कृषीलाई जीवन आधार मान्दै आएका नेपालीहरुले समयमा मल पाइएन भन्दैछन् । मलको भाउले ज्यानै पनि लिन थालिसक्यो । भर्खरै रोपाइ सकिएको खेत बाढीले बगाउँदा लागेको किसानको चोटलाई कसैले मल्हम पट्टी लगाउन सकेका छैनन् । वर्षाको पानीले जमीनको माथिल्लो उर्बर माटोलाई बगाइरहँदा टुलुटुलु हेर्नुबाहेक जनताको अर्को विकल्प छैन । हाम्रो देश कृषीप्रधान बाट माथी उठन सकेको छैन । वैकल्पीक रोजगारीको सिर्जना गर्न नसकिएकोले नै देश उद्योग प्रधान , ब्यापार प्रधान वा अरु नै केही प्रधान बन्न सकेको छैन । एकातिर खाने मुख दिनप्रतिदिन बढीरहेछन भने अर्कोतिर उत्पादन गर्ने जमीन बढदो दरमा घटीरहेछ । यसै साल मात्र तराईका सुरक्षित ठानीएका धेरै भागहरु जलामय बनीरहेछन् ।
सयौं मानीस र जनावारहरुको बिचल्ली भईरहेछ । यसको परिणाम आगामी वर्षमा अझ खतरनाक किसिमले देखिने छ । यो खतरालाई टार्न बाढीग्रस्त क्षेत्रमा सुरक्षाकर्मी र जनता थुपारेर खासै काम छैन । हेलिकोप्टरमा शयर गर्नूको पनि खास तुक छैन । जमीनको संरक्षण गर्न बर्तमान घटनासंग जुधेर होइन दीर्घकालीन योजना बनाएर सो बमोजिम कार्य गर्नु पर्दछ । जेष्ठ महिनासम्म प्राकृतिक प्रकोपबारे केही कुरा नउठने तर असार छिप्पिन थालेपछि र एक दूई घटनाले प्रकोपको रुपधारण गर्न थालेपछि देशबासीमा रुवाबासी चल्न थाल्छ । उक्त रुवाबासी निकै चर्किएपछि मात्रै सरकारले कान ठाडो पार्न थाल्दछ र कामको लागी छलफल चल्न थाल्दछ । विभिन्न पार्टीहरुमा सहमति जुटाउने काम सकिदा नसकिदै प्रकोपले ठूलै रुप लिइ सकेको हुन्छ । प्रकोप ब्यवस्थापन गर्न र राहत बाँडने काममा पनि सहमति जुटाउँदा जुटाँउदै धेरै मानिसहरु भोक र रोगले मर्न थाल्दछन् । फेरी बर्तमान अबस्थामा सरकार नै राजनैतिक प्रकोपमा परेकोले आफैं पिडित छ र लगभग अपांग छ । यस्तो समयमा जनताले सरकारबाट प्रकोप ब्यवस्थापन र राहत बितरणको लागी सरकारको मुख ताक्नुको कुनै अर्थ छैन ।
देशमा एकातिर हरेक वर्ष खानेमुख बढीरहेको छ भने खाद्यान्न उत्पादनको लागी भरपर्दा जमीनको क्षय हुने क्रममा तिब्रता आएको छ । पहाडदेखि तराईसम्म भूक्षय हुने क्रम बढदो छ । यही क्रम बढने हो भने भविश्यमा खाद्य बालीको विकल्प खोज्नु पर्ने अबस्था आउन सक्दछ । कृषि उत्पादनमा वृद्धि गरेर मात्रै भविश्यमा आउने खाद्य समस्यालाई समाधान गर्न सकिन्छ । यसको साथै उत्पादित पदार्थलाई संग्रह गरी राख्ने काम पनि साथसाथै भएमा आवश्यक्ता वा मागलाई पुरा गर्न सकिन्छ । कृषीजन्य उत्पादन अन्तर्गत खाद्यबाली मात्र नपरेर पशुजन्य पदार्थहरु जस्तै दुग्ध पदार्थ , मासु, फुल आदि र फलफूल, सागसब्जी आदि पनि पर्दछन । यस्ता पदार्थहरु धेरैजसो चाँडै सड्ने स्वभावका हुन्छन् । यसैले यस्ता बस्तुहरुको भण्डारण गर्न बिशेष ब्यवस्था गर्नु पर्दछ । फलफूल र तरकारीलाई केहि समयसम्म ताजा राख्न सकिएपनि दुधलाई धेरै समय ताजा राख्न सकिदैन । यसरी भण्डारणमा आउने समस्याको कारणले पनि किसानहरुको उत्पादनप्रतिको लगाव कम हुन थाल्दछ ।
