निकै दिनको विरामीपछि
राजाको कुकुर मऱ्यो
कुकुर मरेका खबर
राज्यभिर एकमिलिकमै फैलियो ।

प्रजाहरू राजाको कुकुर मरेको
खबर सुन्ने बित्तिक्कै
समसम्त प्रजाहरू
रुँदै ग्वाग्वारती
राजदरवारमा आइपुगे ।

कुकुरको लाश लमतन्न छ
राजा शोकमा डुबेका छन्
प्रजाहरू...
कोही छिती पिटीपिटी
कोही कुकुरलाई छाँद हाल्दै
कोही टाउको ठोक्दै
कोही कोहोलो मच्चाउँदै
रोइरहेका छन् कि रोइरहेका छन् ।

शोकाकुल राजाको ध्यान
कुकुरको लाश पट्टि नगएर
कुकुरप्रति हुरुक्कै हुने
प्रजाहरूको रुवाइ हेर्दै थिए...
कुकुरको मलामीको ताँती देखेर
राजा भित्र भित्रै
गर्वित र हर्षित हुँदै मनमनै भन्दैथिए -
अहो ! जाबो कुकुर मर्दा ता
मेरा प्रजाहरू आफूलाई
उजाड़ पारेर रुँदारहेछन्
कति अचेत पनि हुँदारहेछन्....
कति प्यारा प्रजाहरू....
मेरो कुकुर मर्दा ता
प्रजाहरूको यस्तो गति
म मरेपछि मेरा प्रजाहरू
कति रुँदा हुन्....
कति बेहोश हुँदा हुन्
मेरो मलामीमा ता झन्
सिङ्गो राज्यका प्रजा नै
उर्लेर आउँदा हुन् ।

कुकुर मरेको
वर्षदिन पछि
राजाको मृत्यु भयो
उनको लाश लाने बेलामा
राजाका परिवारबाहेक
तर....त्यहाँ न कोही रुने देखिए
न ता मलामीका ताँती नै देखिए ।

पत्रकारले सोधे प्रजाहरूलाई
राजाको कुकुर मर्दा ता
रुने र मलामी जाने
प्रजाहरूको ताँती देखिएको थियो
तर आज राजाको
यो अन्तिम संस्कारको समयमा
न एउटै रुने प्रजा देखिए
 न ता मलामी जानेहरू नै देखिए ।

प्रजा प्रवक्ता गम्भीर स्वरमा बोले
कुकुर मर्दा हामी रोएका
मलामी गएका
राजाले साक्षात् देख्थे
खासमा हामीले
राजालाई देखाउनुलाई नै
ग्वाँग्वाँती रुँदै
कुकुरको मलामीमा ताँती लागेका हौं ।
अहिले राजाको मृत्यु भएको छ
हामी आएको नआएको केही
राजाले देख्ने होइनन् क्यारे !


*** कार्टुन - नीरज खाम्बेन, सिङबोली चियाबारी (मिरिक, दार्जिलिङ) ।