धरान । प्राथमिक तहका विद्यार्थीलाई प्राेत्साहान गर्न आयोजना गर्दै आएकाे १९ औ अम्वर ललित डिपो कप पुस १२ गते देखि सुरु हुने भएको छ ।
कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने शुक्रवार पत्रकार सम्मेलन मार्फत आयाेजकले जानकारी गराएको छ । पुस १२ गते देखि १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताका उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दास्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । शिक्षासंगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागिता गराई उनिहरुमा भएको प्रतिभालाइ प्रोत्साहन गर्नलाई प्रतियोगिताको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन अम्वरवहादुर लिम्वुले जानकारी दिनु भयाे । प्रतियोगिताको आयोजनाले विद्यालयहरुमा आपसी भाइचारा समेत वढ्ने अध्यक्ष लिम्वुले बताउनु भयाे । अम्वर ललित कप २०६१ साल देखि सुरु भएको डिपो क्याम्पस प्रमूख राजकुमार राईले जानकारी दिनु भयाे । लकडाउनको वेला दुई संस्करण प्रतियागिता रोकिए वाहेक प्रतियोगिता निरन्तर सम्पन्न भईरहेको उहाँले बताउनु भयाे ।
दिलकुमार प्लेट च्याम्पियन
अम्वर ललित डिपो कपको पहिलो चरणमा पराजित टिमहरु विच दिलकुमार प्लेट च्याम्पियन कप हुनेछ । पहिलो चरणमा पराजित ८ टिमले प्लेट च्याम्पियनका लागि भिड्नेछ ।
प्लेट च्याम्पियनका विजेतले नगद ३ हजार १ सय ११ रुपैया र उपविजेताले २ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । डिपो कपको पहिलो चरणका खेलहरु सकिएपछि प्लेट च्याम्पियनका खेलहरु सुरु हुनेछ । प्रतियोगिताका सम्पुर्ण खेल धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा हुनेछ ।
पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समिति सदस्य एवं प्रतियोगिता संयोजक दिपवहादुर राई, सदस्य सुर्यपन्धाक लिम्वु, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई लगायतको उपस्थिति रहेको थियो ।