धरान / धरानको व्यापार व्यवसाय प्रर्वद्धन गर्ने उद्देश्यले आगामी फागुन ११ गतेदेखि २३ गतेसम्म सुनसरी उद्योग बाणिज्य संघ धरानले धरान एक्स्पो २०८० आयोजना हुने भएको छ । 

धरान १६ स्थित रंगशालाको दक्षिणमा रहेको खाली जग्गामा धरान एक्स्पोको दोश्रो संस्करण हुन लागेको हो । गत बर्ष पनि सोही स्थानमा एक्स्पो आयोजना भएको थियो । एक्स्पोमा कृषि, पर्यटन, कला सँस्कृति, शिक्षा, खेलकुद तथा औद्योगिक व्यापारको प्रर्दशनी हुने आयोजक संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार एक्स्पोमा विभिन्न क्षेत्रका १५० वटा स्टल राखिने छ । आन्तरिक उत्पादनको व्यापारिक प्रर्वद्धन गर्ने तथा निकासी प्रर्वद्धनमा पनि योगदान पुर्याउने लक्ष्य रहेको एक्स्पोमा उद्योगी, व्यवसायीहरुको उत्पादाको प्रर्दशनी तथा बिक्री कक्ष राखिने छ । 

एक्स्पोमा करिब ५ लाख दर्शकहरुले अवलोकन गर्ने र १६ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । आम उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तुहरु, औद्योगिक सामग्रीहरु, सवारी साधनका विभिन्न उत्पादनहरु, कृषिजन्य सामग्रीहरुका साथै पाकिस्तान, वंगलादेशका छाला तथा गार्मेन्ट्सका वस्तुहरु पनि सुपथ मुल्यमाम एक्स्पोमा उपलब्ध हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

एक्स्पो अवधिमा धरान र आसपासको धार्मिक, साँस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरुको साथै शैक्षिक केन्द्र, खेलकुदका पूर्वाधारहरुको पनि प्रर्वद्धन गरिने आयोजकले जनाएको छ । 

यस्तै, रोटेपिङ, रेलगाडी, नाउ, जम्पिङलगायत बालबालिका रमाउने खेलहरु, धरान आइडियल तथा लोकनृत्य प्रतियोगिता, निकासी योग्य वस्तु सम्बन्धी गोष्ठी, आर्थिक विश्लेषणका लागि कार्यशाला, पर्यटकीय भ्रमण, हाइकिङ, वर्ड वाचिङ, एक गाउँ एक उत्पादनका बस्तुहरुको प्रर्दशनीलगायत पनि एक्स्पोको आकर्षण हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।  

एक्स्पोमा कृषि उत्पादनलाई सहुलितयमा स्टल उपलब्ध गराउने आयोजकले जनाएको छ । होटल जस्ता पाँच तारे होटल, केएफसि र पिज्जा हटको पनि स्टल हुनेछ भने एक्स्पोमा रहने स्टलहरुको विमा पनि गरिने आयोजक संघले जनाएको छ । एक्स्पोमा बिहान १० बजेदेखि ४ बजेसम्म प्रवेश निःशुल्क हुनेछ । त्यसपछि भने कलाकारहरु हेरिकन १०० देखि २ सय रुपैयासम्म प्रवेश शुल्क लिइने पनि आयोजकको भनाई छ । हरेक साँझ सांगीतिक, सास्ँकृतिक कार्यक्रम एक्स्पोमा हुनेछ ।एक्स्पो अवधि फागुन २३ गते सम्पन्न भएपनि २४ गते सोही स्थानमा गंगा वरदान सहयोग साँझ पनि आयोजना हुने र उक्त दिन संकलन भएको रकम सबै गायक वरदानको लागि कोष स्थापना गर्ने संघले जानकारी दिएको छ ।