यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चार दलीय गठबन्धनबाट उपमेयरका उम्मेदवार आइन्द्र विक्रम बेघा धरानेहरुका लागि सुनिएको नाम हो । धरानको राजनीतिमा क्रियाशील बेघा धरानको विकाशका मुद्दामा स्पष्ट वक्ता, इमानदार युवा नेताका रूपमा परिचित हुनुहुन्छ । सङ्घीय गणतन्त्रका लागि भएको माओवादी आन्दोलनमा भूमिगत जीवन समेत बिताएका वेघा जेल जीवन बिताएका नेता पनि हुनु हुन्छ । 

माओवादीको परिवर्तनकारी एजेन्डा अनुसार मुलुकमा सङ्घीय गणतन्त्र आएकोमा कसैको दुई मत नहोला । त्यही परिवर्तनकारी शक्तिका युवा अगुवा वेघा यसपालिको स्थानीय चुनावमा धरान उपमहानगरपालिकाको उपमेयरका उम्मेदवार हुनुहुन्छ । २०७४ सालको चुनावमा मेयरको प्रत्याशी हुँदा ११ हजार बढी मत प्राप्त गरेका उहाँ धरानका युवा, महिला, श्रमिक, सुकुम्वासी देखी ज्येष्ठ नागरिक सबैका लागि परिचित युवा नेता हुनुहुन्छ ।

राजनीतिक जीवनमा कहिल्यै कुनै पनि प्रकारको पद, प्रलोभन र अवसरवादबाट अलग आइन्द्र विक्रम वेघा ताप्लेजुङमा जन्मीएर  राजनीतिक कर्म क्षेत्र धरानलाई बनाउनु भएको छ ।  

बेघाको प्रारम्भिक शिक्षा झापाबाट सुरु भएको हो । वाल्यकालमा ताप्लेजुङमा मावलीमा बसेर कक्षा २ मा पढ्दै गर्दा झापा बारदशी झरेका उहाँले मावि स्तरको पढाई त्यही पुरा गर्नु भएको हो । उच्च शिक्षाको लागि धरानको महेन्द्र बहुमुखी क्याम्पसमा पढाई सुरु गरेका उहाँको राजनीतिक जीवन त्यही माओवादीमा आबद्ध हुँदै सुरु भएको हो । पार्टीको पूर्णकालिक क्याडरका रूपमा रहेर उहाँ भूमिगत आन्दोलनमा सामेल हुनु भएको थियो । 

आन्दोलनकै क्रममा २०६० साल भदौ १५ गते पाँचथरको फिदिममा नेता बेघा पक्राउ पर्नु भएको थियो । बन्दी जीवनमा बेगाले भोग्नु परेको नेपाली सेनाको अमानवीय यातनाको अनुभव दर्दनाक छ । त्यस बेला चिरञ्जीवी लामिछाने पार्टीका पाँचथरका जिल्ला सचिव हुनुहुन्थ्यो । वेघा अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । पक्राउ गरिएका वेतलाई तत्कालीन शासकले  ११ महिना बेपत्ता बनायो । 

सेनाले आँखामा पट्टी, हातमा हतकडी लगाएर सैनिक ब्यारेकमा कठोर बन्दी बनाएको थियो । ११ महिना पछि पाँचथरका जिशिअ डिल्लीराम लुइँटेललाई सहकर्मीहरूले सार्वजनिक गर्न दबाब दिएपछि बल्ल जिसिअकै रोवहरणमा बेघालाई सार्वजनिक गरिएको थियो । लगत्तै उहाँलाई हिरासतमा लिएर विराटनगर मोरङ कारागार चलान गरियो । त्यसै बिच कारागारमा भएको ठुलो झडपमा प्रहरीको कुटपिटबाट एक बन्दीको मृत्यु  भयो । बन्दीहरू आन्दोलित भए त्यसै बिच वेघा सहित केहीलाई सुन्दरी जल जेल सरुवा गरियो ।

सुन्दरी जल बसाइँकै बेला मुलुकमा ०६२÷०६३ को आन्दोलन सुरु भयो । २०६३ जेठ १२ गते  बेघा रिहा भए । तीन वर्षको जेल जीवनका बिच जेलै बाट उहाँले स्नातक सम्मको पढाई पुरा गर्नु भएको थियो । जनआन्दोलनले मुलुकमा राजतन्त्र समाप्त गरी गणतन्त्र स्थापना हुँदा सम्म बेघाले पार्टीका विभिन्न जिम्मेवारी सम्हालेको अनुभव प्राप्त गर्न पाउनु भयो । एरिया सदस्य हुँदै जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी, एरिया कमिटी, प्रदेश कमिटीको जिम्मेवारी पूरा गरेका बेघाले विद्यार्थी राजनीतिमा अनेरास्ववियुको केन्द्रीय सचिवको जिम्मेवारी पुरा गर्नु भएको थियो । 

यसबिच बेघा सङ्घीय मामिला संविधान सभा तथा संस्कृति मन्त्रीको स्वकीय सचिव पनि हुनु भएको थियो । पार्टीमा सक्रिय बेघाले आन्दोलनको नेतृत्व गर्ने क्रममा प्रदेश १ को राजधानी धरान बनाउने माग सहित भएको आन्दोलनको पार्टीबाट नेतृत्व गर्नु भएको थियो । धरानमा सुकुम्वासी समस्याको मुद्दा बारम्बार उठाइरहने नेताको रूपमा उहाँलाई चिनिन्छ । धरानको खानेपानी समस्या समाधानको मुद्दा, विकास निर्माणको सवालमा सशक्त भूमिका निर्वाह गर्ने नेताका रूपमा पनि आइन्द्र विक्रम वेघा अग्र पङ्क्तिमा आउँनुहुन्छ ।