धरान /  धरानमा पहिलो पटक ठूलो पुरस्कार राशीको खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धरान ब्याडमिन्टन क्लबले यही असोज १७ गते देखि प्रतियोगिता आयोजना गर्न लागेको हो । 

प्रतियोगीताका खेलहरू धरान १३ स्थित अमर सेवा समाजको कभर्डहलमा सञ्चालन हुने आयोजकले विहीबार पत्रकार सम्मेलन गरि जनाएको छ ।  क्लवका अध्यक्ष टंकबहादुर लिम्बुले ३ दिन सम्म चल्ने प्रतियोगितामा देश भरीबाट २ सय टिमले सहभागीता जनाउने बताउनु भयो । प्रतियोगितामा तीन वटा विभागीय टिमको समेत सहभागीता हुने उहाँले जानकारी दिनुभयो । 

खेलको माध्यमबाट आपसी भाइचारा, सद्भाव वृद्धि, बन्धुत्व र आत्मीयताको विकासका साथै धरानको खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लवका सहल्लाकार खगेन्द्र मेयाङबोले जानकारी दिनु भयो । 

‘प्रतियोगीताहरु आयोजना हुन नसक्दा युवा प्रतिभाहरू पलायन भई समक्ष खेलाडी उत्पादनमा कमी आएकाले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनु भयो । 

प्रतियोगिताका खुल्ला पुरुष डबलतर्फका विजेता जोडीलाई १ लाख १५ हजार नगद पुरस्कार  राखिएको छ । प्रतियोगिताको उपबिजेताले ५५ हजार नगद, तेस्रो पुरस्कार ३० हजार सहित मेडल र प्रमाणपत्र रहेको छ । मोफसलको प्रतियोगितामा यो पुरस्कार राशी उच्च हो । यस अघि संखुवासभामा भएको प्रदेश स्तरीय व्याटमिन्टन प्रतियोगितामा २ लाख माथिको पुरस्कार राशी राखेर प्रतियोगिता गराइएको थियो । 

यस्तै खुल्ला भेट्रान्स ४५ प्लस, सुपर भेट्रान्स ५५ प्लस र लेडिज डबल्स, मिक्स डबलका विजेताले ६५ हजार, उपबिजेताले ३३ हजार र तेस्रो हुनेले ११र११हजार सहित मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा राष्ट्रिय रेफ्री तथा कोच केदार धिमाल प्रमुख निर्णायक रहने बताइएको छ । टिम दर्ता शुल्क खुल्ला मेन्स डबल, भेट्रान ४५ प्लस, सुपर भेट्रान ५५ प्लसका प्रतियोगीका लागि ३ हजार रुपैयाँ, मिक्स डबल २५ सय र  खुल्ला लेडिज डबलका प्रतियोगीका लागि २ हजार रुपैयाँ निर्धारण गरिएको धरान ब्याडमिन्टन सङ्घले जनाएको छ ।

जुनियर खुलाडीहरुलाई प्रतियोगितामा समेट्न संघले शुक्रबार र शनिवार वि लेभल र सि लेभलका टिमहरुको प्रतियोगिता गराउने भएको छ । विजेतालाई नगद ३० हजारको पुरस्कार राशी राखिएको आयोजकले जनाएको छ । 

प्रतियोगितामा करिव २२ लाख भन्दा बढी खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगितामा काेशी प्रदेश खेलकुद परिषदले ८ लाख, धरान उपमहानगरपालिकाले १ लाख ५० हजार, विभिन्न वितिय संघ संस्था र स्पोन्सरबाट रकम संकलन गरिएको आयोजकले जनाएको छ ।