हेनतेन नभनी लाजै पचाएर भन्न हो भने, लालाबाल जति सबै छिप्पिसके । घरपतिननी आमै वा घरकी मालिक्नीका केशराशी टिकटिकेको पूच्छरजस्तो भइसक्यो । टेन्सन र सुर्ताको कोपऱ्याइँले घर मालिक वा घरपति बाबैको केशभूमि फुटबल ग्राउण्ड जस्तो भइसक्यो । लालाबाल साना छँदा लड़्ला पो कि , हात-खुट्टा भाँचिएला पो कि भन्ने त्राही-त्राही । नलड़ी, हात-खुट्टा नभाँची यी लालाबालाहरू थाहै नपाई छिप्पिसके र पनि शान्ति ता कहाँ हुँदोरहेछ र ! कसैले के पो गरिदेल, नाशिएला, माशिएला पो कि भन्ने महाडर ।
यो बूढ़ेसकालमा एकताका बाघले पनि आँट गर्न नसक्ने यो शरीर अहिले गलिसकेको छ । ह्याङ्गरमा झुण्ड्याइएको लुगाजस्तो भइसकेको छ । बसेपछि बस्या बस्यै । उठ्नु पऱ्यो कि ता भित्ता वा कसैको सहारा नलिई धर छैन । सामान्य हिँड़्डुल गऱ्यो कि गलेर भुतुक्कै । सार्जनको छुरीले शरीरभित्रका केही पूर्जाहरू निकालिसकिएका छन् । केही पूर्जाहरू वेल्डिङले मात्र थेगिराखेको छ । सामान्य खोकी चल्यो कि सर्वनाश । रोकिनै मान्दैन । शास्त्रीय सङ्गीत आलापेको जस्तो हुन्छ । आँखाका दुइ नानीहरूमा बूढ़्याइँले सहीछाप गरिसकेको छ । दुइ आँखालाई पावरवाल चश्माले अपहरण गरिसकेको छ । चश्मा छैन ; दृष्टिशक्ति छैन । स्मरणशक्ति अऩि श्रवणशक्तिका दुवै इञ्जिनहरू पनि बेला-बखत फेल होला-होलाजस्तो हुन्छ । एकपल्ट कोही बोलेका कुरा पटक्कै सुनिँदैन । चार-पाँचपल्ट 'हँ कि हँ' भनेपछि मात्र कानका दुलामा स्लो मोशनमा शब्दहरू पस्छन् अनि विस्तारै बामे सर्दै गिदीमा पुग्छ । यो गिदी पनि डिप फ्रिजमा राखिएको राँगोको मासुजस्तै भइसकेको छ । कक्रक्कै परेर ठुस्केजस्तो देखिन्छ । झड़्ङ्ङ...झड़्ङ्ङ....रिसाउन मन लाग्छ । राति ओछ्यान पस्नु मात्रै पर्छ निँद्रा लागोस् ता के ! तीन-चारपल्ट वाशरुम नपसी धर छैन ।
अबको एक वर्षपछि नोकरी छैन । सञ्चयको मात्रै भरोसा छ । सञ्चय पनि भनेजस्तो ता कहाँ छ र ! जीवनका आवश्यकताहरूमा ह्रास आउऩ थालेको छ । सामान्य दाल-भात-डुकुमै सन्तुष्ट । चौरासी व्यञ्जनको अब ता कुरै नगरेको जाती । चियामा फ्लेभर पनि चाहिँदैन अब । फिका चियामै डल्लिनुपर्छ । लोभलाग्दा केही चिजहरू किन्न मन लागे जबरजस्ती ब्रेक गरेर इच्छा र आकाङ्क्षाहरूको घाँटी अँठ्याउनुपर्छ ।
साँझ परेपछि इभिनिङ वक् शुरु हुन्छ । तर कहाँ जानु इभिनिङ वक् ? कतै जाने ठाँवै छैन । बेला-बखत श्मशानघाटमा घुम्नु जाने रहर लाग्छ । परलोक जाने अदृश्य पथ नै यो श्मशानघाट हो । परमधाम जाने ठाउँ पनि चिन्नु जरुरी छ । हाम्रो यतितिरको श्मशान घाट आधुनिक भएको छ । पाहाड़को मुर्दाहट्टीजस्तो छैन यो ठाउँ । चारैतिर रुखपात रोपेर हरियै बनाइएको छ । माझमा, दाहिने तिर फूलको बगैँचा । साँझ पऱ्यो कि चारै कुना, चारै दिशामा बड़े-बड़े भेपर लाइटले घाम लागेजस्तो उज्यालो न उज्यालो प्रकाश दिइरहेको हुन्छ । छेवैबाट महानन्दाको पानी निरन्तर निश्छलरुपमा बगिरहन्छ । भेपर लाइटको उज्यालोले महानन्दाको छातीलाई अङ्कमाल गर्दा पूर्णेको जून समेत फिका लाग्छ । अहिले यहाँको श्मशानघाट पुरानो श्मशानघाटजस्तो छैन । विशाल वैद्युतिक चुली गजधम्म छ एक तलामाथि । यहाँ खुट्टा टेक्नु पनि ड-डर लाग्छ । मोजाइक ओछ्याइएको छ । टिलिक्क टल्केको । चिप्लो न चिप्लो । हिँड़्नु जानिएन भने खुट्टा मड़्किनु बेर छैन ।
आरम्भमा यो वैद्युतिक चुली हेर्न दर्शकहरूको घुइँचो लाग्थ्यो । वैद्युतिक चुली हेर्न आउनेहरूसित तिनका लालाबाला पनि साथमा हुन्थे । आफ्ना लालाबालालाई कुनै-कुनै बुजुर्ग अभिभावक भन्थे -हेर बाबु ! यो ठाउँको नाउँ महाश्मशान हो । ऊ हेर...त्यो वैद्युतिक चुली । यसभित्र पस्यो कि पैँतालिस मिनटमै खरानी । यहाँ ठाउँमा एकदिन म पनि आउँनेछु । तिमीहरू आउँनेछौ । सबै एकदिन आउँनेछन्...ढिलो छिटो मात्रै हो बाबु !