पूर्वी पहाडी क्षेत्रका विभिन्न जिल्लामा दुध उत्पादनको अवस्था निकै राम्रो छ । यहाँबाट उत्पादन भएको दुध बिराटनगरमा जम्मा भई देशका विभिन्न भागसम्म पुग्दछ । इलाम जिल्लाको सन्दर्भमा हेर्दा यस वर्ष मात्रै यस जिल्लाले लगभग एक अरब अस्सी करोड रुपैया मूल्य बराबरको दुध र दुग्ध पदार्थ बिक्री गर्न सफल भयो । यो ज्यादै उत्साहजनक कुरा हो । यो सफलताको पछाडी किसानको मिहेनत त छँदैछ , यसको साथै जिल्लाका विभिन्न स्थानमा रहेका दुध चिस्यान केन्द्रको पनि उत्तिकै ठूलो भूमिका छ । तुलनात्मक रुपले यस जिल्लामा यातायातको विकास केहि राम्रो भएकोले सडकको सुगमतालाई ध्यानमा राखी यस्ता केन्द्रहरु स्थापना भएबाट वरीपरीका किसानहरुमा बढी दुध उत्पादन गर्ने जाँगर बढनु स्वभाविक नै मान्नु पर्दछ । तर पनि यस्ता केन्द्रहरु सबैतिर पु¥याउन नसकिएकोले माग बढीरहेको छ ।
हाम्रो देश बन्द र हडतालको लागि नामुद भएको कारणबाट पनि चाँडै सडने पदार्थको बिक्रिमा असर पुगेको छ । यस्तो अवस्थामा दुध ओसार्ने गाडी आउन नसक्दा ग्रामीण क्षेत्रमा उत्पादन भएको लाखौं लिटर दुध खेर जान्छ । दुग्ध पदार्थ ओसार पसारमा बन्दको प्रभाव पर्न नदिने कुरामा कतिपय दलहरुबिच पनि समझदारी भएको छ । यो किसानको लागी खुशीको कुरा हो । तर च्याउ झैं उम्रिरहने नयाँ नयाँ पार्टीहरुले यसलाई कुन रुपमा लिन्छन त्यो भने हेर्न बाँकी नै छ । मानिसबाट गराइने बन्द बाहेक पनि प्राकृतिक प्रकोपको कारण पनि यातायात बन्द हुने सम्भावना हुन्छ । यस्तो अवस्थालाई ध्यानमा राखेर शीत भण्डारहरुको वृद्धि गर्नु पर्दछ , साथसाथै दुधबाट बन्न सक्ने कुराउनी वा खुवा बनाउनु पर्दछ जुन दुग्धपदार्थबाट बन्ने मिठाईको भरपर्दो कच्चा पदार्थ हुन्छ । यसबाट किसानको लागतलाई धेरै बचाँउन सकिन्छ ।
नेपालको पहाडी भाग फलफुल खेतिको निम्ति पनि उपयुक्त छ । फलफुलको उत्पादन पनि राम्रो किसिमले भइरहेको छ । तर यातायातको समस्याबाट किसानले आशा गरे अनुसार फाईदा भने लिन सकेका छैनन् । एक त उत्पादनलाई बजारसम्म पु¥याउन समस्या छ । बजार पु¥याएपछि पनि फाईदा हुनेगरी बेच्न सकिदैन । यसो हुँदा उत्पादन बढाउनेतर्फ किसानको ध्यान जाँदैन । फलफुल खेतिको विकास गर्न सके भूक्षय नियन्त्रणमा समेत बल पुग्दछ ।
यसैले वातावरणीय समस्याको समाधानमा पनि बल पुग्ने र किसानको आर्थिक स्थिति पनि उक्सने भएकोले पहाडी क्षेत्र जहाँ खाद्यबालीको उत्पादन गर्न सकिदैन त्यस्ता स्थानमा फलफुल खेतिलाई प्राथमिकतामा राख्नु पर्ने हुन्छ । अझ यसलाई बैज्ञानीक ढंगले ब्यापारीकरण गर्ने हो भने भरपर्दो यातायात र शीत भण्डारको ब्यवस्था गर्नु पर्दछ । फलफुललाई भण्डार गर्न सकिने शितभण्डारको ब्यवस्थाबाट उत्पादन र उत्पादकत्वमा वृद्धि हुन जान्छ , जसबाट किसानले लक्ष्य अनुसार फल प्राप्त गर्न सक्दछन् । अझ फलफुलबाट फलफुलजन्य उत्पादन जस्तै जुस बनाउने ,पाउडर बनाउने जस्ता साना उद्योग सञ्चालन गर्न सके बढी नाफा आर्जन गर्न सकिने थियो ।
