विराटनगर / 

अदालतलाई चेतावनी : सर्वोच्च अदालतले कुनै अकल्पनीय फैसला गर्ने कुरा सोच्न पनि सकिँदैन । सम्मानित सर्वोच्च अदालतले देशभरि भएका सभाहरूलाई हेरेको होला, यस्ता सभाहरूबाट प्रकट जनमतको विश्लेषण गरेको होला । तपाईंहरू निर्धक्क चुनावको तयारीमा लाग्नोस् । त्यसविपरीत सेटिङमा प्रतिनिधिसभा पुनस्र्थापना भयो भने हामी आन्दोलन गर्नेछौँ ।

आयोगलाई धम्की : ०४७ मा मैले नै हो एमालेको सूर्य चिह्न वैधानिक रूपले दर्ता गराएको । मैले धेरैपटक सूर्य चिह्नबाट चुनाव लडेको छु । तर, प्रचण्डले एकपल्ट पनि लडेका छैनन् । एकपल्ट पनि चुनाव नलड्ने अनि सूर्य चिह्न दाबी गर्ने ? चुनाव चिह्न हामीले नै पाउँछौँ । नपाउने कुनै कारण छैन । कुनै पनि जालझेल, सेटिङ भए हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ ।

......

संसद् विघटनविरुद्धको मुद्दाको सुनुवाइ सकिएको अर्को दिन प्रधानमन्त्री केपी ओलीले अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरे देशैभर आन्दोलन गर्ने धम्की दिनुभएकाे छ ।  विराटनगरमा शनिबार नेकपा ओली समूहले गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाविरुद्ध पनि अभद्र टिप्पणी गर्नु भयाे । 

संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्षसहित सबै राजनीतिक शक्ति त्यसको विरुद्ध सडक संघर्षमा रहेका वेला प्रधानमन्त्री ओलीले ‘सर्वोच्च अदालतबाट देश र जनताको विपक्षमा फैसला आए’ आन्दोलन गर्ने चेतावनी दिनुभयाे। ‘सर्वोच्च अदालतले कुनै अकल्पनीय फैसला गर्ने कुरा सोच्न पनि सकिँदैन । सम्मानित सर्वोच्च अदालतले देशभरि भएका सभाहरूलाई हेरेको होला, यस्ता सभाहरूबाट प्रकट जनमतको विश्लेषण गरेको होला । तपाईंहरू निर्धक्क चुनावको तयारीमा लाग्नोस्,’ धम्कीपूर्ण भाषामा उहाँले भन्नुभयाे - ‘त्यसविपरीत सेटिङमा प्रतिनिधिसभा पुनस्र्थापना भयो भने हामी आन्दोलन गर्नेछौँ ।’ प्रधानमन्त्री ओलीमाथि नै संसद् विघटनको मुद्दामा सेटिङमा काम गरेको आरोप लाग्दै आएको छ । यसअघि ओली समूहका नेता एवं गृहमन्त्री रामबहादुर थापाले २३ माघमा तेस्रो जनआन्दोलन सुरु भएको बताउनुभएकाे थियाे। 

उहाँले आफू ६४ प्रतिशत बहुमत प्राप्त प्रधानमन्त्री भएकाले विघटनको संवैधानिक अधिकार आफूसँग रहेको दाबी गर्नु भयाे ।  ‘बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्नु संसदीय प्रणालीमा जायज हो, विश्वमा यही परम्परा छ । म ६४ प्रतिशत बहुमत प्राप्त प्रधामन्त्री हुँ । मैले प्रतिनिधिसभा विघटन गर्नु संवैधानिक छ,’ उहाँले भन्नु भयाे, ‘त्यसैले सर्वोच्च अदालतले कुनै अकल्पनीय फैसला गर्ने कुरा सोच्न पनि सकिँदैन ।’

