- देवेन्द्र कार्की / धरान
- केशु लामिछाने / काठमाडौंं
- विनिता कंडेल / चितवन
धरान / भोजपुरको आमचोक गाउँपालिका–९ का सागर राईको सानैदेखि लोकसेवा भिडेर नेपालमा जागिर खाने सपना थियो । इलेक्ट्रिक इञ्जिनियरिङको अध्ययन सकिँदै गर्दा उनको सपना बदलियो । आर्थिक अवस्था सामान्य भएका उनी नेपालको सरकारी जागिरले परिवार नधान्ने लागेपछि पढाइ सकेर २०८० फागुनमा दुबई गए । त्यही सीपका कारण राईले सजिलै इलेक्ट्रिक कम्पनीमा जागिर पाए । अहिले उनी अरूलाई काम लगाएर मासिक नेपाली २ लाख रुपैयाँ कमाउँछन् ।
हातमा सीप हुनेले विदेशमा राम्रो काम र सेवा सुविधा पाउँछन् भन्ने एउटा उदाहरण राई पनि हुन् । पछिल्लो समय सीपयुक्त युवाहरू वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेर गएको छ । दक्षताअनुसार राम्रो काम पाउने भएपछि उनीहरूले आफ्नो परिवारको जीवनस्तरमा पनि सुधार ल्याएका छन् । विगतमा कुनै सीप नै नसिकी धेरै वैदेशिक रोजगारीमा जाँदा जोखिमसँगै समस्या पनि बढी झेल्नुुपथ्र्यो । तर पछिल्लो समय दक्ष कामदारहरू विदेशिन थालेपछि उनीहरूले आफ्नो परिवार मात्र सुधारेका छैनन्, नेपाल भित्रिने रेमिटेन्स पनि बढ्दै गएको छ ।
पुनः श्रम स्वीकृति लिएर जानेको तुलनामा नयाँ श्रमिक दक्ष भएर जानेको सङ्ख्या बढ्दै गएको वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदी बताउँछन् । पछिल्लो वर्षमा पुनः श्रम स्वीकृति लिएर जानेले पनि सीप परीक्षण गरेर जाने गरेको पाइन्छ । सरकारले पनि सीप सिकेर कामदारलाई पठाउनका लागि प्राथमिकता दिइँदै आएको छ । विदेश जानेमध्ये उच्च दक्ष, पेसागत कर्मचारी, दक्ष र अर्धदक्षको सङ्ख्या विगतमा भन्दा निकै उच्च रहेको छ । उच्च दक्ष जनशक्तिका रूपमा नेपालबाट डाक्टर, इन्जिनियर र चार्टर्ड एकाउन्टेन्टजस्ता व्यक्तिहरू निकै विदेशिएको विभागले जनाएको छ ।
विगतमा महिलाहरू घरेलु श्रमिक, केयर गिभरका रूपमा मात्र जाने गरेका थिए । तर पछिल्लो समय नर्सिङ, डिपार्टमेन्ट, क्यासियरका रूपमा काम गर्न जानेहरूको सङ्ख्या पनि बढेको वैदेशिक रोजगारमा गएका श्रमिकहरूको अधिकारका लागि वकालत गर्दै आएकी आप्रवासी मामिलाविज्ञ सरु जोशीले बताइन् । ‘विगतमा अदक्ष कामदार मात्र विदेशिँदा उनीहरू उच्च जोखिमसँगै उचित पारिश्रमिक नपाउने, भनेजस्तो काम नपाउने समस्या थियो । पछिल्लो समय सीप सिकेर दक्ष कामदार विदेश जान थालेपछि उनीहरूको विदेशको काम र कमाइ सहज भएको छ । यो सकारात्मक पक्ष हो’–आप्रावासी विज्ञ जोशीले भनिन् ।
चालु आर्थिक वर्ष २०८०/०८१ को ७ महिनामा दक्ष कामदारको रूपमा विदेशिने कामदारको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार विगत ७ महिनामा ५२ हजार ९ सय ५६ जना नेपालीले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । त्यसमध्ये दक्ष व्यावसायिक कामदार नेपालीको सङ्ख्या ४८ हजार ३ पुगेको छ ।
पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा सीप सिकेर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या क्रमिकरूपमा बढेको देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/ ०८१ मा २१ लाख ४२ हजार ६ सय १८ जनाले श्रम स्वकिृत लिएका थिए । तीमध्ये १६ लाख ९३ हजार ७ सय ४२ जना सीपयुक्त रहेका थिए भने ४ लाख ४८ हजार ८ सय ७६ जना अदक्ष अर्थात् सीपविहीन कामदारले श्रम स्वीकृति लिएका थिए ।
पछिल्ला वर्षमा शिक्षित र तालिम लिएका युवा विदेश जाँदा पनि सीप परीक्षण गरेर मात्र जाने प्रवृत्तिको विकासले उनीहरूले गन्तव्य मुलुकमा राम्रो काम पाउँदै आएका छन् । तीन वर्षको तथ्याङ्कक हेर्दा पनि दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या २५ प्रतिशतले बढेको विभागले जनाएको छ ।
१० वर्षको अवधिमा कामदारको प्रवृत्तिमा देखिएको फरक
आर्थिक वर्ष २०७०/०७१ मा ४ लाख ९७ हजार ८ जना नेपाली वैदेशिक रोजगारका लागि विदेश गएका थिए । तीमध्ये दक्ष, अर्धदक्ष, उच्च दक्ष र व्यावसायिक गरी १ लाख १८ हजार ३ सय ९१ जना विदेश गएका थिए । यी कामदार भनेका शैक्षिक योग्यता भएका अथवा सीपयुक्त जनशक्ति हुन् । तर उक्त अवधिमा अदक्ष अर्थात् कुनै सीप नभएका ३ लाख ३१ हजार ३ सय १७ जना कामदार विदेश पुगेको वैदेशिक रोजगार विभागको तथ्याङ्क रहेको छ ।
१० वर्षअघि ४ जना विदेश जाँदा ३ जना अदक्ष जनशक्ति र १ जना मात्र दक्ष जनशक्ति विदेश काम गर्न जाने गरेका थिए । तर हाल आएर ४ जना विदेश जानेमा ३ जना दक्ष जनशक्ति र १ जना मात्र अदक्ष जनशक्ति विदेश गएको पाइन्छ ।
विदेशमा सीपविहीन जाँदा दुःख पाइने, भनेजस्तो काम नपाउने, अरूबाट हेपिएर काम गर्नुपर्ने भएपछि नेपाली कामदारहरू पनि दक्ष र सीपयुक्त भएर विदेश जान थालेको पाइएको आप्रवासन विज्ञ जोशीले बताइन् ।
विशेषगरी नेपाली कामदारहरू मलेसियालगायत खाडी मुलुकहरूमा घर, सडक, पुल, रङ्गशाला, रेलमार्ग बनाउनेदेखि फ्याक्ट्री, होटल, औद्योगिक क्षेत्रलगायतमा जाने गरेका छन् । विगतमा नेपालीहरूले प्रायः आउट डोरमा बढी काम गर्नुपथ्र्यो । जुन काम गर्न अप्ठेरो र जोखिमपूर्ण मानिन्छ ।
तर पछिल्लो समय धेरै कामदारहरू इन्डोर काम गर्ने गरेका छन् । सन् २००५ मा नेपाली कामदारको अवस्था र अहिलेको अवस्थामा निकै फरक आएको कतारमा २० वर्षदेखि काम गर्दै आएका प्रवासी नेपाली मञ्च कतारका उपसचिव खेमराज सुवेदी बताउँछन् । ‘काम सिकेर यहाँ आउनेको सङ्ख्या बढेको छ । ती कामदारले अरूबाट दबिएर, हेपिएर काम गर्नु पर्दैन । सहज वातावरणमा काम गर्न सक्छन्’–सुवेदीले भने ।
विभागले जारी गरेको श्रम स्वीकृतिसम्बन्धी विवरणअनुसार आर्थिक वर्ष २०८०/०८१ मा कुल ७ लाख ४१ हजार २ सय ९७ जनाले श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति लिएका थिए । त्यसमध्ये दक्ष कामदारको सङ्ख्या ५ लाख ३२ हजार १ सय २३ रहेको छ । उच्च दक्ष व्यावसायिक कामदारको सङ्ख्या ३ हजार ५ सय ४ रहेको छ । अदक्ष कामदारको सङ्ख्या १ लाख ४५ हजार ५ सय ४७ मात्र रहेको छ । त्यसअघिको दुई आर्थिक वर्षमा पनि सीप सिकेर विदेशिनेको सङ्ख्या बढी थियो ।
