भोजपुर / भोजपुरको विकट गाउँपालिका आमचोकका अध्यक्ष अशोक राई चार बर्ष अघि कार्यकालिकाको पहिलो निर्णय एम्बुलेन्स खरिद गर्ने निर्णय गरेर चर्चित हुनु भएको थियो । चप्पल लगाएर हिड्ने जनप्रतिनीधिहरुले कतिपय ठाउँमा महँगो पजेरो किनेर जनताको नजरमा अलोकप्रिय भएका बेला उहाँले भने आफुलाई पजेरो किन्न छाडेर गाउँमा एम्बुलेन्स किन्नु भएको थियो । अहिले टाटासुमोको एम्बुलेन्स गाउँमा विरामीको सेवा दिइरहेको छ । 

आज तिनै अध्यक्ष फेरी गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिनु भएको छ । गुरु योजना बनाएर काम थालेका राईले अधुरा काम पुरा गर्न माओवादी केन्द्र पार्टीले उहाँलाई फेरी अध्यक्षको लागि टिकट दिएको छ । करिव ३६ सय घरधुरी, २० हजार ३८० जनसंख्या र १२ हजार ६२९ मतदाता संख्या भएको आमचोक गाउँको अवस्था उहाँले बदल्नु भएको छ । अव जनताले अनुमोदन गरे अव गाउँलेको अवस्था बदल्ने योजना भएको सुनाउनु भयो ।   

पाँच बर्षमा अशोकले गरेका काम 

प्रदेश १ कै सतप्रतिशत बजेट गाउँ विकासमा खर्च गर्ने गाउँपालिका उहाँले नै बनाउनु भयो । विकास निर्माणमा गुरु योजना बनाएर काम गर्ने गाउँपालिका पनि यही आमचोक मानिएको छ ।

उहाँ अध्यक्ष हुँदा गाउँमा सडक थिएन । सबै गाउँ टोलमा धुले सडक पुगेका छन् । ६ सय किमी सडक बनेको छ । ‘एक घर एक धारा’को योजनाले ५० प्रतिशत घर परिवारले खानेपानीको सुविका पाएका छन् । अन्यका लागि काम भइरहेको छ । २ नं. वडामा बोटानिकल गार्डेन बनेको छ ।  उहाँले कृषी र पर्यटनलाई प्राथमिकतामा राख्नु भएको छ । कृषी सहकारी, कृषक समुहलाई प्रोत्सोहनका लागि लोकप्रिय कार्यक्रम ल्याउनु भयो । पाङ्चामा सामुदायिक कृषी फर्म सञ्चालनमा छ । वासिङ, युँ, बयाङ, थिन्दिङ्खा, बालांखामा किवी ब्लग बनाइएको छ । 

इलामको कन्यामलाई विर्साउने गरि यहाँ भएका नागीमा चिया बगान बन्दैंछ । वासिङ, यु, बयाङको नागीमा यति बेला चिया बगानले मनमोहक बनेको छ ।  गाउँपालिकाको लगानीमा १२ सय रोपनी जग्गामा चियाखेती र तीन सय रोपनी जमिनमा कफी खेती शुरु भएको छ । 

कोही घरवार विहिन नहुन भनेर अध्यक्ष राईले गरिवलाई आवासको योजना ल्याउनु भयो । हालसम्म ३० परिवारको आवास बनेको छ । अति विपन्न परिवारका ३५० जनालाई  गाउँपालिकाले गाउँपालिकाले चलाएको चिया सहकारीको एक सय कित्ता शेयर किनिदिएको छ । उक्त सहकारीमा गरिवको पनि अपन्यत्व होस भनेर शेयर किनि दिएको अध्यक्ष राईले बताउनु भयो । यस्तै सहकारी ऋण कोष स्थापना गरिएको छ । २०७७–२०८१ को पञ्चबर्षिय आवधिक योजना बनेको छ । पर्यटन, संस्कृतिका सम्बन्धमा थामडाँडा, तीनचुले, सिद्धाथान, छुम्का साकेला पार्क, घिन्ताङ थलथले पार्कको गुरुयोजना बनाएर डिपिआर गर्ने काम भएको छ । जातीगत अध्ययन पुस्तक प्रकाशन, पालिकाको स्थान नामकरण इतिहास अध्ययन अनुसनधान गर्ने काम भएको छ । समुदायको साझेदारी लगानीमा बालांखाको पाडुले पोखरी जिर्णोद्धार तथा सौन्दर्यकरण गरिएको छ ।

