यति बेला विभिन्न वडाहरुमा असारे विकासको बाढी आएको छ । अघिल्ला वर्षहरूमा अस्थिर राजनीतिलार्ई असारे विकासका लागि दोष दिइन्थ्यो । पन्छिन सविलो थियो । यो वर्ष त्यस्ता कुनै कारण छैन् । स्थानिय तहमा जनप्रतिनीधिहरु छन् । तर ११ महिनासम्म सुतेर बसेर अन्तिम महिना विकास गर्न स्थानीय तह कम्मर कसेर लगेको छ ।
स्थानीय तहहरुमा बजेट सक्न सबै तिर सडक निर्माणदेखि लिएर धमाधम तालिमहरु भईहरेका छन् । वडामा भएको विभिन्न तालिममा विहान दिउसो गरेर एउटै व्यक्ति सहभागी भएको दृष्य पनि देख्न पाईन्छ । सप्तकोशी नगरपालिकामा पनि यस्ता दृष्य देख्न पाईन्छ ।
आर्थिक वर्षको अन्त्य भएकाले खर्च गर्ने गति बढ्नु स्वाभाविकै हो तर असारे विकासको खर्च भने अत्यन्त अस्वाभाविक गतिमा बढ्छ । वडा अध्यक्ष तथा विचौलियाहरुको सेटिङमा कागजमा मात्र कार्यक्रम गरेर बजेट सक्ने काम समेत हुनु विडम्वना हो ।
सरकारले विनियोजित बजेटको विकास(पुजीगत) खर्चमा ११ महिनासम्म ५० प्रतिशत पनि खर्च गरेको हुदैन । सप्तकोशी नगरपालिकामा पनि यस्तै हालत रहेको छ । असार लागेपछि कागज मिलाएर सकेसम्म धेरै रकम खर्च गर्ने प्रचलन स्थिर सरकारमा पनि नरोकिनु दुर्भाग्य हो । सरकारकै नियम र नीतिसमेत उल्लंघन गर्ने गरी आर्थिक अराजकता बढ्कोप्रति सरकार अव गम्भीर हुनु पर्दछ । बाँकी रकम खर्च नभएर ठूलो क्षति हुदैन तर अनुचितरूपमा खर्च हुँदा अनियमितता र भ्रष्टाचार बढ्ने कुरामा सबै सरोकारवाला सचेत हुनु पर्दछ । संघीय संरचनामा बनेको स्थानीय तह बाढिचुढी खाने थलोको रुपमा विकसित हुनु हुदैन् । स्थानीय जनताले पनि नगरको काम प्रति चासो देखाएर खवरदारी गर्नु पर्दछ ।