धरान / प्रदेश नं १ को राजधानी धरानलाई बनाउन माग गर्दै धरानवासीहरुले रिले अनसन शुरु गरेका छन् । धरानलाई प्रदेश नं १ को राजधानी बनाऊ अभियान स्वतन्त्र समितिले भानुचोकस्थित घण्टाघरको पेटीमा पाल टाँगेर शनिबारदेखि रिले अनसन सुरु गरेको समितिका संयोजक एंव माओवादी केन्द्रका केन्द्रीय सदस्य आइन्द्र विक्रम बेघाले जानकारी दिए । अनसनमा विभिन्न राजनीतिक दल सम्बद्ध युवा, सामाजिक संघसंस्था र सर्वसाधारणहरूले पनि स्वेच्छिकरुपमा सहभागिता जनाएका छन् ।
समितिले अनसनस्थलमा प्रदेशसभा, मुख्यमन्त्री र मन्त्रालयको लागि धरानमा उपलब्ध भौतिक संरचना एवं पूर्वाधारहरूको तस्बिर समेत सार्वजनिक गरेको छ । धरान उपयुक्त हुने आधारसहित आफुहरु अभियानमा जुटेको राजधानी बनाउने अभियान्ता हिमाल लिम्बुले बताए ।
समितिले निर्वाचन सकिए लगत्तै धरानलाई राजधानी बनाउने अभियानमा विभिन्न दवावमुलक कार्यक्रम गर्दै आएको छ । सामाजिक संघसंस्थासँग छलफल, प्रधानमन्त्रीलाई ज्ञापन, क्षेत्रीय प्रशासकलाई भेटेर छलफल, आधारहरुबारे जानकारीलगायतका कार्यक्रम गरिसकेको छ । प्रत्येक शनिबार हुने धरान रनले ३ सय ४६ औं हप्तामा यसपाली प्रदेश राजधानीको माग गर्दै कार्यक्रम आयोजना गरेको थियो । स्वास्थ्य धरान अभियान संचालन गदै आएको धरान रनले गत शनिवार भने राजधनी धरानलाई बनाउने अभियान गरि करिव ४ सय धरानेहरुलाई दौडाएको थियो । एक सय भन्दा बढि सामाजिक संघ संस्थाहरुले राजधानी बनाउने वियाउमा एक्यबद्धता जनाएका छन् ।
ऐतिहासिकताको आधारमा पनि धरान राजधानी हुन पहिलो हक लाग्ने समितिको दावी छ । प्रशासनिक सुगमता, धार्मिक र साँस्कृतिकरुपमा पनि धरान उपयुक्त भएको धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले जानकारी दिईन ।
अन्य स्थानमा जमिन मात्र भएको तर धरानमा राजधानीका लागि संरचना नै तयारी अवस्थामा रहेको उनको भनाई छ । आफुहरुको माग सुनुवाई नहुदासम्म अनसन जारी राख्ने समितिले जनाएको छ ।
धरानमा यस्ता छन् पूर्वाधार
साता दिनअघि धरान उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरेर धरानलाई राजधानी बनाउने आधारहरु सार्वजनिक गरेको थियो ।
पत्रकार सम्मेलनमा उपप्रमुख भण्डारीले दिएको जानकारी अनुसार प्रदेशसभा सचिवालयको लागि धरान ८ स्थित सभागृह वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक वा पुर्नस्थापना केन्द्रलाई उपभोग गर्न सकिने छ ।
यी दुबै संरचनालाई प्रदेश सभाहलकोरुपमा पनि प्रयोग गर्न सकिने प्रस्ताव छ । सभागृहमा टेवलसहित राख्दा १ सय ५० जना सहजै अट्ने क्षमता छ । यी बाहेक बीपी प्रतिष्ठानकै अडिटोरियम हल र द सहारा हल ५ सय क्षमताको रहेको छ ।
प्रदेशसभाको सभामुख र उपसभामुखको निवासको लागि बीपी प्रतिष्ठानको मातहतमा रहेको निर्वाणा कन्ट्री क्लबलाई प्रस्ताव गरेको छ । प्रदेश प्रमुखको कार्यालयको लागि आन्तरिक राजश्व कार्यालय प्रस्ताव गरिएको छ ।
विकल्पको रुपमा धरान १५ मा रहेको चुम्लुङ भवन राखिएको छ । प्रदेश प्रमुखको निवासको लागि निर्वाणा कन्ट्री क्लब, प्रदेश मुख्यमन्त्रीको कार्यालयको लागि बीपी प्रतिष्ठानस्थित पुर्नस्थापना केन्द्र, आन्तरिक राजश्व कार्यालय र विकल्पमा चुम्लुङ हिमलाई अघि सारिएको छ ।
प्रदेश मुख्यमन्त्रीको निवासको लागि निर्वाणा कन्ट्री क्लब उपयुक्त हुने बताइएको छ । उक्त भवन प्रयोग गर्न ठूलो खर्च नपर्ने दावी गरिएको छ ।
यसैगरी, प्रदेशको मन्त्रालयहरूको लागि संघीय प्रहरी इकाई कार्यालय, नेपाली सेनाको ब्यारेक, सडक डिभिजनको कार्यालय, धरान ७ स्थित सिद्धिःनेवा परिषद, धरान १९ स्थित ब्रिटिश कम्युनिटी हल, धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघ, धरान ८ स्थित ताप्लेजुङ सुनसरी सरोकार समाजको भवन छ ।
यस्तै धरान १२ स्थित नेपाल नाजारत सोसाइटीको भवन, टेलिकमको भवन, धरान १६ स्थित मालपोत र नापी कार्यालय रहेको क्षेत्रीय कृषी विकास बैंकको भवन(२ वटा मन्त्रालय), धरान १५ स्थित क्षेत्रीय हावापानी कार्यालय रहेको छ ।
धरान १२ मै पब्लिक भवन, धरान १ स्थित विजयपुर अस्पतालको भवन, छाताचोकस्थित पुरानो अस्पताल, धरान ७ स्थित पुरानो कर कार्यालय, धरान १३ लाई प्रस्ताव गरिएको छ ।
सो प्रस्तावहरु नेपाल ससरकारलाई बुझाई सकिएको राजधानी अभियान स्वतन्त्र समितिले जनाएको छ ।