जब कि त्यही कार्यक्रममा ओलीनिकट नेता सुवास नेम्वाङको भनाइ थियो, ‘प्रतिनिधिसभाको विघटन संवैधानिक र संसदीय प्रणालीअनुरूप छ र दुईतिहाइ बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार हुन्छ भन्ने प्रधानमन्त्रीको तर्क जायज छ । सर्वोच्चले पनि सरकारकै पक्षमा फैसला गर्छ भन्ने प्रधानमन्त्रीलाई दुई सय प्रतिशत विश्वास छ । र मलाई र हामीलाई प्रधानमन्त्रीप्रति पूर्ण विश्वास छ ।’ उहाँले १५ फागुनसम्ममा फैसला आइसक्ने पनि सुनाउनुभ भयाे । प्रतिनिधिसभा पुनस्र्थापना भए फेरि सांसद किनबेच, फेरि गठजोड, उही समीकरण सुरु हुने उहाँले दाबी गर्नु भयाे ।  ‘फोहोरी खेलले देश अगाडि बढ्न सक्दैन, लोकतन्त्र बलियो हुन सक्दैन,’ उहाँले भन्नु भयाे । यसअघि पनि प्रधानमन्त्री ओलीले संसद् र सांसदको मानमर्दनपनि गर्नु भयाे । 

निर्वाचन आयोगलाई पनि चेतावनी

नेकपाका अध्यक्षसमेत रहेका ओलीले निर्वाचन आयोगबाट पनि आफूअनुकूल फैसला नआए आन्दोलन गर्ने चेतावनी दिनुभयाे । ‘०४७ सालमा मैले नै हो एमालेको सूर्य चिह्न वैधानिक रूपले दर्ता गराएको । मैले धेरैपटक सूर्य चिह्नबाट चुनाव लडेको छु । तर, प्रचण्डले एकपल्ट पनि लडेका छैनन्,’ उहाँले भन्नु भयाे, , एकपल्ट पनि चुनाव नलड्ने अनि सूर्य चिह्न दाबी गर्ने ? चुनाव चिह्न हामीले नै पाउँछौँ । नपाउने कुनै कारण छैन । कुनै पनि जालझेल, सेटिङ भए हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ ।’ शुक्रबार मात्रै ओलीले निर्वाचन तयारीमा नलागेको भन्दै आयोगप्रति असन्तुष्टि जनाएका थिए ।

संसद् विघटनसँगै नेकपा राजनीतिक रूपमा विभाजित छ । तर, यसको कानुनी विवाद टुंग्याउन आयोगले आनकानी गर्दै आएको छ । प्रचण्ड–नेपाल समूहको बहुमत पक्ष रहे पनि आयोगले उक्त समूहलाई वैधानिकता दिन मानेको छैन ।

उपराष्ट्रपति र सभामुखको मानमर्दन

संवैधानिक अंग र तिनका पदाधिकारीमाथि खनिएका ओलीले उपराष्ट्रपति र सभामुखमाथि पनि लाक्षना लगाउनुभयाे । पदीय जिम्मेवारीविपरीत उपराष्ट्रपति सरकाविरुद्ध भाषण गर्दै हिँडेको भन्दै उहाँले उपराष्ट्रपति चुनाव नगराउने पृष्ठभूमिबाट आएको टिप्पणी गर्नुभयाे । ‘सरकारविरुद्ध भाषण गरेर हिँड्ने अनि संविधान मिचियो, प्रजातन्त्र मासियो भन्ने ? प्रतिनिधिसभा विघटन बेठीक भयो, चुनाव गर्न पाइँदैन भन्ने ?’ उहाँले भन्नु भयाे, , ‘हुन त उहाँ चुनाव नगराउने पृष्ठभूमिबाटै आउनुभएको हो ।’

