धरान / कोरोना महामारीले अस्पतालमा सङ्क्रमितका सङ्ख्या बढ्दैं गएको छ । अस्पतालमा चिकित्स,स्वास्थ्यकर्मीहरुको अभाव हुन थालेको छ । सरकारको जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयले कुनै चिकित्सकलालई यति बेला विदा नदिन परिपत्र जारी गरेको छ । रिटार्यर भएका चिकित्सकहरुलाई समेत आवश्यकता अनुसार काम लगाउन सकिने बताइरहेको बेला धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने विशेषज्ञ चिकित्सकहरुलाई एक बर्षको विदा दिएको छ ।
प्रतिष्ठानमा लामो सयमदेखि विशेषज्ञ सेवादिदैं आएका बरिष्ठ चिकित्सकलाई उपकुलपति प्राडा. ज्ञानेन्द्र गिरीले एक बर्षका लागि मंङ्गलबार विदा स्वीकृत गरिदिनुभएको छ । नाक कान घाटीका क्यान्सर रोग विशेषज्ञ डा बजरङ्प्रसाद साह र हार्डजोनी विभागका विशेषज्ञ डा. राजु रिजाललाई एक बर्षका लागि स्व–अध्ययन विदा दिनुभएको हो । प्रतिष्ठानको नियममा लामो सयम प्रतिष्ठानमा काम गरेका चिकित्सक कर्मचारीहरुले स्व–अध्ययन विदा पाउने प्रावधान छ । तर महामारीका बेला विदामा बसेका चिकित्सकलाई पनि बोलाउनु पर्नेमा उपकुलपतिले भएका विशेषज्ञ चिकित्सकलाई समेत विदा दिएको भनेर प्रतिष्ठान भित्रै उपकुलपति गिरीको आलोचना शुरु भएको छ ।
डा. रिजाल आफ्नो परिवार अष्ट्रेलिया भएका कारण विदा लिएर त्यस तर्फ जान काठमाडौं पुग्नु भएको बताइएको छ । डा. साह भने विदा लिएर झापाको वि एण्ड सी अस्पतालमा काम गर्न जान लागेको श्रोतले बताएको छ । प्रधानमन्त्री केपी ओलीका निकट पात्र दर्गा प्रसाइको अस्पतालमा सेवा गर्न उनलाई विदा दिइएको श्रोतले बताएको छ । उपकुलपति गिरीको समेत आफन्त पर्ने प्रसाईले क्यान्सर रोगको उपचार हुने अस्पताल चलाउदैं आएका छन् । नाक कान घाटी सम्बन्धिको क्यान्सर विशेषज्ञ मानिएका डा. साह प्रसाईको माग अनुरुप विदा दिइएको श्रोतले बतायो । साह विपी प्रतिष्ठानको लगानीमा विशेषज्ञ अध्ययन गर्नु भएको चिकित्सक हुनु हुन्छ ।
यस विषयमा उपकुलपति डा. गिरीलाई सम्पकृ गर्दा फोन उठाउनु भएन । प्रतिष्ठानका सहप्रवक्ता डा. चुढामणी पोखरेलले भने यस विषयमा आफुलाई कुनै जानकारी नभएको बताउनु भयो । बुझेर मात्र के रहेछ भन्न सक्ने उहाँको भनाई थियो । विदामा बस्न पाउने चिकित्सक तथा कर्मचारीको अधिकारको कुरा भए पनि महामारीको बेला विदा दिनु गैरजिम्मेवार काम भएको प्रतिष्ठानका एक चिकित्सक बताउनु हुन्छ ।

सेनाले बोलायो अवकास प्राप्त चिकित्सकलाई
यता नेपाली सेनाल ०७२ यता अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई ‘अलर्ट’ रहन निर्देशन दिएको छ । सेनासँग ६ वर्षको अवधिमा अवकाश पाएका करिब तीन सय ५० स्वास्थ्यकर्मी सैनिकहरुलाई आवश्यक परेका बेला देशलाई सहयोग गर्न आव्हान गरेको छ ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले कोरोना संक्रमण नियन्त्रणको अभिभारा सेनामा आउने अवस्था देखिएपछि अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताउन ुभयो । ‘कोरोना संक्रमणको दर बढ्दै गएको छ । महामारी नियन्त्रण गर्ने अभिभारा सेनामा आउन सक्ने अवस्था देखियो । त्यसैले अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई तयारी अवस्थामा रहन भनेका छौँ,’ उहाँले भन्नु भयो ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार महामारी नियन्त्रणमा सघाउने उद्देश्यले ०७२ सालपछि अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको हो । हाल सेनासँग बहालवाला स्वास्थ्यकर्मी सैनिक दुई हजार तीन सयको संख्यामा छन् । जसमा अधिकांश नर्स र केही विभिन्न विधाका चिकित्सक छन् । अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिक सेनाबाट परिचालित बहालवाला स्वास्थ्यकर्मी सैनिकसँगै खटिनेछन् । त्यसका लागि सेनाले मातहतका पृतना, गण र गुल्ममार्फत विशेष युटिन बनाउनेछ ।