धरान / लामो समयदेखि स्वास्थ्य विमा बोर्डले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विमा वापतको करोडौं रुपैया शोधभर्ना समयमा नदिदा प्रतिष्ठानमा आर्थिक संकट आएको बताएको छ । एक महिना भित्र विमा वापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिदैं आएको विमा सुविधा बन्द गर्नु पर्ने अवस्था भएको प्रतिष्ष्ठानले जनाएको छ ।

स्वास्थ्य विमा बोर्डको सहकार्यमा प्रतिष्ठानले स्वास्थ्य विमितहरुलाई निशुल्क सेवा दिदैं आएको थियो । विमा सेवा बापत विमा बोर्डले प्रतिष्ठानले पेस गरेको कागज पत्रका आधारमा मूल्याङ्कन गरि भुक्तानी गर्ने प्रावधान रहेको छ । तर गत कात्तिकदेखि प्रतिष्ठानले दावी गरेको रकम बोर्डले भुक्तानी नगर्दा प्रतिष्ठान सञ्चालनमा नै समस्या आउने देखिएको अस्पतालका प्रशासकीय अधिकृत अशोक साहले जानकारी दिनु भयो । 

विमितहरुको कागज पत्रसहित साप्ताहिक रुपमा प्रतिष्ठानले भुक्तानी दावी गर्ने गरेको छ । महिनामा ३ करोड भन्दा बढिको दावी हुने गरेको छ । तर विमाका कर्मचारीले प्रतिष्ठानले दावी गरेको शोधभर्ना रकमको मूल्याङ्कन नै नगरि दिदा प्रतिष्ठानलाई दैनिक कार्य सञ्चालनका लागि समस्या भएको प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले बताउनु भयो ।

२०७४ सालदेखि विमा सुविधा दिदैं आएको प्रतिष्ठानलाई बोर्डले भुक्तानी गर्न २६ करोड देखिएको साहले बताउनु भयो । कात्तिक २८ यता त कुनै दावी स्वीकृत नै नगरेको साहले बताउनुु भयो ।  प्रतिष्ठान स्वशासित संस्था भएकाले यहाँका कर्मचारी, चिकित्सक तथा पदाधिकारीहरुका लागि प्रतिष्ठान आफैले तलव भक्तालगायतका सेवा सुविधा उपलब्द गराउदैं आएको छ । आन्तरिक आम्दानीले नै प्रतिष्ष्ठान चलाउनु पर्ने बाध्यता भएको प्रतिष्ठानको मुख्य आम्दानी भने कै विरामीको सेवाबाट हो । तर दैनिक प्रतिष्ठानमा आउने विरामी मध्य ६० देखि ७० प्रतिशत विमाबाट आउने गरेका छन् । विमा सुविधा हुनेलाई प्रतिष्ठानले जिरोमा विलिङ गदैं आएको छ । प्रतिष्ठानको आम्दानीको श्रोत नै विमामा जोडिए पछि आर्थिक संकट उत्पन्न भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेल बताउनुु हुन्छ । 

कात्तिक यताको करिव १५ करोड र २०७४ साल देखि नै बोर्डले पेण्डिङ गरेको रकम गरि २६ करोड भुक्तानी लिन बाँकी देखिएको उहाँले बताउनु भयो । पटक पटक ताकेता गर्दा पनि बोर्डका कर्मचारीहरुले जनशक्ति अभाव भएको कारण देखाउदैं मूल्याङ्कन नगर्दा  अस्पतालले भुक्तानी पाएको छैन् । अस्पताल निर्देशक आफै काठमाडौं पुगेर भन्दासमेत सुनुवाई नभए पछि आइतबार प्रतिष्ष्ठानले विमा बोर्डले भुक्तानी रोकेका कारण एक महिना पछि विमा सुविधाको सेवा दिन नसक्ने अल्टिमेटसहितको पत्र बोर्डलाई प्रतिष्ठानले पठाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकारलाई समेत बोधार्थ दिएर बोर्डलाई पत्र पठाइएको छ । 

