विराटनगर / प्रदेश १ प्रहरीले गुन्डाहरूको वर्गीकरण गरेर प्रोफाइल नै बनाई नियन्त्रण अभियान थालेको छ । प्रहरीले एक सय ३३ गुन्डाको सूची बनाएर ‘क’, ‘ख’ र ‘ग’ वर्गमा बाँडेको छ । प्रहरीले वर्गीकरण गरेका सबैको फोटोसहितको प्रोफाइल बनाएको जनाएको छ । प्रदेश १ प्रहरी प्रमुख डिआइजी केदारप्रसाद रिजालले ‘क’ वर्गका गुन्डालाई सुरक्षा चुनौतीका रूपमा लिएको बताए । उनले भने, ‘हामी क वर्गका गुन्डालाई छाड्नेभन्दा सजाय दिलाउने गरी पक्राउ गर्न चाहन्छौँ ।’

क वर्गका गुन्डाले चतुर्‍याइँपूर्वक अरूबाट अपराध गराउने हुँदा पर्याप्त प्रमाण जुटाएर मात्र पक्राउ गर्ने प्रहरीको योजना छ । उनीहरूले राजनीतिक आवरणमा काम गर्ने प्रहरीको भनाइ छ । प्रहरीले प्रोफाइल भने सार्वजनिक गरेको छैन । पक्राउ गर्ने क्रममा नै रहेका कारण तत्काल प्रोफाइल सार्वजनिक नगरिने डिआइजी रिजालले बताए । प्रहरीले राजनीतिक आवरण लिनेलाई क, स्थानीय नेता वा पहुँचवालाहरूको संरक्षण लिनेलाई ख र बाहुबलका आधारमा अपराध गर्नेलाई ग वर्गमा राखेको छ ।

प्रहरीको वर्गीकरणमा क वर्गमा ११ जनाको नामको छ । क वर्गका गुन्डा भने तराईका तीन जिल्ला मोरङ, सुनसरी र झापामा मात्र छन् । सबैभन्दा कम गुन्डा धनकुटामा छन् । धनकुटामा ग वर्गका एकजना मात्र छन् । डिआइजी रिजालले असारदेखि नै तीनमहिने गुन्डा नियन्त्रण अभियान थालिसकेको जानकारी दिए । नियन्त्रणमा लिइएका गुन्डालाई कानुनी कारबाही गरिने उनले दृढता व्यक्त गरे ।

सबैभन्दा धेरै सुनसरीमा
-प्रदेशका १४ जिल्लामध्ये प्रहरीको सूचीमा सबैभन्दा धेरै सुनसरीमा २३ गुन्डा छन् । सुनसरीमा ‘क’ वर्गका नौ, ‘ख’ र ‘ग’का सात–सातजना छन् । मोरङमा ‘क’का दुई, ‘ख’का चार र ‘ग’का ११ गरी १७ जना गुन्डा छन् । झापामा ‘क’का एक, ‘ख’का तीन र ‘ग’का नौ गरी १३ जना छन् ।

-पहाडी जिल्ला संखुवासभा र सोलुमा मात्र ‘ख’ वर्गका गुन्डा छन् । संखुवासभामा ‘ख’का दुईसहित १३ र सोलुमा ‘ख’का एकसहित १० जना छन् । तेह्रथुममा ११, भोजपुरमा १०, सोलुमा १०, संखुवासभा, इलाम र पाँचथरमा सात–सात, ताप्लेजुङमा ६, खोटाङमा पाँच, उदयपुरमा दुई र धनकुटामा एकजना छन् । नयाँ पत्रिकाबाट