धरान / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आकस्मिक कक्षको  स्तरोन्नती गरिएको छ ।  बेड तथा विरामी ओसार्न प्रयोग गरिने ट्रली अभावले समस्या झेल्दैं आएको आकस्मिक कक्षमा २० थान बेड र १५ थान ट्रली थपिएको छ ।    आकास्मिक कक्षमा आउने विरामीहरुलाई थप सुविधा र प्रभावकारीढंगले उपचार सेवा उपलब्ध गराउन नयाँ मेडिकल उपकरण तथा बेडहरु वृद्धि गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिनु भयो । 

 यस्तै आकस्मिक बार्डमा १० थान पेसेन्ट मनिटर पनि जडान गरिएको छ । यो मेशिनले अक्सिजन लेभल, इसिजि, मुटुको चाल, श्वासप्रश्वासलगायत मनिटरिङ गर्ने काम गर्छ । यो मेशिनको जडानले विरामीको स्वास्थ्य अवस्थाबारे लगातार अनुगमन गरि विरामीको गुणस्तरिय उपचार गर्न थप सहयोग मिल्ने प्रतिष्ठानले जनाएको छ ।  यस्तै, सिकिस्त विरामीहरुका लागि हाई फ्लो डिभाइस, डेफिब्रिलेटर, इर्मजेन्सी क्रास कार्ट पनि थप गरिएको सहप्रवक्ता पोखरेलले जानकारी दिनु भयो । 

 इमेर्जेन्सी ल्याबबाट दिईने सेवाहरुलाई अझ बढि द्रुत गतिमा उपलब्ध गराउने व्यवस्था गरिएको छ । आवश्यक औषधीलगायतका अत्यावश्यक कुराहरु व्यवस्थापन गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले जानकारी दिनु भयो ।  विरामीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण परीक्षणहरु इमर्जेन्सी ल्याबबाट नै गर्न सकिने व्यवस्था पनि गरिएको उहाँले बताउनु भयो । 

गम्भीर प्रकृतिको विरामी तर भेन्टिलेटरको आवश्यकता नपर्ने विरामीहरुका लागि आकस्मिक कक्षमा एचडियु (हाई डिपेडेन्सी युनिट) बेडहरु पनि चाडै जडान गर्न लागिएको साहले बताउनु भयो । आवश्यकता अनुुसार आकस्मिक कक्षमा बेड संख्या पनि बढाउनदैं जाने प्रतिष्ठान प्रशासनले जनाएको छ । जनशक्ति अभावलाई मध्यनजर गरेर करारमा चिकित्सकहरुकोसमेत माग गरिएको बताइएको छ । 

प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक  १३० जना भन्दा बढि विरामीले सेवा लिदैं आएका छन् । एक सय भन्दा बढि जनशक्ति परिचालन गरिएको छ । 

प्रतिष्ठानको दुई बर्षको कार्य विवरण उपकुलपतिले सार्वजनिक गरे 

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले उपकुलपति भएपछि २ वर्षमा गरेका कामको विवरण सार्वजनिक समेत सार्वजनिक गर्नु भएको छ । २०७६ चैतमा ५ वर्षका लागि उपकुलपति नियुक्त हुनु भएका गिरीले यो अवधि प्रतिष्ठानमा भएका उपलब्धिपूर्ण कामहरु सार्वजनिक गर्नु भएको हो ।  

प्रदेश नं १ कै सबैभन्दा ठूलो अस्पताल र मेडिकल कलेज समेत रहेको प्रतिष्ठानले राजनीतिक खिचातानी र कोभिड महामारीका बाबजुद पनि यो अवधिमा निकै ठूलो उपलब्धि हासिल गरेको डा. गिरीले बताउनु भयो । प्रतिष्ठानले अस्पताल सेवा, शैक्षिक गतिविधि र प्रशासन समेत गरी तीनैतर्फ उल्लेख्य सुधार गरेको जनाएको छ । यो उपलब्धि प्रतिष्ठानको इतिहासमै सबैभन्दा राम्रो भएको उपकुलपति गिरीको भनाइ छ ।

अस्पताल सेवातर्फ कोभिड–१९ महामारीको व्यवस्थापन तथा अस्पतालको नियमित स्तरोन्नतितर्फ ठूलो उपलब्धि हासिल भएको जनाएको छ । कोभिड नियन्त्रणका लागि यो अवधिमा अस्पतालले २ सय ७० बेडको अस्पताल विस्तार गरेको छ ।  

त्यस्तै, इमर्जेन्सी, ल्याब, रेडियोलोजी, अकुपेशनल थेरापी सेवाको सुधार तथा स्तरोन्नति गरिएको छ । मिर्गौला पीडितका लागि २० बेडको कक्ष निर्माण अन्तिम चरणमा रहेकोउपकुलपति गिरीले ािर्वजनिक गरेको विवरणमा उल्लेख छ । 

अस्पताललाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत अस्पतालले मोबाइल एपबाटै ओपीडी बिरामीको दर्ता गर्नसक्ने, स्वास्थ्य बीमामा एपीआई सिस्टमबाट स्वतः दाबी गर्नसक्ने लगायतका व्यवस्थाहरू गरेको छ । अस्पतालको डिजिटलाइजेसनका लागि एकीकृत सफ्टवेयर विकास गर्ने प्रक्रिया सुरु गरेको अस्पतालले जनाएको छ । 

त्यस्तै, ४ सय शैय्याको एमएचसी भवन निर्माण अन्तिम चरणमा रहेको छ । कार्डियोलोजी, अन्कोलोजी र ट्रमा सेन्टरको भवन निर्माणका लागि पहल गरिएको, बन्द रहेको फार्मेसी सेवालाई सुरु गरिएको तथा छुट्टै फार्मेसी भवन निर्माणको ८० प्रतिशत कार्य समेत सम्पन्न भइसकेको प्रतिष्ठानले जनाएको छ ।  