उधारोमा काम गरेर प्रतिष्ठान चलाउन गाह्रो भएको प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बताउनु  भयो । हाल ५० प्रतिशत आम्दानीले मात्र प्रतिष्ठान चलाई रहेको बाँकी विमा बोर्डमा पेण्डिङ भएको उपकुलपति गिरीले बताउनु भयो । ‘प्रदेश १ र २ र्का  विमित जनतालाई सेवा दिइरहरेका छौं । तर बोर्डबाट आउने शोधभर्ना रोकिए पछि हामीलाई आर्थिक संकट शुरु भयो ।’–उपकुलपति गिरीले भन्नु भयोे–‘आफै कमाएर संस्था चलाउने संस्थाको समस्याबारे विमा बोर्डको ध्यानाकर्षण होस् भन्ने हाम्रो मनासाय हो । विमितलाई राम्रो सेवा दिन हामी प्रतिवद्ध छौं र दिइरहेका छौं ।’

स्वास्थ्य विमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर वसौलाले बोर्डले कुनै पनि अस्पतालको भुक्तानी नरोकेको बताउनु भएको छ । उहाँले कर्मचारी अभाव र धेरै अस्पतालहरु विमामा जोडिएकाले समस्या भई केही ढिला भएको तर भुक्तानी भने कसैको नरोकिएको बताउनु भयो । ‘समयमा शोधभर्नाको कागज पत्र नपठाउने अस्पतालहरुको भुक्तानी ढिलाई भएको हुन सक्छ । हामीले रोक्ने भन्ने चाही होइन ।’–निर्देशक वसौलले भन्नु भयो –‘कात्तिक अगाडीको हिसाव मिलाउन धेरैको बाँकी छ । मिलाउदैं लादैंछौं ।’ प्रतिष्ठानको हकमा मंसिर महिनामा ५ करोड भुक्तानी दिएको र बाँकी अव प्रक्रिया पुर्याएर तत्काल दिने उहाँको भनाई छ ।

नेपालका सरकारी तथा नीजी गरेर ३७ वटा अस्पतालहरुले विमा सुविधा दिदैं आएका छन् । ७७ वटै जिल्लाका ५० लाख व्यक्तिहरुले विमा सुविधा लिदैं आएको उहाँले बताउनु भयो । प्रतिष्ठानमा दैनिक एक हजारदेखि १५ सय विरामी विमाबाट सेवा लिन आउने गरेको प्रतिष्ष्ठानले जनाएको छ । यो संख्या प्रतिष्ष्ठानका सेवाग्राहीको कुल संख्याको ६० प्रतिशत प्लस संख्या हो । साउनदेखि गत माघ मसान्तसम्म प्रतिष्ठानले ६ हजार ५ सय २८ जनाले विमा सुविधा लिएको विमा सम्पर्क कार्यलयको तथ्याङ्कमा उल्लेख छ । हालसम्म ७३ करोडको सेवा विमा मार्फत दिएको प्रशासकीय अधिकृत साहले जानकारी दिनु भएको छ । 

प्रतिष्ठानको आम्दानीको मुख्य श्रोत विरामी र यहाँ अध्ययन गर्न आउने विद्यार्थीहरु नै हुन । कोरोना, लामो सयमदेखि प्रतिष्ठानमा भएको आन्दोलनको प्रभावले ५० प्रतिशत आम्दानी घटिरहेको बेला विमा वापतको भुक्तानी पनि समयमा नआउदा झन संकट परेको प्रतिष्ठानले जनाएको छ । अस्पताल निर्देशक साहका अनुसार विगतमा विद्यार्थीबाट एक अर्व आम्दानी हुने गरेको थियो । विदेशी विद्यार्थीबाट सबै भन्दा धेरै आम्दानी हुने गरेको थियो । तर विदेशी विद्यार्थी कोटासमेत कटौती भएको कारण आम्दानी घटेको उहाँको भनाई छ ।