यस्तै गाउँपालिकाले कामलाई सहज र कानुनसंगत बनाउन कानुनहरु पनि निर्माण गरेको छ । आमचौक खानेपानी ऐन २०७७, आमचोक चियाकपी ऐन २०७५, गरिव परिवारलाई शेयर वितरण कार्यविधी २०७८, सहकारी ऋणकोष सञ्चालन कार्यविधी २०७७ लगायतका ऐन कानुन निर्माण गरेर सबै कामलाई कानुन संगत बनाइएको छ । स्वास्थ्य क्षेत्रमा १० शैयाको अस्पताल निमार्णाधिन अवस्थामा रहेको छ । संघीय सरकारको साझेदारीमा १२ करोड ५० लाख लगानीमा काम भइरहेको छ । गाउँपालिकाको प्रशासनिक भवन टेण्डर प्रक्रियामा रहेको छ । ९ वटै वडा कार्यालयहरुको संरचना निर्माण भएका छन् । सामुदायिक स्वास्थ्य इकाई वडा नं. ८ को हैखराङमा थपिएको छ ।

शिक्षा क्षेत्रमा सरकारले दवन्दी अनुसारको शिक्षक नपठाए पछि ११ जना शिक्षकहरु गाउँपालिकाबाट खटाइएको छ । बालांखाको चण्डेश्वर मावि, बयाङको क्षमाकन्या मावि,  दुङ्मानाको जनशिक्षा मावि प्राविलाई नमुना विद्यालयको रुपमा छनोट गरि पूर्वाधार विकास र स्तरिकरण गरिएको छ । हाल आमचोकको ४० प्रतिशत क्षेत्रमा राष्ट्रिय प्रशारणको विद्युतीकरण भएको छ । 

फेरी अशाेककाे अध्यक्षमा उम्मेद्वारी किन ? 

उहाँले पाँच बर्षमा अघि सारका केही काम अधुरा भएका छन् । बहुबर्षिय योजनाहरु पुरा भएका छैनन् । ती योजनाहरु पुरा गर्न फेरी माओवादी केन्द्रबाट हसिया र हतौडा चुनाव चिन्ह लिएर मैदानमा उत्रनु भएको छ । ‘जनताका लागि धेरे काम गरेको छु । बाँकी काम गर्न फेरी जनतासँग अनुमोदिन हुन मैदानमा आएको छु ।’–अध्यक्षका प्रत्यासी राईले भन्नु भयो–‘ठूलो बहुबर्षिय योजना पुरा गर्न, स्वास्थ्य भवन, खानेपानी योजना पुरा गर्न, चिया, कफी खेति पुरा गर्न, पर्यटनमा बनेका गुरुयोजना अनुसार काम पुरा गर्न फेरी म मैदानमा आएको छु ।’ एउटा पार्टीको नेतृत्वले अघि सारेका जनताका हितका काम अर्को नेतृत्व आउदा रोकि दिने भएकाले अधुरा काम पुरा गर्न आफु पुन अध्यक्षमा उम्मेद्वारी दिएको उहाँ बताउनु हुन्छ । अझ दरिलो सुशासन, समाजिक सेवा, उत्पादनसँग जोडेर समाजवादी आर्थिक विकास अवको लक्ष्य भएको उहाँ बताउनु हुन्छ । कृषीमा आधुनिकरण, युवा विदेश पलायन रोक्ने, गाउँमै रोजगारीको व्यवस्था अवका मुल एजेण्डा भएको उहाँ बताउनु हुन्छ । 

‘घोषणा पत्रमा उल्लेख भएको काम प्रायः पाँच बर्षमा पुरा गरेको छु । केही भौतिक संरचनाहरु बनेका छन् । पूर्वाधार विकास भएका छन् । अव कृषी, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सुशासनलाई जोड दिदैं आमचोकका सबै नागरिकलाई सवल र सक्षम बनाउने मेरा प्रतिवद्धता हो ।’–राईले भन्नु भयो ।


लोककल्याणकारी कामले चिनिए 

उहाँ पहिलो बैठकबाट एम्बुलेन्स खरिद गर्ने निर्णण गरेर चर्चामा आउनु भयो । एम्बुलेन्स किनेर गाउँबाट शहरमा उपचार गर्न नसकेर सुत्केरी महिलाहरुको ज्यान जाने खतरा टार्नु भयो । ‘एम्बुलेन्स अभावमा गाउँका सुत्केरी महिलाको निकै ज्यान गएको मैले आखाँले देखेको छु । त्यही भएर मेरो पहिलो निर्णय एम्बुलेन्स किन्ने भयो ।’ अन्य गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुले सुविधा किन नलिएको भनेर भने तर पहिलो सुविधा जनताले पाउन भन्ने आफ्नो मान्यता रहेकोले मैले पहिले आफ्ना नागरिकको सुविधालाई ध्यान दिएको थिए । उहाँ दुई बर्ष पछि मात्र संघीय सांसद सुदन किरातीको पहलमा गृह मनत्रालयले दिएको गाडी चड्नु भएको थियो । 