यस प्रतिष्ठानले अस्पतालमा आउने मात्रै नभएर अस्पतालको पहुँच नभएका दुर्गम क्षेत्रका जनतलाई समेत टेलिमेडिसिन सेवा उपलब्ध गराएको छ । २ वर्षको अवधिमा सुनसरी मोरङ र धनकुटाका झन्डै १२ हजारले यस्तो सेवा प्राप्त गरेको प्रतिष्ठानका सहप्रवक्ता डा. पोखरेलले बताउनु भयो ।  

त्यस्तै, अस्पतालमा रहेका पुरानो प्रणालीका ६० डेन्टल चेयरमध्ये ३० वटा विस्थापित गरी नयाँ प्रविधिको इलेक्ट्रिकल डेन्टल चेयर प्रतिस्थापन गरिएको छ । मेडिसिन र सर्जरी वार्डका सम्पूर्ण बेडमा मेडिकल ग्यास पाइपलाइन जडान गरिएको, पेइङ वार्डका हरेक बेडमा  पाइपलाइन पुर्याएर नियमित भेन्टिलेटरको व्यवस्था गरिएको उहाँले बताउनु भयो । 

अस्पतालले १/१ हजार लिटर क्षमताको अक्सिजन प्लान्ट, केन्द्रीय प्रयोगशालाका लागि अत्याधुनिक एकीकृत बायोकेमेष्ट्री एनालाइजर तथा विश्व स्वास्थ्य संगठनको सहकार्यमा स्किल ल्याब स्थापनाका लागि पहल समेत गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रशासनिक सुधारतर्फ पनि उल्लेख्य प्रगति हासिल भएको उपकुलपति डा. गिरीले बताउनु भयो । प्रतिष्ठानभित्र १५ वर्षदेखि हुन नसकेको कर्मचारी बढुवा गर्ने प्रक्रिया थालिएको, कर्मचारी तथा शिक्षकको तलब वृद्धि भएको पनि उहाँले विवरणमा उल्लेख गर्नु भएको छ । 

त्यस्तै, अस्पतालको सुधारका लागि नेपाल एडमिनिष्ट्रेसन स्टाफ कलेजसँगको सहकार्यमा पहिलो चरणको ओ एण्ड एम सर्भे गरेको छ । प्रतिष्ठान विकास सुधारका लागि स्थानीयवासीको पहुँचका लागि ‘लोकल फ्रेन्ड्स अफ बीपीकेआईएचएस’ गठन गरिएको  भनाइ छ । 

यस्तै अस्पतालको सेवा व्यवस्थापन तथा सेवाको दीगो सुधारका लागि अस्पतालका डेपुटी निर्देशक डा. विकास साहको नेतृत्वमा सुधार कमिटी गठन गरिएको, खानेपानी व्यवस्थापनका लागि २ वटा डिप बोरिङका लागि ठेक्का प्रक्रिया अघि बढेको समेत उल्लेख गरिएको छ । अस्पतालभित्रको इनर्जी खपत व्यवस्थापनका लागि इनर्जी अडिट गरी अनावश्यक इनर्जी खर्चको नियन्त्रणको काम समेत गरिएको प्रतिष्ठानले जनाएको छ । 


प्रतिष्ठानमा बेथित भएको भन्दैं दैनिक धर्ना 

यता उपकुलपतिले प्रगति विवरण सार्वजनिक गरिरहदा विपीमा अनियमिता बढेको र धारासायी भएको भन्दैं ५ दिनदेखि एउटा समुहले विपी बचाउ भन्दैं आन्दोलन गरिरहेको छ । 

‘सेभ घोपा क्याम्प अर्थात वीपी प्रतिष्ठान बचाउ’ आन्दोलन भइरहेको छ । प्रतिष्ठानमा बेथिती तथा भ्रष्टचार बढेको र उपचार सेवा खस्कदै गएर विरामीहरुले सास्ती भोग्नुपरेको, कतिपयले ज्यान गुमाउन बाध्य भएको भन्दै सुधारको लागि आन्दोलन शुरु भएको हो । काठमाण्डौंको ‘हामी नेपाल’ नामको संस्थाको आह्वानमा आइतबारदेखि शुरु भएको घोपा क्याम्प बचाउ आन्दोलनमा धरानका युवा तथा सामाजिक अभियन्ताहरुको पनि सहभागिता रहेको छ । हरेक दिन दिउँसो ४ बजेदेखि प्रतिष्ठानको डेन्टल कलेज गेट बाहिर धर्ना दिइदैं आएको छ । धर्नामा विद्यार्थी र साना बालबालिकाहरुसमेत प्रयोग गरिएको छ । 

प्रतिष्ठानको इर्मजेन्सीमा विरामीले बेड नपाएर भुँईमा उपचार भइरहेको, अप्रेशनको लागि महिनौ कुर्नु पर्ने र समय कुर्दाकुर्दै ज्यान जोखिममा पर्ने गरेको, सिटि स्क्यान र ल्याब टेष्ट गर्न अनावश्यक ढिलाई हुने, अव्यवस्थित व्यवस्थापनले घण्टौं लाइनमा उभिनुपरेकोलगायत बेथितीहरु अन्त्यको माग गरिएको छ । कमिशनको चक्करमा गुणस्तरहिन सामान खरिद नगर्न, एमआरआई जस्तो अत्यावश्यक मेशिन चाडो खरिद गरेर विरामीलाई विराटनगरलगायत अन्यत्रको अस्पताल धाउन बाध्य नपार्न उनीहरुले माग गदैं आएका छन् ।