आफ्ना पिताश्रीको कुरा सुनेर छोरो बुरुक्-बुरुक् उफ्रेर थपड़ी बजाउँदै चिच्याउन थाल्छ - वाट् इण्ट्रेष्टिङ । तपाई यहाँ कहिले आनुहुन्छ बुवा ? हेर्नु मन लागिरहेको छ तपाई खरानी भएको ।
निर्बोध शिशुको कुरामा एक रति आहत वा विचलित नबनी पिताश्री गम्भीर स्वरमा बोली पठाउँछन् - म यहाँ आइहाल्छु बाबु । अहिले मलाई तैँले जिउँदा मान्छे देख्दैछस् । यो वैद्यतिक चुलीभित्र हाल्ने बित्तिक्कै खरानी मान्छे देख्नेछस् । छोयो कि फ्यास्सै । फू... गऱ्यो कि फुङ्ङ.....
मानिसको मन पहिलेभन्दा कता हो कता अहिले कठोर भएको छ । सेण्टिमेण्टको कुरै छैन । यो श्मशानघाटमा चिताको निम्ति पनि ठाउँ उपलब्ध छ । हातमा प्रशस्तै समय हुनेहरू मात्रै चालीस मन काठ खराऩी नभइञ्जेल दन्दन्ती बल्दै गरेको चिता रुङि बस्छ्न् । समय थोर हुनेहरू चाहिँ वैद्युतिक चुलीमाथि भर पर्छन् । अचेल मानिस सबै कुरा छिटो चाहन्छ । शर्ट कट । एक रति समय छैन कसैलाई । सबैलाई अचेल धेर-थोर हतार छ । अफिस ढिलो पसौं चल्छ तर अफिसबाट छिटो निस्किने परम्पराले रड़ाँको मच्चाइसकेकोछ ।
अब यस्तो संवाद सुनिनेछ - ''छिटो जौं...छिटो । क्विक्-क्विक् । लाश पैँतालिस मिनटमा सकेर मिटिङ एटेण्ड गर्नुपर्छ ।''
मधेस र पहाड़का मलामीहरूको हिँड़ाइँमा आकाश-पातालको फरक देखिन्छ । मधेसमा मलामीहरू हिँड़ेपछि जसरी भए पनि श्मशानघाटमा पुग्नैपर्छ अनि मट्टी दिएपछि मात्र केही एउटा बहाना देखाई बाटो लाग्दा हुन्छ । तर पहाडमा बने मलामी हुँड़्नेहरू तल मुर्दाहट्टीसम्म नपुग्दारहेछन् । मलामी हिँड़्यो...हिँड़्यो निकै तल एउटा गोलाइमा पुगेपछि त्यस गोलाइबाट फर्किनेहरू विस्तारै-विस्तारै फर्किँदा रहेछन् । !;; !; ?
