काठमाडौँ / राष्ट्रियसभाका सबै सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा आज टुङ्गो लगाएको हो । 

संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोला प्रथाबाट छ वर्षको कार्यकाल प्राप्त गर्नेमा रमेशजङ्ग रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरवसुन्दर श्रेष्ठ र हरिराम चौधरी हुनुहुन्छ । 
त्यस्तै बिना पोखरेल, प्रमिलाकुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई, इन्दु कडरिया, नरपति लोहार, सिंहबहादुर विश्वकर्मा, प्रकाश पन्थ, महेशकुमार महरा, रामचन्द्र राई र विमला राई पौडेलको पनि पदावधि छ वर्ष कायम भएको छ । 
गोलाप्रथाद्वारा परशुराम मेघी गुरुङ, सुमनराज प्याकुरेल, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, चन्द्रबहादुर खड्का, खगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, रामनारायण बिँडारी, नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली, कविता बोगटी, तारादेवी भट्ट, खिमकुमार विक, चक्र स्नेही, रामलखन चमार, जीवन बुढा र अगम वान्तवा राईको पदावधि चार वर्ष कायम भएको छ । 
त्यस्तै हरिचरण सिवाकोटी, रमेशप्रसाद यादव, बलरामप्रसाद बाँस्कोटा, सुरेन्द्रराज पाण्डे, दुर्गाप्रसाद उपाध्याय, कालीबहादुर मल्ल, बद्रीप्रसाद पाण्डे, डा युवराज खतिवडा, सरिता प्रसार्इं, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली, खेमराज नेपाली, रामप्रित पासवान, राजकुमार कुँवर र वृशेषचन्द्र लालको गोलाप्रथा छनोट प्रणालीबाट दुई वर्ष पदाधिकारी कायम भएको छ ।  संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा ५९ सदस्यीय रहेको छ । 

 चिठ्ठामा पनि ठगिएका कांग्रेस नेताहरु 

कांग्रेसका १३ सदस्यमध्ये ७ सांसदको अवधि दुई वर्षमा नै सकिने भएको छ । राष्ट्रियसभामा दलको नेता रहेका सुरेन्द्रराज पाण्डे र प्रमुख सचेतक सरिता प्रसाई दुबैलाई २ वर्षको मात्र चिठ्ठा परेको छ । २ सांसदलाई चार वर्ष र बाँकी ४ सांसदलाई ६ वर्षे कार्यकालको चिठ्ठा परेको छ । राष्ट्रियसभामा हरेक दुई वर्षमा कार्यकाल सकिएका सांसदको पदमा चुनाव हुनेछ । तर, सबै चुनावमा हार पक्का जस्तै छ । किनकी एकल संक्रमणीय प्रणालीबाट चुनिएर आएका महिला र खुला सदस्यतर्फका सांसदहरुको कार्यकाल सकिएपछि पनि बहुमतीय आधारमा नै चुनाव हुनेछ । दलित र अपाङ्ग तथा अल्पसंख्यक सांसदको चुनाव भने बहुमतीय प्रक्रियाबाटै भएको हो । यसरी हेर्दा दुई वर्षपछि ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसका ६ जना सांसद मात्र हुनेछन् भने चार वर्षपछि चार जना मात्र रहने अवस्था आउनेछ । ७ जनालाई २ वर्षे कार्यकाल परेपछि सांसद वद्री पाण्डेले कांग्रेसलाई चिठ्ठाले पनि ठगेको प्रतिक्रिया दिए ।