- रमेश बस्नेत
मदन भण्डारी राजमार्ग (चुरे राजमार्ग) नेपालको निर्माणाधीन राष्ट्रिय राजमार्ग परियोजना हो । यो मुलुकको गौरवको आयोजना पनि हो । यो राजमार्ग नेपालको पूर्वी सीमा (मेची नदी) देखि चुरेभावर तथा भित्री मधेश छिचोल्दै पश्चिमी सिमा महाकाली नदीसम्म परिकल्पना गरि २०७५ सालदेखि नेकपा एमालेका अध्यक्ष तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको राष्ट्रिय योजना हो । यो करिव १२ सय किलोमीटर लामो रहेको छ ।
यो राजमार्ग इलामको पाटापुरबाट सुरु भई झापाको बाहुण्डाँगी, शान्तिनगर, चुलाचुली, पानवारी, धरान, चतरा, गाईघाट, कटारी, सिन्धुलीमाडी, हेटौँडा, गैडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास सिमलटारी, प्युठानको मच्छी, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बडिचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुडा हुँदै रुपालसम्म पुगेको छ । यो राजमार्ग २०७५ जेठ ६ गते नेपाल सरकारले स्वीकृत गरेको थियो । जेठ ६ गते आइतबार रात छिप्पिसकेपछि सकिएको मन्त्रिपरिषद् बैठकले चुरे र भित्री मधेसका उपत्यकालाई जोड्ने गरी नयाँ राजमार्ग निर्माण गर्ने निर्णय र्गयो । यो रात ऐतिहासिक थियो । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बनाइएको यो राजमार्गले पूर्वको झापालाई पश्चिमको डडेलधुरासँग जोडेको छ । मध्यपहाडी लोकमार्ग र पूर्वपश्चिम राजमार्गको बीचमा बन्ने यो राजमार्गले चुरे आसपासका क्षेत्रलाई समेटेका छ । यो सडकले भित्री मधेससहित चुरे क्षेत्रका जिल्लाहरुलाई विकासको नयाँ ढोका खोल्ने काम गरेको छ ।
सरकारको यो निर्णयलाई स्वागत गदैं जेठ ८ गते राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारको नीति तथा कार्यक्रममा यो महत्वकाक्षी योजना अघि सार्नु भयो । जस अनुसार आ.ब. २०७५/७६ को बजेटमा समेत यस परियोजनाका लागि ४ अर्ब ५० करोड रूपैयाँ रकम विनियोजन गरिएको थियो । हाल राजमार्गको धरान देखि हेटौँडा सम्मको करिव ३०० कि.मी. खण्ड निर्माण लगभग सकिएको छ । धरानदेखि बाहुडागीसम्मको १३१ किमी धमाधम निर्माणको चरणमा रहेको अवस्था छ ।
विकास निर्माण आकस्मिक ज्वारभाटा झै हुँदैंन क्रमिक रुपमा हुँदैं जाने हो । तत्कालिन सरकारले यो परियोजना सुचारु गर्नु भन्दा पहिले यो योजनाका लागि कोशी प्रदेशका नागरिकको अहम भूमिकालाई विर्सनु हुँदैंन् । त्यस बेला उदयपुरदेखि इलामसम्मको सडक विस्तारका लागि विशेष गरेर पूर्व जनप्रतिनीधि र तत्कालिन जनप्रतिनीधिहरुले ठूलो सघर्ष गरेको कुरा ओझेलमा पार्नु हुदैंन् । यो परियोजना आउनुमा स्व. सुवास नेम्बाङ र झलनाथ खनालको पनि उतिकै जोडवल छ । उहाँहरुको सकृयतालाई पनि उजागार गर्नु उचित हुने छ । स्थानीय जनता, जनप्रतिनीधिहरु नागरिक समाजको जोडवलले आज चुरे क्षेत्रमा बसोवास गर्ने जनताले आफ्नै आँगनबाट गाडी चढेर पूर्व पश्चिमको यात्रा तय गर्ने सौभाग्य पाएका छन् ।
यसरी सुरु भयो मदन भण्डारी राजमार्गको कथा