उहाँले जनप्रतिनीधिहरुको तीन प्रतिशत सुविधा कट्टा गरि जनता राहत कोष स्थापना गर्नु भएको छ । उक्त कोषमा १० लाख संकलन भएको छ । उक्त पैसाको व्याजले गरिव जनतामा भैपरि आउने काममा खर्च गर्ने गरि कोष स्थापना गरिएको हो ।

संघीयतामा स्थानिय तहको रोल मोडेलको रुपमा आमचोक गाउँपालिका भएको भोजपुरका पत्रकार राजन समिप राई बताउनु हुन्छ । उहाँका अनुसार ५ वर्षको अवधिमा अध्यक्ष राईले अघि सार्नु भएको आयमुखि विकासको अवधारणा, सामूहिक कृषि प्रणाली, कफी र चिया जोन, पशुपालन र तरकारीको पकेट क्षेत्र लोकप्रिय छ । ‘भाषामा राई बान्तवा, नेवारी, शेर्पा, मगर भाषा पठन पाठनको सुरुवात, नमुना विद्यालय, रैथाने संस्कृतिको संरक्षण, भौतिक पूर्वाधारमा सडक, खानेपानी घर विहिन जनतालाई जनता आवास कार्यक्रमजस्ता जनताका मसिना तर दीर्घकालीन महत्वका कामहरूले टावर र डोजारे विकास प्रेमीको बाहेक सबैको मन जित्नु भएको छ ।’–राई भन्नु भयो–‘अबको पाँच वर्ष तपाईंको नेतृत्वले आमचोकलाई समाजवादको आधारभूत तहमा पुराउने कुरामा कुनै दुई मत छैन ।’

पाँच बर्ष जनताको सेवा गर्दा १४ लाख ऋण

उहाँ सादा जीवन उच्च विचारका व्यक्ति हुन । महेन्द्र बहुमुखी क्याम्पस धरानबाट अर्थशास्त्रमा स्नातक र धनकुटा बहुमुखी क्याम्पसबाट ग्रामिण विकासमा स्नाकाेतर गर्नु भएका राईको स्थायी घर आमचोक–३ मा छ । एक श्रीमति एक सन्तान रहेका राईले हालसम्म कुनै सम्पति जोडेका छैनन् । पुखौली सम्पति उपयोग गदैं आएका राई बाबुले बनाई दिएको घरमा बस्छन् । गाउँपालिकाको अध्यक्ष हुनु अघि होण्डाको एउटा सामान्य मोटरसाईकल थियो । त्यो पनि विग्रिए पछि उहाँसँग कुनै साधान छैन् । गाउँपालिकाको सेवा सुविधा बुझाए पछि उहाँ यति बेला साथीसँग मागेर मोटरसाईकल कुदाउदैं आउनु भएको छ । १० दिन अघि धरानमा भेटिएका राईलाई पाँच बर्षमा कति सम्पति कमाउनु भयो भनेर प्रश्न गर्दा उहाँले भन्नु भयो–‘एउटा बाइक पनि छैन् । पत्रकार साथी साइमान राई जीको बाइक मागेर धरान झरेको छु । सम्पति कमाउन जानिन । जनताबाट मान सम्मान चाही कमाएको छु । हिजो म कुनै सुविधा भोग गर्दै आएको मान्छे थिईन । त्यसैले अहिलले मलाई कुनै उच्च सुविधाको जरुरत छैन् । जनताको काममा मलाई आत्मसन्तुष्टि मिलेको छ ।’ पाँच बर्षमा सिद्धार्थ बैकबाट १० लाख ऋण लागेको उहाँ सुनाउनु भयो ।  पब्लिक बचत ऋण सकारीबाट ४ लाखऋण लिएर घर खर्च चलाई रहेको उहाँ बताउनु हुन्छ । सम्भव त  पाँच बर्ष सरकारको सुविका भोग गरेका व्यक्ति मध्य सुविधा छाडे पछि सार्वजनिक बस चढेर हिडने व्यक्ति यिनै राई हुन सक्छन् । पाँच बर्षमा १४ लाख ऋण कमाएको कुरा उहाँले साचो बोल्नु भएको भए सम्भवत उहाँ जनताको सेवा गरेर ऋण कमाउने जनप्रतिनीधिमा पनि पहिलो हुनु हुन्छ । उहाँका काम, सादकी जीवन, जनताको सेवाभाव र उहाँले अघि सारेका समाजवादी आर्थिक उन्नतीका एजेण्डा जनताका लागि कति सार्थक र उपयोगी छन् र फेरी पनि अशोक राईको आवश्यकता छ वा छैन् भन्ने कुरा अव बेशाख ३० गतेको निर्वाचन कुर्नु पर्ने हुन्छ ।

याे पनि:  आफ्नो सुविधा छाडेर एम्बुलेन्स किन्ने यि गाउँपालिका प्रमुख