सुन्तला, जुनार जस्ता फलबाट जुस बनाउने , अदुवाबाट पाउडर बनाउने , स्याउबाट मदीरा बनाउने जस्ता कुरालाई सरकारी स्तरबाटै सहुलियत दरमा ऋण उपलब्ध गराउन सके पहाडी र हिमाली क्षेत्रका किसानमा नयाँ जागरण आउने थियो । कर्णालीको स्याउले यातायातको कारणले उचित मुल्य पाउन सकेको छैन । यातायातको भरपर्दो ब्यवस्था भए स्याउमा आधारीत ससाना उद्योगहरु सञ्चालन गरी कर्णालीबासीले कमसल किसिमको वैदेशीक रोजगारमा जानु पर्ने बाध्यता हुने थिएन । कृषीबाट उत्पादन भएको बस्तुलाई द्धितियक सामग्रीमा परिवर्तन गर्न सक्दा यातायात लागतमा धेरै कमि आउँछ । यसबाट किसानले बस्तुको सही मुल्य प्राप्त गर्न सक्दछ । सही मूल्य प्राप्तीबाट नै किसानमा प्रोत्साहन बढेर उत्पादनमा वृद्धि हुने क्रम बढदछ ।
हाल नेपालका ग्रामीण क्षेत्रमा फस्टाउँदै आएको तरकारी खेतिले धेरै गाउँको आर्थिक स्थितिमा सुधार आएको छ । सुगम यातायात र सहज रुपमा प्राप्त हुने बजारबाट नजिकका गाउँहरुमा बन्दाकोपी, गोलभेडा र अन्य तरकारी खेतिको प्रचलन बढदो दरमा छ । तर सडकबाट टाढाका गाउँहरुमा बजार तथा यातायातको असुविधाको कारण प्रसस्त जमीन भएरपनि किसानहरुले कम उत्पादन गर्दछन । कतिपय गाउँहरुमा सडक सुविधा भएरपनि बजारको दुरी टाढा भएको कारणले उत्पादीत बस्तु बजारसम्म पु¥याउन कठिनाइ छ । यस्तो अबस्था भएका स्थानहरुमा शित भण्डारको आवश्यक्ता पर्दछ ।
तरकारीको सुरक्षा मात्र नभएर बीउको जोहो गर्न समेत शित भण्डारको ठूलो भूमिका हुन्छ । हाल इलामको सदरमुकाममा निर्माणाधीन शित भण्डारबाट आलु तथा अदुवाखेति गर्ने किसानलाई उत्साह थपिएको देखिन्छ । यसरी नै दुध उत्पादन , तरकारी खेति तथा फलफुल खेतिलाई समेत थप उर्जा मिल्ने देखिन्छ । यसैले नगदेबालीको उत्पादन बढाउन र त्यसको बजारीकरण गर्न यातायातको साथै ठाउँठाउँमा शित भण्डारको ब्यबस्था हुनु आवश्यक पर्दछ । उन्नत बीउ बिजन, मलखादको समयमै उपलब्धता तथा किटनासक औषधीहरुको ब्यवस्था र त्यसको उचित प्रयोगबारे किसानहरुमा जानकारी हुन सकेमा उत्पादनमा गुणस्तरीयता ल्याउन सकिने थियो ।
कृषि सडकहरुको विकासले पनि कृषि उत्पादन वृद्धिमा सहयोग पुग्दछ । हाल स्थानीय क्षेत्रमा कृषि सडकको विकासमा स्थानीय निकायहरुले काम गरीरहेको देखिन्छ । तर यसको प्रभावकारीता भने खासै देखिएको छैन । यसको कारण विकास निर्माणमा देखिएको सरकारी उदासीनता नै हो । हिउँदमा दुखले मोटर चल्ने सडकहरुको स्याहार सम्भारमा ध्यान नपुग्नाले वर्षा यामसंगै गाउँ र शहरको सम्बन्धमा समस्या आउँदछ । यीनै समस्याको कारणबाट किसानले वर्षायाममा उत्पादित कृषिउत्पादनको उचित मुल्य प्राप्त गर्न सकिरहेका छैनन् । यसैले कृषि सडकको सवलीकरणबाट कृषि उत्पादनमा वृद्धि गराउँदै ग्रामीण किसानहरुको जीवनस्तर उठाउन प्रयास गर्नु आजको आवश्यक्ता हो भन्न सकिन्छ , साथै कृषिका विभिन्न नयाँ तरिकाहरुको खोजी गर्दै कृषिकै माध्यमबाट आर्थिक स्थितिमा सुधार ल्याउनु पर्ने हाम्रो बाध्यता भएकोले खाद्य बाली राम्रो नहुने स्थानहरुमा माटो र हावापानी सुहाउँदो खेति गरी बढी आय आर्जनमा लाग्दै आर्थिक जीवनमा सुधार ल्याउने कोशिस गरौं ।