२०५७।०५८ सालदेखि तत्कालिन धरान नगरपालिकाका प्रमुख मनोजकुमार मेन्याङ्बो, लेटाङ गाउँविकास समितिका पूर्ब अध्यक्ष(प्रतिनिधि सभाका सांसद भै हाल नेकपा (एमाले) कोशी प्रदेश कमिटीका अध्यक्ष हुनुहुन्छ ) घनश्याम खतिवडा, तत्कालिन लेटाङ गाविस अध्यक्ष चन्द्र गौतम तत्कालिन केराबारी गाविस अध्यक्ष (हाल दिवंगत भै सक्नु भयो) नारायण थापा मगर, तत्कालिन मधुमल्ला गाविस अध्यक्ष काँशीनाथ पौडेल र म स्वयम तत्कालिन पाँचकन्या गाविस अध्यक्ष रहदा दमकदेखि धरानसम्म सडक आवश्यकता ठानी विभिन्न चरणको बैठक बस्ने काम गरेका थियौं । चुरे क्षेत्रको श्रीवृद्धि र यहाँका जनताको सुविधाका लागि यो सडक अपरिहार्य ठानियो । त्यस समयमा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला झापाको विर्तामोड आउनु हुँदा समितिको तर्फबाट योजनामा समावेश गर्न ध्यानाकर्षण पत्र वुझाइएको थियो । विभिन्न चरणमा बैठक, छलफल र भेटघाट गरि दमकदेखि मधुमल्ला लेटाङ हुँदै धरानसम्मको रोड बनाउने योजना बनाई पहलकदमी गर्ने काम भयो । २०६३ सालमा लेटाङमा बृहत भेला गरि योजना निर्माणको १४ स्टेपका प्रक्रियाबाट झापा मोरङ र सुनसरी तत्कालिन जिल्ला विकास समितिमार्फत राष्ट्रिय योजना आयोगमा पहल गर्न चन्द्र गौतमको संयोजकत्वमा पहल समिति बन्यो । त्यस बेला अन्तिम विन्दु चतरासम्म निर्धारण गरियो । त्यस समयमा विभिन्न स्थानमा सडक तथा पुलहरुको सर्भे डिजाइन गरि कतिपय स्थानमा ट्रयाक खोल्ने, सानातिना पुलपुलेसा बनाउने कार्य समेत गरिएको थियो । सबै तिर चासो र सरोकार बढ्दैं गए पछि २०७२ सालामा इलामदेखि उदयपुरसम्मका सरोकारवालाहरुको भेला उर्लाबारीमा सम्पन्न भयो । इलामको पाटापुरदेखि झापा मोरङ सुनसरी हुँदै सिन्धुलीसम्म चुरेमार्ग निर्माण पहल समि िनै गठन गरियो । वृहत छलफल र परामर्शसँगै योजनाको दुरी फराकिलो हुदैं गयो । त्यस क्षेत्रका जप्रतिनीधि तथा जनताले सडक आवश्यकता ठान्दैं गए । वास्तावमा मदन भण्डारी राजमार्ग बन्नु भन्दा अगाडी चुरे क्षेत्रका जनता सडक सञजालबाट बन्चित थिए । उनीहरुले निकै कष्टकर जीवन व्यतित गदैं आएका थिए ।
चुरे क्षेत्रमा बैकल्पिक सडकको आवश्यकता र माग झन झन बढ्दैं गयो । झन २०६४।६५ सालको मधेश आन्दोलनका बेला तराईबाट पूर्व पश्चिम यात्रा गर्दा भएको कष्टले बैकल्पिक सडकको आवश्यकता टट्कारो बन्यो । सरकारलाई निरन्तर खवरदारी र दवाव जारी रहयो । केही क्षेत्रमा साना तिना बजेटले ट्याक खोल्ने काम पनि जारी रहयो । २०७४ साल माघ ५ गते मोरङको लेटाङमा इलामदेखि सिन्धुलीसम्मका संघीय सांसद, प्रदेशसभाका सांसद पालिकाका प्रमुख र अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्षहरु र सरोकारवालाहरुको बृहत भेला बस्यो । बृहस्पति खतिवडा संयोजक, म आफै रमेशकुमार बस्नेत सचिव रहेको पहल समिति निर्माण गर्ने काम भयो । जुन समितिमा ततकालिन प्रधानमन्त्री केपी शर्मा वली, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ संरक्षक, प्रस्र्तावित सडकसँग जोडिएका क्षेत्रका संघीय तथा प्रदेश सांसद सल्लाहकार र पालिका प्रमुख र अध्यक्ष पदेन सदस्य रहनु भएको समिति बन्यो । विशेष गरेर पूर्व क्षेत्रका नेताहरको पनि चासोको विषय बन्यो । उक्त समितिले २०७४ फागुनको चौथो हप्तामा तत्कालिन प्रम केपी वली, अर्थ मन्त्री, भौतिक योजनामन्त्रीसहित विभिन्न मन्त्री र सचिवहरुसंग छलफल गर्ने काम गर्यो । ज्ञापन पत्र बुझाउने काम भयो । स्व. सुवास नेम्बाङको सकृयता र जोडबलमा प्रधानमन्त्री र अर्थमन्त्री पनि चुरे क्षेत्रको सडक निर्माणमा सकरात्मक हुनु भयो । यस विषयलाई हामीले तत्कालिन राष्ट्रपति विद्यादेवि भण्डारीलाई पनि अवगत गराउने काम भएको थियो । ज्ञापन पत्रमा प्रस्तावित सडकलाई राष्ट्रिय गौरवको योजजनामा समावेश गर्न र आ व २०७५।