धरान / २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन २६ गतेदेखि धरानम हुने भएको छ ।

आयोजक धरान फुटबल क्लबले बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै फागुन २६ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको छ । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लबसहित ८ वटा क्लब सहभागी हुने  क्लवका महासचिव नविन राईले जानकारी दिनु भयाे । सहभागी टिममा लिग च्याम्पियन चर्च ब्वाईज, थ्रीस्टार क्लब, धरान फुटबल क्लब, एनआरटि काठमाण्डौं, त्रिभुवन आर्मी क्लब, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ र भारतीय क्लब युके एफसि रहेको उहाँले जानकारी दिनु भयाे । 

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाश र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछ भने सर्वाधिक गोलकर्ताले ३५ हजार नगद पाउने अध्यक्ष प्रताप तामाङले बताउनु भएकाे छ ।

क्लबले टिकट काटेर प्रतियोगितालाई सहयोग गर्न आग्रह पनि गरेको छ । साथै, सरकारका निकायहरु, स्थानीय निकाय, सार्वजनिक व्यक्तित्व, संघसंस्था, राजनैतिक दलहरुलगायतलाई सम्मान स्वरुपम उपलब्ध गराउनुपर्ने पास र आर्थिक सहयोग गर्ने दाताबाहेक अन्य पास उपलब्ध नगराउने पनि प्रष्ट पारेको छ ।  प्रतियाेगितालाई एउटा उत्सवकाे रूपमा मनाउन सबैलाई अध्यक्ष तामाङले आग्रह गर्नु भयाे ।

धरान उपमहानगरपालिका संयोजक रहेको प्रतियोगितामा ७७ लाख ६० हजार आम्दानी हुने र ६६ लाख ५५ हजार खर्च हुने आयोजक क्लबको अनुमान छ । आर्थिक मन्दी र मदिराजन्य उत्पादनले प्रायोजन गर्न नपाउने सरकारको नीतिले प्रतियोगिता आयोजनामा ठुलो असर पुगेको आयाेजकले जनाएकाे छ । प्रतियागितालाई पारदर्शी बनाउन प्रतियोगिता सकिएको एक महिनामै आयव्यय सार्वजनिक गर्ने पनि उहाँले प्रतिवद्धता जनाउनु भएकाे छ ।