धरान । धरान  उपमहानगरपालिका वडा नम्बर ६ मा पर्ने पानवारीमा ‘पानवारी सतवार्षिकी महोत्सव २०८०’ हुने भएको छ । 

यहाँ बस्ती बसालिएको सय वर्ष पुगेको अवसर पारेर उक्त सतवार्षिकी महोत्सव गर्न लागिएको हो । महोत्सव यही फागुन २६ गतेदेखि चैत २ गते सम्म पानवारी स्थित सरस्वती मार्गमा हुने भएको छ । 

सयपत्री व्याइज युनियन क्लब र ६ नम्बर वडा कार्यालय धरानको संयोजनमा उक्त महोत्सव हुने भएको आयोजक क्लवका अध्यक्ष एसपजंग रुम्दालीले बताउनु भएको छ । उहाँका अनुसार पानवारीको इतिहासलाई थप चिनारी गराउनको लागि पनि महोत्सवले थप सहयोग मिल्ने छ । ‘पानवारी वसोवासको आधारले सय वर्ष पुगेको छ । इतिहासलाई हामी सम्झँदैछौ । जस्ले गर्दा अहिलेको पुस्तालाई जानकारी होस् र थप चिनारी पनि गराउन एतिहासिक महोत्सवको आयोजना गरेका हौं ।’, रुम्दालीले भन्नु भयो, ‘महोत्सवलाई सफलता वनाउनको लागि सम्पुर्ण महानुभावहरुलाई निमन्त्रण समेत गर्दछौ ।’ 

महोत्सवकै अवसर पारेर कोशी प्रदेश स्तरीय छैंठौ भलिवल प्रतियोगिता पनि हुने भएको छ । भलिवल प्रतियोगितालाई क्लवले निरन्तर गर्दै आएको छ । उक्त प्रतियोगितामा विजयी हुने टिमलाई १ लाख रुपैयाँ र ३५ तोला चाँदीको रनिङ शिल्ड  प्रमाण पत्र र उप विजेतालाई नगद  ५० हजार र प्रमाण पत्र प्रदान गरिने क्लवका महासचिव केदार वस्नेतले वताउनु भएको छ । 

महासचिव वस्नेतका अनुसार रस्सी तान, रोटेपिङ, नाउ र ड्रागन, स्थानीय उत्पादन र सहुलियत बजार, दैनिक साँझ राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती, कविता तथा नृत्य प्रतियोगिता, झाँकी प्रदर्शनी र साँस्कृतिक र्याली साथै निशुल्क स्वास्थ्य शिविरलगायतका अन्य आकर्षण कार्यक्रमहरु पनि महोत्सव अवधिभरी हुने बस्नेतले जानकारी दिनु भयो । 

पानवारी वसोवासको आधारले सय वर्ष पुगेको छ । यो स्थान कृर्षी उर्वरभुमि पनि हो । यहाँ उत्पादन हुने पानमारा मन्सुली चामल अहिले पनि ब्राण्ड रहेको छ । साविकको पाँचकन्या गाविस अन्र्तगत वडा नम्बर १, २ र ३ लाई समायोजना गरेर धरान उपमहानगरपालिका अन्र्तगत वडा नम्बर ६ मा पानवारी पर्दछ । पूर्वमा मोरंङ जिल्लाको केरावारी गाउपालिका सम्म सिमना जोडिएको छ । सुनसरी क्षेत्र नम्बर १   का सांसद तथा तत्कालिन पाँचकन्या गाविसका पूर्व अध्यक्ष रमेश कुमार वस्नेतले अग्रजहरुबाट जानकारी पाए अनुसार वि.सं १९७०–८० को दशकदेखि पानवारी आवादीको हिसावले वसोवास शुरु भएको वताउँनु हुन्छ । उहाँले भन्नु भयो, ‘ठ्याक्कै हामीसँग लिखत प्रमाण त छैन, तर अग्रजहरुको भनाईलाई मान्ने हो भने हालको धरान ४ मा पर्ने हर्दिया, तेलनपुरका मगरहरु २४ क्षेत्र लगायत पूर्वी पहाडी जिल्लाबाट गएर वासोवास शुरु गरेको भन्ने इतिहाँस पाइन्छ ।’

हाल आएर पानवारी सहरउन्मुख हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मदनभण्डारी राजमार्ग पानवारी हुँदै जाने भएकाले पनि थप विकासको अपेक्षा पानवारीवासीले गरेका छन् ।