हङकङ। याक्थुङ (लिम्बु) समुदायको मौलिक संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा ‘सिसेक्पा तङनाम’ उत्सव शुक्रबार सम्पन्न भएको छ।
हङकङस्थित चुम्लुङहिममा आयोजित कार्यक्रममा हङकङ नेपाली महासङ्घका अध्यक्ष नविन सुहाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो । उहाँले सिसेक्पा तङनामको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे धारणा राख्दै याक्थुङ समुदायको मौलिक पहिचान संरक्षण र पुस्तान्तरणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । लिम्बूभाषामा साउने सङक्रान्तिलाई ‘सिसेक्पा तङनाम’ भनिन्छ ।

कार्यक्रममा भगत सुब्बा, इन्द्र वनेम, हेम तवेवुङ, लक्ष्मी पङ्धाकलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सम्शेर तुम्बाहाङ्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा याक्थुङ समुदायका मौलिक परिकार तथा सांस्कृतिक परम्पराको पनि प्रदर्शन गरिएको थियो। सहभागीहरूले वाचिप्पा, किनेमा, याङबेन, सुकुटी, सिस्नुको तरकारी, फापर तथा कोदोका परिकार, तामा, विभिन्न अचार र थोङ्बा लगायतका परम्परागत याक्थुङ परिकारको स्वाद लिएका थिए।
आयोजकका अनुसार, यस्ता कार्यक्रमले याक्थुङ समुदायको भाषा, संस्कार, संस्कृति, परम्परागत खानपान र जीवनशैलीलाई युवा पुस्तासम्म पुर्याउँदै सांस्कृतिक पहिचान संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ। कार्यक्रममा हङकङमा रहेका याक्थुङ समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।




