संसद् विघटन गर्ने कदमको विरोध गरेपछि प्रधानमन्त्री ओली उपराष्ट्रपतिमाथि खनिनुभएकाे हाे । नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशन उद्घाटनपछि मन्तव्य राख्दै उपराष्ट्रपति पुनले संसद् विघटनपछि जनतामा निराशा र आक्रोश छाइरहेको बताउनुभएकाे थियाे । ‘देश अहिले राजनीतिक संकटको भुमरीमा छ । प्रतिनिधिसभा विघटन गरिएको छ । प्रतिनिधिसभा विघटनपछि गहिरिँदो राजनीतिक संकटबाट जनतामा निराशा र आक्रोश छाएको छ । जनतामा निराशा र आक्रोश छाउनु देशका लागि राम्रो संकेत होइन । नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै संविधानमाथि प्रहार गरियो, देशलाई भुमरीमा पारियो भनी प्रश्न उठ्ने गरी परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद कुरा हो । संविधानको संरक्षण र पालन सबै संघसंस्था तथा आमनागरिकको कर्तव्य हो,’ पुनले भन्नुभएकाे थियाे । संसद् विघटनवारे यो उहाँको पहिलो अभिव्यक्ति थियो ।

प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटा सरकारविरोधी झगडिया भएको बताउनुभयाे ।  ‘सभामुख पनि झगडिया बन्नुभएको छ । जबर्जस्ती मान्छेलाई तानेर हस्ताक्षर गराउँदै, मुद्दा हाल्दै हिँड्नुभएको छ । कोही अदालततिर, कोही आयोगतिर कुद्दै छन् । हामीले सभामुख बनाइदिएको झगडिया बन्नलाई हो ?’ ओलीको प्रश्न थियो, ‘सभामुख सरकारविरोधी झगडिया हो । किर्ते सनाखत गरेर लाजमर्दो काम गरेका छन् । सभामुखले किर्ते सनाखत गर्न सुहाउँछ ?’

संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सभामुखले कानुनी र संवैधानिक चुनौती दिनुभएकाे छ । त्यसपछि प्रधानमन्त्री ओली सभामुखसँग सापकोटासँग असन्तुष्ट छन् ।

प्रचण्ड र नेपालमाथि पनि प्रहार

ओलीले मोहन वैद्य र डा. बाबुराम भट्टराईले छोडेका प्रचण्ड अहिले रामकुमारी झाँक्रीको सहारामा पुगेको भन्दै व्यंग्य गर्नुभयाे।मलाई प्रचण्डजीको माया पनि लाग्छ । पहिले वैद्यसँग हुनुहुन्थ्यो, वैद्यले छाडे । त्यसपछि डाक्टरसँग जानुभयो, डाक्टरले पनि छाडे । अहिले झाँक्रीहरूको सहारा लिइरहनुभएको छ,’ उहाँले भन्नु भयाे, ‘वैद्य र डाक्टरले त सकेका थिएनन्, अब प्रचण्डजीलाई झाँक्रीले के बचाउलिन् ?’

सिद्धिसकेको प्रचण्डको राजनीतिक जीवन आफूले बचाएको ओलीले दाबी गर्नुभयाे  । ‘मैले सिद्धिसकेका प्रचण्डलाई ल्याएर ठूलो जुरो र लामा–लामा सिङ हालिदिएको थिएँ । तर, लामा सिङ भएपछि उहाँलाई अहंकार चढेछ । त्यसैले उहाँ हामीलाई नै सिध्याउन लाग्नुभयो,’ उहाँले भन्नु भयाे,  ‘उहाँ गलत बाटोमा जानुभयो । अब उहाँलाई रामराम भन्न सकिन्छ, काँध हाल्न सकिँदैन ।’

ओलीले आफूसँग महाधिवेशन हारेका माधवकुमार नेपाललाई जसरी पनि अध्यक्ष पद चाहिएको बताउनुभयाे। ‘मसँग महाधिवेशमा हार्नेहरू मलाई जसरी पनि अध्यक्ष पद चाहियो भनेर अड्को थाप्थे । यता अध्यक्ष हुन नपाएपछि कार्की ब्यांक्वेटमा भोज खाएर कसैले अध्यक्ष बनाइदिएपछि दंग परेर बसेका थिए । तर, निर्वाचन आयोगले नेकपाको अध्यक्ष केपी ओली र प्रचण्डलाई मात्र चिनेपछि हिस्स परेका छन् । नयाँ पत्रिका दैनिकबाट