कोही भन्नेछन् - श्राद्ध मुण्डनको आवश्यकता छैन । चुलीबित्र स्वात्तै हाल...ह्वात्तै खरानी निकाल । उब्रेको खरानीजत्ति महानन्दाको गुहे पानीमा खन्याइदेऊ । इच्छा लागेको खण्डमा श्राद्धको निहुँमा एउटा पार्टी गर...बुफे सिष्टममा । आफ्ना सहक्रमीमध्ये आफ्नै खेमामा पर्नेहरूलाई मात्र इन्भाइट गर । यिनीहरूलाई झोलामा हाल्ने मौका यतिबेलै हो । यहीँ पार्टीमा यिनीहरूलाई 'कक् टेल्' बनाएर, 'म तपाईहरूको धूपौरे हुन चाहन्छु' भनी सरेण्डर गर । नून तेल खानेले अवश्यै गुण गाउँछन्...गाउँछन् । यसमा शङ्का गर्ने कुनै ठाँवै छैन । तर लाखेस् । साँपलाई दूध खुवाएर विष उगेल्छु भन्नु ठूलो मूर्खता बाहेक अरु केही हुन्न । कारण अचेल बुफे भनेको नै नाँची-नाँची खाऊ। हात-हातमा प्लेट । प्लेटमा चौरासी व्यञ्जनको राश ।
श्राद्ध अर्गनाइजेरले बत्तीस दन्त देखाउँदै भन्छन् - पितृदेवले कट्लेट, फ्राइड र चिल्ली चिकन अच्चाकाली रुचाउँथे । त्यसैकारण उनले हामीलाई छोड़ी गए । लिभर फेल भएको पनि रिच् परिकारले हो । आत्मतृप्तिको निम्त आज यस्तै मेनु पेश गरिएको हो ।
अचेलका लालाबालाहरूलाई कसले रोक्ने ? अङ्ग्रेजी गीत सुन्छन् । यता घर बूढ़ाको कान पाकिसक्छ । यी लालाबालाहरूलाउनीहरूलाई भने लुतो कनाइ केही देखिँदैन । डुब्दै गरेको घामलाई कसले पो स्मरण गर्छन् र ! सबै बलेकै आगो ताप्छन् ।
उहिले पिताश्रीले, '' एई...यहाँ आइज'' भन्दा लालाबालाहरू पूच्छर नभए पनि पूच्छर भएकै जस्तो गरी पूच्छर लुकाएको स्टाइलमा पिताश्री अघि ठिङ्गै उभिन्थे । अहिले हजारचोटि बोलाइसक्दा पनि उनीहरूको कानमा बतास लाग्दैन । कानमा बतास लागोस् पनि कसरी (?) कारण उनीहरूका दुवै कानमा अचेल हर-हमेशा 'एयर फोन' वा 'हेड फोन' नामक यन्त्रको ठेँड़ी घुसारेका हुन्छन् । उनीरूले अबका बूढ़ाहरूलाई नपत्याएका वा अटेरी गरेका पनि पटक्कै होइनन् । कानका दुवै दुलामा ठेँड़ी पसेपछि मुटु फुट्ने गरी चिच्याए पनि इन्द्रेका बाबु चन्द्रेको के लागोस् ता ! अहिलेका लालाबालाहरूलाई बोलाउनु पऱ्यो भने कि ता छेवैमा गएर कोट्याउनुपर्छ कि चाहिँ लामो सिर्कनुले घोंच्नुपर्छ । खासै कुरा भन्नु हो भने, अचेलका बूढ़ाहरूलाई कसले पो पत्याउँछन् र ! कसले कत्ति पो टेर्छन् र !
पेट्रोल शेष । पुराना मोडलको गाड़ीलाई एक कुनामा थन्काएरै राखेको वेश । सेकेण्ड ह्याण्ड ता के अक्सनमा पनि बिक्री हुने होइन क्यारे ! कल-पूर्जाहरू किलोको भाउमा पनि बिक्री हुन गाह्रो पर्छ । यसकारण पेट्रोल शेष भएको ओल्ड मोडल गाड़ीको ग्यारेज नै हो श्मशानघाट । महातीर्थ । परम शान्ति पाउने ठाउँ । बाइस हजार डिग्रीमा सखुवा काठजस्तो हड्डीलाई ता टेलकम पाउडरजस्तो बनाइदिन्छ भने एक्सपायरी सकिसकेको कुकाठजस्तो बूढ़ो हड्डीलाई आराको भूसज्सोत बनाउनु कति पो समय लाग्छ र ?
तर यो वैद्युतिक चुली भएको श्मशानघाट वातानुकूलित (एयर कण्डिसण्ड) भए उत्तम । बाइस हजार डिग्रीको ओभनमा लतपत परेको केही बुझिँदैन । यो मृत्यु बड़ो मुलायम हुन्छ । यो बाइस हजार डिग्रीको ओभनभित्र पसेको पैतालिस मिनटमै मान्चे खरानी भए पनि यो कुरा चाहिँ पक्कै हो -
''नैनं छिन्दन्ति शस्त्राणि नै नं दहति पावकः।
न चैं नं क्ले दयन्तपापो नशो षयति मारुतः।।''
(श्रीमद् भगवद् गीता)
अर्थात्, शस्त्रहरूले पनि यसलाई काट्न सक्तैनन् । आगाले पनि डढ़ाउन सक्तैन । पानीले पनि यसलाई भिजाउन सक्तैन ।