तराईका जिल्लाबाट विदेशिनेको सङ्ख्या उच्च
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको विवरण भौगोलिक दृष्टिले पनि भिन्न छ । पहाडी जिल्लाहरूभन्दा तराईका जिल्लाहरूमा वैदेशिक रोजगारीको चाप उच्च बढेको पाइन्छ । गत दुईवर्षको तथ्याङ्कमा सबैभन्दा धेरै धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएकामध्ये धनुषाबाट सबैभन्दा धेरै ३९ हजार १ सय ७ छन् । यस्तै दोस्रोमा झापाबाट ३४ हजार ३ सय ६२ ले स्वीकृति लिएको विभागको तथ्याङ्क छ । पछिल्लो तथ्याङ्कअनुसार श्रम स्वीकृति लिएर नेपालीहरू कामको खोजीमा १ सय ४९ वटा मुलुक पुुगेका छन् ।
यो तथ्याङ्कले के देखाउँछ भने तराईका जिल्लाहरूबाट वैदेशिक रोजगारीमा जानेहरू बढी छन् । यस तथ्याङ्कले वैदेशिक रोेजगारीको प्रवृत्तिमा स्थानीय आर्थिक र सामाजिक कारकहरूले पनि महत्वपूर्ण भूमिका खेलेको वैदेशिक रोजगारीमा भएका श्रमिकहरूका विषयमा लामो समयदेखि अध्ययन गर्दै आएकी आप्रवासन मामिलाविज्ञ सरु जोशी बताउँछिन् । आर्थिक हिसाबले पछाडि परेका समुुदायका व्यक्तिहरू तराईका जिल्लाबाट बढी रोजगारीमा जानुुपर्ने बाध्यता रहेको जोशीको भनाइ छ ।
वैदेशिक रोजगारमा सुरक्षा चुनौती
इजराल–प्यालेस्टाइन द्वन्द्वका कारण इजरायलमा रहेका कामदारहरूलाई सम्बन्धित देशहरूले फिर्ता बोलाएका छन् । तर उक्त समयमा सरकारले २०८० असोजमा “जी टू जी” (सरकार सरकारबीचको समझदारी) प्रणालीमार्फत् इजरायलमा ८ सय जना केयर गिभरमा श्रमिक पठाउने निर्णय गरेको थियो । जिफन्टलगायतका सङ्घ–संस्थाले श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न ध्यानाकर्षण गराएपछि सरकारले उक्त निर्णयलाई कार्यान्वयन नगरेको नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का केन्द्रीय सदस्य भीमज्वाला राई बताउँछन् । जोखिमपूर्ण मुलुकहरूमा सरकारले श्रम स्वीकृति नै रोक्नुपर्ने राईको भनाइ छ ।
व्यक्तिगत माध्यमबाट जानेहरूमा सुरक्षा जोखिम बढी
नेपालमा वैदेशिक रोजगारीको प्रबन्ध र श्रमिकहरूको सुरक्षासँग सम्बन्धित विषय पनि गम्भीर बन्दै गइरहेको छ । विगत केही वर्षदेखि एजेन्सीमार्फत् विदेश जाने श्रमिकहरूको सङ्ख्या स्थिर थियो । तर पछिल्लो समय व्यक्तिगत माध्यमबाट विदेश जाने श्रमिकहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ ।
विभागका अनुसार गएको ५ वर्षमा व्यक्तिगत माध्यमबाट २ लाख पाँच हजार ९ सय ४५ जना रोजगारीमा गएका छन् । यो सङ्ख्या बर्सेनि बढ्दो छ । यस्तै एजेन्सीमार्फत् पाँच वर्षमा १३ लाख २ हजार ९ सय १४ जना गएका छन् ।
श्रमिकहरू एजेन्सीमा निर्भर रहन चाहँदैनन् र त्यस्तो एजेन्सीले आफूलाई समस्यामा परेका बेला कुनै जिम्मेवारी लिन नसक्ने डरले गर्दा उनीहरूले स्वायत्त माध्यमलाई रोज्न थालेका जानकारहरू बताउँछन् । आप्रवासन मामिला विज्ञ जोशीका अनुसार, व्यक्तिगत अर्थात् आफन्तका माध्यमबाट जाँदा कम खर्चिलो र सहज हुने भएकाले तथ्याङ्क बढ्दो देखिएको हो ।
ब्लाष्ट दैनिकबाट