तस्वीर कपीराइटGETTY IMAGES
दक्षिण एशिया - शीर खुर्मा
यो यस्तो विशिष्ठ परिकार हो जुन इद अल-फित्रका बेला भारत, पाकिस्तान, बांग्लादेश, नेपाल लगायतका क्षेत्र भर नै देख्न पाइन्छ।
शीर खुर्मा बनाउन पहिले सेवईलाई बाक्लो दुधमा पकाउने गरिन्छ। त्यसलाई फ्रिजमा राखेर चिस्याएपछि दाखकाजु र अलैंची लगायत बास्ना आउने मसला हालेर खाने गरिन्छ।
तस्वीर कपीराइटRICHARD LAUTENS
रुस- मान्टि
मान्टि नेपालमा प्रचलित मम जस्तै एकप्रकारको परिकार हो। यस्मा मुछेको पिठोमा भेंडाको मासु वा वीफको किमालाई पोको पारेर बफाएर पकाइन्छ र नौनीका साथ खाने गरिन्छ। यो क्षेत्र अनुसार नै फरक ढंगले तयार पारिने परिकार हो र रुसका मुस्लिमहरु इदका बेला मान्टि खाएर पर्व मनाउने गर्छन्। रुसमा कुल जनसंख्याको १५ प्रतिशत मुस्लिमहरु छन्।
तस्वीर कपीराइटGETTY
चीन: सान्जी
सान्जी एक परम्परागत परिकार हो जुन पिठोलाई बटारेर तयार पारिन्छ र यो चीनका झण्डै २ करोड ३० लाख मुस्लिमहरुमाझ एकदमै लोकप्रिय छ। गहुंको पिठोलाई चाउचाउ जस्तो आकारको बनाइ तेलमा तारेर यो परिकार तयार पारिन्छ। र यसलाई चुलिएको थुप्रो लगाएर प्रस्तुत गरिन्छ। कुरुमकुरुम गर्ने यो खानेकुरा चीनको शिनजियांग प्रान्तभरी नै पाइन्छ । त्यहां उईगर समुदायको सुपरमार्केटमा समेत यो परिकार बेच्न राखिएको हुन्छ।
तस्वीर कपीराइटGETTY IMAGES
मध्य-पूर्व: बटर कुकिज
यो बिस्कुट जस्तो कुकिजमा छोहडाको लेप र मिहिन पारेर काटिएको ओखर वा पेस्ता र चिनीको धुलो मिसाएर भरिएको हुन्छ। यो मख्खन जस्तो चिल्लो कुकिजको माग रमजानका बेला निकै हुने गर्छ र इदको पर्वका बेला यो मध्य-पूर्वभरी नै प्रशस्तै पाइन्छ। अरब विश्वमा यो परिकारको भिन्न, भिन्न नाम छ- सिरियामा मामुल, इराकमा क्लाइचा र इजिप्टमा काह्क।
तस्वीर कपीराइटGETTY IMAGES
इन्डोनेशिया: केटुपाट
कुकिज र अन्य परिकारका अतिरिक्त केटुपाट खाएर इद मनाउने चलन इन्डोनेशियाको वार्षिक प्रचलन हो। पामको रुखको पातमा भातलाई बेरेर यो परिकार पकाइन्छ।
यो खानेकुरा समान्यतया अन्य परिकारका साथ खासगरी ओपोर आयाम भनिने नरिवलका साथ पकाइएको कुखुराको मासुको तरकारीसंग खाने गरिन्छ। साम्बल गोरेंग केन्टांग भनिने कुखुराको कलेजो र आलु हालेर खुर्सानीको लेदोमा पकाइने तरकारीसंग पनि केटुपाट खाने गरिन्छ।
तस्वीर कपीराइटGETTY IMAGES
संयुक्त अधिराज्य: बिरयानी
युकेमा बिरयानी जस्तो परम्परागत परिकार इदजस्तो विशेष पर्वको रौनक नै हो। यो रंगीविरंगी चामल, मासु र हरियो तरकारीका साथ पकाइने मसालेदार परिकार हो। कांक्रो, बाबरी र दहीको रायताका साथ यसलाई प्रस्तुत गरिन्छ। युकेको जनसंख्याको पांच प्रतिशतभन्दा बढी दक्षिण एशियाली मूलका छन्।
तस्वीर कपीराइटGETTY IMAGES
सोमालिया: कम्बाबुर
सोमालियामा कम्बाबुर रोटी एकदमै लोकप्रिय छ। यो तात्तातो नै खाने गरिन्छ। दिनको जुनसुकै समयमा पनि यो रोटी खान सकिन्छ। यो रोटी धुलो चिनी र दहीका साथ खाने गरिन्छ। यस्तै प्रकारको रोटीलाई इथियोपियामा इन्जेरा भनिन्छ। वीवीसीबाट


















