धरान / धरान उपमहानगरपालिकाले बजेट बनाउदा आन्तरिक आम्दानी हुने भन्दा कयौ गुण बढि लक्ष्य राखेर बजेट बनाएका कारण आर्थिक बर्षको ६ महिना नगुग्दैं उपमहानगरले आर्थिक संकट वेहोरेको छ ।  उपमहानगरको आर्थिक वर्षको आधा समय बित्दा पनि आन्तरिक राजस्व सङ्कलन न्यून छ । आन्तरिक सङ्कलन न्यून हुँदा उपमहानगरलाई आर्थिक सङ्कट मात्रै नभएर आर्थिक विकासमा दीर्घकालीन असर समेत परेको छ । वडाहरुका विभिन्न विकास निर्माणका योजना, लक्षित वर्गका कार्यक्रमहरुको बजेट रोकिएको छ । 

चालु आर्थिक वर्षमा उपमहानगरले आन्तरिक आय ७५ करोड २९ लाख ७१ हजार २ सय ५० रुपैयाँ अनुमान गरेकोमा चालु आर्थिक वर्षको ६ महिनामा १ चौथाइ पनि राजस्व सङ्कलन भएको छैन ।

हालसम्म कुल अनुमानित आयको ११ दशमलव ३३ प्रतिशत अर्थात् ८ करोड ५२ लाख ९४ हजार ९ रुपैयाँ ८७ पैसा मात्रै राजस्व सङ्कलन भएको छ । आन्तरिक आयको श्रोत परिचान गरि हचुवाको भरमा बजेट बनाई आन्तरिक आय बढि अनुमान गरेर बजेट बनाउदा त्यसको प्रत्यक्ष मार वडाहरुमा परेको छ । 

गत आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक राजस्व सङ्कलन ९० करोड ०८ लाख ५४ हजार अनुमान गरेकोमा १६ करोड ४७ लाख ३५ हजार ४ सय ६१ रुपैयाँ ७८ पैसा मात्रै सङ्कलन गरेको थियो । यो कुल बजेटको १८ दशमलव २९ प्रतिशत हो । यसले पनि उपमहानगरको राजस्व सङ्कलनको अनुमान गर्नेहरूमाथि प्रश्न उठेको छ । 

आन्तरिक आय न्यून भए पछि वडा कार्यायहरुले पाउने बजेट रोकेकोे छ । दैनिक काम र कर्मचारीहरु तलव भत्ता मात्र उपलब्द गराउदैं आएको छ । वडाहरुमा बजेट नपठाउदा महिला,आदीवासी जनजाती, वालबालिकालगायत क्षेत्रका चेतनामुलक कार्यक्रमहरु हुन नसकेको १३ नं. वडाका वडा सचिव सागर बस्नेतले बताउनु भयो ।  आन्तरिक खर्च गर्न प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले रोके पछि वडाहरुमा समस्या भएको १५ नं. वडाका वडाध्यक्ष नरेस इवारामले बताउनु भयो । वडाका विकास निर्माण र लक्षित वर्गका कार्यक्रमहरु प्रभावित भए पछि वडाका राजनीतिक दलका प्रतिनीधि, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनीधि, जनप्रतिनीधिहरुको भेला बसेर विनियोजित बजेट रोक्न नमिल्ने र खर्च अपुग भए आगामी आर्थिक बर्ष २०७८/०७९ मा खर्च गर्न मिल्ने गरि व्यवस्थापन गर्न  उपमहानगरका नगर प्रमुख तिलक राईसँग माग गरिएको छ । एक हप्ता अघि नै दलहरुसहितको जनप्रतिनीधि, टोलविकास संस्थाहरुले गरेको निर्णय नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई पठाइएको वडाध्यक्ष इवारामले बताउनु भयो । 

उपमहानगरले आन्तरिक स्रोतमा सम्पत्ति कर, भूमिकर÷मालपोत, घरबहाल कर, साना सवारी साधन कर, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर, अन्य मनोरञ्जन कर, अखेटोपहार लाग्ने कर, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय, विद्युत् सेवा शुल्क, शिक्षा क्षेत्रको आम्दानी, व्यक्तिगत घट्ना दर्ता, व्यवसाय करलगायतको राजस्व सङ्कलन गर्दै आएको छ । जसमा धरान खानेपानी बोर्डबाट १० करोड अनुमान गरेको भए पनि हालसम्म राजस्व भुक्तानी देखिएको छैन् । खानेपानी बोर्डले लिएको एडिवि ऋणसमेत हाल उपमहानगरले तिदैं आएको छ । बोर्डको हालसम्म आम्दानी देखिएको छैन् ।  

हचुवाका भरमा बजेट बनाएर वितरण गरिएको तर आन्तरिक आयश्रोतको पहिचान नगरिएको कारण धरान उपमहानगरपालिकामा आर्थिक संकट आएको अर्थ विज्ञहरुले बताएका छन् । 

बजेट बनाउने बेलामा अलि बढि अनुमान गरेर बनाइएका कारण समस्या आएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताउनु भयो । आन्तरिक आम्दानीको अहिलेको अनुपातलाई हेर्दा करिव ३५ करोड घाटा बजेट देखिने सम्भावना रहेको अधिकृत पौडेलले बताउनु भयो ।  

‘साथीहरुले अलिक बढि अनुमान गरेर बजेट बनाउनु भएछ । ७५ करोड असुली हुने सम्भावना देखिदैंन् । त्यसो भएका कारण आन्तरिक श्रोतका कार्यक्रममा समस्या भएको हो ।’–पौडेलले भन्नु भयो–‘आगामी नगरसभामा आन्तरिक श्रोतका कार्यक्रम संशोधन गर्नु भन्दा अर्को विकल्प छैन् । अत्यावश्यक योजना मात्र राखेर अन्य संशोधन हुने छन् ।’ उपमहानगरले माघ २८ गते नगरसभा तोकेको छ । नगरसभा तयारीका लागि नगरको बैठक हालसम्म बस्न सकेको छैन् । मंगलबारलाई बैठक तोकिए पनि विषय अकैं तोकिएको छ । 

शुरुमा वडाहरुलाई बजेट धेरै परेको देखाएर हाल बजेट नै रोकिए पछि वडाध्यक्षहरु रुष्ट बनेका छन् । ‘पहिले नगर प्रमुख तिलक राईले बडामा बजेट धेरै हालिएको भन्दैं हौसिएका वडाध्यक्षहरु ६ महिना पनि नवित्दैं बजेट सकिएको भन्दैं खचृ गर्न उपमहानगरले कटौती गरे पछि समस्यामा परेका छन् । यही जेठ महिनादेखि कार्यकाल सकिन लागेका वडाध्यक्षहरु महत्वपूर्ण योजनाको बजेट नै रोकिए पछि अप्ठ्यारोमा परेका छन् ।

धरान उपमहानगरपालिकामा २० वडा वडा रहेका छन् । उपमहानगरले भूगोल, जनसंख्या, आम्दानी, गरिवीको आधारमा वडाहरुमा ८० लाखदेअि २ करोड ५९ लाखसम्म बजेट विनियोजन गरेको थियो ।