काठमाडौं / यो वर्ष मनसुन सुरु भएको केही दिनमै नेपालभरि ठूलो वर्षा भएका कारण देशका मुख्य नदीमा विनाशकारी बाढी आएको परेको जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूले बताएका छन्।

मौसमविद् मीनकुमार अर्याल भन्नु हुन्छ–‘वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा पूर्वानुमानअनुसार नै भारी र धेरै भारी वर्षा भएको हो। तर एक्कासि तिनको गति उच्च हुँदा छिट्टै प्रभाव देखिएर जमिनले सोस्न नभ्याउने अवस्था आएको जस्तो देखिन्छ।’

मौसमविज्ञ र भूगर्भशास्त्रीहरूका अनुसार यति बेला हुने अधिकांश विपद् वर्षासँग सम्बन्धित छन्।
सरकारका अनुसार केही दिनदेखि निरन्तर भइरहेको वर्षा शनिवारसम्म कायम रहन सक्ने भन्दै सरकारले सर्वसाधारणलाई सतर्क हुन आग्रह गरेको छ।

वर्षा कति धेरै‍ ?
गत जुन ११ मा नेपालमा मनसुन प्रवेश गरेको थियो। त्यसयता मौसममा अन्य कुनै प्रणालीको असर देखा नपरेको विभागका मौसमविद्हरू बताउँछन्।

तर सामान्यतया २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी पानी पर्दा सर्वसाधारणलाई सतर्क गराउनुपर्ने अवस्थाका रूपमा हेरिन्छ। विज्ञहरूका अनुसार १४० मिलिमिटरभन्दा धेरै पानी परेमा त्यसले पहिरो जाने अवस्था ल्याउन सक्छ। मौसमविद् अर्यालका अनुसार मङ्गलवार साँझको पछिल्लो अन्तिम मापनमा पोखराआसपास १८० मिलिमिटर र भैरहवाआसपास १४० मिलिमिटर पानी परेको अवस्था देखिएको थियो।

‘तर मनाङ, मुस्ताङजस्ता सुक्खा हिमाली ठाउँमा ५० मिलिमिटर पानी पर्दा समेत असर उच्च हुन्छ, पहाडी भेगमा १०० मिलिलिटरभन्दा कम नै पानी पर्दा समेत पहिरोजस्ता असर देखिन्छन् ।’– अर्यालले भन्नु भयो ।
धेरै ठाउँमा पहिरोले दुःख दिन थालेको छ

दक्षिण एशियाली मौसमविद्हरूले निकाल्ने साउथ एशियन क्लाइमेट आउटलुकले यसपालि नेपालसहित यो क्षेत्रमा औसतभन्दा बेसी वर्षा हुन्छ भन्ने प्रक्षेपण गरेको यसअघि नै मौसमविद्हरूले बताएका थिए।

काठमाण्डू विश्वविद्यालयको वातावरण विज्ञान तथा इन्जिनीअरिङ विभागका प्रमुख डा. रिजनभक्त कायस्थले सिन्धुपाल्चोकमा रहेका हिमनदी र त्यहीँका उच्च पहाडी भागमा धेरै पानी पर्ने प्रवृत्तिको असर त्यहाँ विनाशकारी बाढी र पहिरोको रूपमा देखिएको बताउँनुहुन्छ ।

डा. कायस्थ थप्नु हुन्छ–‘त्यस्तो जलाधार क्षेत्रले आसपासमा बाढी र पहिरोले वेग बढाउँछ र त्यस्ता ठाउँमा अचानक भए जसरी यस्ता प्रकोप देखा पर्छन्।’ गण्डकी प्रदेशतर्फ भने केही दिनदेखि भएका हिमपातले कमजोर भएको माटोमा थप वर्षा हुँदा नदीमा लेदो पानीको बहाव देखिएको डा. रिजनभक्त कायस्थ बताउँनुहुन्छ ।

पहिरोसँगको सम्बन्ध
पूर्वाधार विकास वा प्राकृतिक प्रकोपकै कारण नदीछेउका पहाडमा भएका हलचलले आकस्मिक बाढीहरूको जोखिम पछिल्ला दिनमा बढाएको अर्काथरी विज्ञहरू ठान्छन्।

विपद्‌विज्ञ तथा त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र विभागका सहप्राध्यापक रञ्जनकुमार दाहाल भन्नु हुन्छ–‘पहाडहरू चलेपछि पहिरोहरू धेरै हुन थालेका छन्। र आकस्मिक बाढी माथिल्लो भेगमा पहिरोले खोला नथुनीकन हुन सक्दैन।’

बैतडीको पहिरो
सिन्धुपाल्चोकमा त्यस्तो प्रवृत्ति बढी देखिने गरेको विज्ञहरूको भनाइ छ।
त्यहाँ माथिल्लो भेग लगातार पानी पर्ने अवस्थितिका रूपमा अध्ययनहरूबाटै पहिचान गरिएको विज्ञहरू बताउँछन्।

“जसले गर्दा त्यसपछिको त्यहाँ कुनै बेला थोरै उच्च पानी आइदियो भने बाढी र पहिरो एकैसाथ देखा पर्ने गर्छ।” यस पटक मनसुनको सुरुमै धेरै पानी परेको बताउँदै भूगर्भशास्त्री दाहालको भनाइ छ। अधिकारीहरूले पछिल्ला महिनामा नेपालमा एक दशकयताकै उच्च डढेलो देखा परेकाले त्यसको असर पहिरोको बढ्दो क्रममा हुने चेतावनी दिएका थिए।

कालीगण्डकी, भेरी, पश्चिम राप्ती, तिनाउ, बबईजस्ता नदीमा आकस्मिक बहाव बढ्न सक्ने भन्दै सरकारको बाढी पूर्वानुमान महाशाखाले सजग बुधवार गराएको थियो। उसले नारायणी र त्यसका सहायक नदीमा बहाव सतर्कता तह आसपास रहेको तर सिन्धुपाल्चोकमा जलबिरेस्थित बलेफी खोलामा मङ्गलवार साँझ उच्च तह देखा परे पनि बुधवारबाट बहाव घट्दो क्रममा रहेको जनाएको छ।

तर सरकारी सूचनामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई त्यो खतरा हुन सक्ने भन्दै साना नदी आसपासमा समेत विशेष सावधानी अपनाउन भनेको छ।

यस्तो छ चेतावनी
बिहीवार बिहान ६ बजे प्रकाशित सूचनामा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, वाग्माती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशको केहि भूभागमा मेघगर्जनरचट्याङसहित ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ।

त्यसैले ती प्रदेशका ूपहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।

यो चेतावनी र परामर्श २४ घण्टाका लागि भएको विभागको भनाइ छ। यसैबीच सरकारले वर्षा र बाढीबारे ११५५ नम्बरबाट सूचना दिने गरेको छ। उक्त नम्बरमा फोन गर्दा शुल्क नलाग्ने गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बीबीसी