७६ बाट नै सुरु गर्न माग गरिएको थियो । उक्त दवावको अगुवाइ समितिका संरक्षकहरु र सल्लाहकारहरुबाट भएको थियो । सोही क्रममा नै योजना समावेश हुने प्रतिबद्धता प्राप्त भएको थियो । व्यापक दवाव र आवश्यकतालाई मध्यनजर गरेर २०७५।७६ को नीति तथा कार्यक्रममा समावेश भइ राष्ट्रिय गौरवको योजनाको रुपमा मदन भण्डारी राजमार्ग बनाउने योजना आयो । २०७५ जेठ ६ गते राती मन्त्रिपरिषदको बैठकले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडी बनाउने निर्णय गर्यो । जेठ ८ गते प्रस्तुत नीति तथा कार्यक्रममा प्रस्तुत भयो । सरकारले बुहवर्षीय योजना अनुसार पहिलो बर्ष ४ अर्व ५० करोड बजेट विनियोजनसमेत गरे पनि नागरिकस्तरबाट उठेको आवाजलाई राज्यले सुनुवाई गरेको महसुस भयो ।
मदन भण्डारी राजमार्ग बन्दैं गर्दा कतिपयले यसको श्रेय आफु लिन खोजीरहेको पनि पाइन्छ । तर माथि उल्लेखित व्यक्तिहरुको पहलकदमीलाई भुल्नु हुदैंन् ।
योजना कहाँ पुग्यो
यो योजना हाल धिमा गतिमा अगाडी बढिरहेको छ । पछिल्लो सरकारहरुको नजरमा यो परियोजना खासै प्राथमिकतामा नपरे पनि ठाउँठाउँमा निर्माण कार्य भइरहेको छ । यस आर्थिक बर्षमा सरकारले ५० करोड मात्र बजेट विनियोजन गर्नुले हालको सरकारको नजरमा यो क्षेत्र उपेक्षामा परेको नागरिकले महसुस गरेका छन् ्। गैंडाकोट पूर्ब मध्ये चतराको झण्डिचौक पश्चिम प्राय निर्माण सम्पन्न भएको छ । पूर्ब तर्फ पनि बिभिन्न आरोह अवरोह पार गर्दै बिबाद र अवरोध समाधान गर्दै काम अघि बढिरहेको छ । हेटौडा धरान(सर्दु)करिव ३ सय किमी निर्माण सम्पन्नको भइसको छ । सर्दुदेखि दमकसम्मको काम धमाधम भइरहेको छ । सडक तथा खोलाको पुल कतिपय सम्पन्न भए भने कतिपय टेण्डर प्रक्रियामा छन् ।
सर्दु र चतरा विचका खोलामा भने अझै टेण्डर लाग्न सकेको छैन् । झापा सुनसरी खण्डका ठेक्का लागेका ३७ पुलमध्य १४ वटा निर्माण भइसकेका छन् । यि पुलहरु ४० मिटरदेखि ४ सय मिटरसम्मका रहेका छन् । धरान केरावारी विचको खदम खोलाका पुल ४ सय मिटरको रहेको छ । यो पुरा भइसकेको छन् । तीला खोलाको पुल ३ सय मिटरको रहेको थियो । यो पनि पुरा भएको छ । सबैभन्दा छोटो ४० मिटरको डाले खोलको पुल पनि निर्माण सम्पन्न भएको अवस्था छ । धरान हेटौडा ३ सय किमी र धरान बाहुनडाँगी १३१ किमी सडक रहेको छ । यसरी निरन्तरको प्रयत्नमा २५औं लाख जनतालाई लाभ पुर्याउने मदन भण्डारी राजमार्ग निर्माण भइरहँदा गौरव लाग्नु अस्वाभाविक मान्न सकिदैन् । यो समृद्धिका यात्रामा साथ र सहयोग गर्ने, जोडवल गर्ने सबै धन्यवादका पात्र बन्नु भएको छ । यो सडक निर्माण सम्पन्नसँगै चुरेक्षेत्रका जनताको भाग्य र भविष्य कोरिनेमा दुईमत छैन् । संघीय सरकारले यो मुलुकको गौरवको परियोजना समयमै सक्न नियमित बजेट विनियोजन र सरकारी संयन्त्रलाई तिव्र परिचालन जरुरी छ । साथै यस क्षेत्रका जनताले पनि चासो र चिन्ता गदैं राज्यलाई निरन्तर दवाव दिरहनु वाञ्छानिय हुने छ । सबैसँगकाे सहकार्य, खवरदारी र जोडवलबाट मात्र मुलुकलाई समृद्ध बनाउन सकिन्छ । ब्लाष्ट दैनिकबाट
(लेखक बस्नेत कोशी प्रदेश सभाका सदस्य हुनुहुन्छ ।)