । विगतमा सत्तामा रहेका केहि शासकले यो क्षेत्रमा वर्ग विभाजनको तुष फ्याक्ने काम गरे, जसले मधेशमा एमाले मधेश विरोधी हो भन्ने जनतामा गलत अफवाह फैलाएको जनताले प्रष्ट बुझिसकेका छन् ।

अन्तमा, चुनावी मैदानमा उत्रिइरहँदा यहाँका जनतालाई के भन्न चाहनुहुन्छ ?
सुनसरी क्षेत्र नं. ३ का जनता एक पटक मलाई यो क्षेत्रका लागि रोजिदिनुस् । अहिले यो क्षेत्रले परिवर्तन खोजिरहेछ । यसपटक पनि हामीले यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, लैङ्गिक विकासमा नेतृत्व परिवर्तन गर्न सकेनौं भने, यो क्षेत्र अझैपनि दशकौंसम्म पछि पर्छ । हामीले विगतमा जसलाई पटकपटक जिताएर पठायौं उसले गरेको विकास र संबृद्धि हेरिसकेका छौं । अब परिवर्तन आवश्यक छ । मलाई पटकपटकका लागि हैन मात्र एक पटकका लागि विस्वास गर्नुहोस् ।