विराटनगर । भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर प्रदेश रहेको मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुभएको छ । नेपालकै होचो क्षेत्र झापाको केचनाकबलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमालमध्ये ५ वटा कोशी प्रदेशमा रहनुले पनि कोशी प्रदेशको सम्भावना उच्च रहेको उहाँको भनाइ छ । मुख्यमन्त्री कार्कीले भन्नुभयो विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमाल मध्ये ५ वटा मकालु, लोत्से, कञ्चनजंघा र कुम्भकर्ण हिमालले विश्वका पर्यटकहरुको ध्यान आकृष्ट गरेको छ । पाथिभरा, बराहक्षेत्र र हलेसी, खुवालुङदेखि  माङ्सेबुङ, फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ जस्ता ऐतिहासिक र धार्मिक सम्पदाहरुले हाम्रो सामाजिक र धार्मिक विविधतालाई उजागर गरेको छ ।

पर्यटन प्रर्वद्धन गरी हाम्रो राष्ट्रिय पूँजी विकास गरेर “संवृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षालाई पुरा गर्न सकिने उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले पर्यटन प्रर्वद्धनका लागि कोशी प्रदेश सरकारले स्थापनाकाल देखि नै काम गरिरहेको बताउँदै भन्नुभयो यसका लागि प्रदेशको श्रोत र साधनले भ्याएसम्म पर्यटकीय गन्तव्यहरुको निर्माण गर्ने र प्रचार प्रसार गर्ने काम पनि सुरु गरेको छ ।  

 उहाँले  संघीय सरकार र स्थानीय सरकारहरुसँगको समन्वय र सहकार्यमा प्रदेशको पर्यटनलाई अगाडि बढाउन चाहेको उल्लेख गर्दै पर्यटन प्रर्वद्धन नीजि क्षेत्रको साझेदारी र हातेमालो बिना सम्भव नरहेको बताउनुभयो । कोशी प्रदेशको संवृद्धिका लागि पर्यटन विकासमा अगाडि बढ्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।  

“पर्यटन न्याय र शान्ति” भन्ने मुल नाराका साथ आज विश्व पर्यटन दिवस मनाइँदै छ ।