धरान / धरानमा खेल तमासासहितको मेलाले विकृति बढ्यो भनेर धरानमा प्रतिवद्ध नै लगाएको खेलतमसासहितको मेला लगाउन फेरी धरान उपमहानगरपालिका तयार भएको छ । शुक्रबारदेखि सुरु हुने धरान उत्सवमा धरानका मेयर हर्क साम्पाङले खेल तमसा खुल्ला गरिएको बताउनु भएको छ । 

उपमहानगरपालिकाले यसपालि पब्लिक हाई स्कुल मैदानलगाउने मेलामा खेल तमासा रोटेपिङ, नाउ, ड्रागन, घोडापिङ, मिकि माउसलगायत खेलहरू राखिने भएको छ । यि खेलसहितको मेला लगाउन धरानमा निषेध गरिएको थियो । अघिल्लो कार्याकालमा यस्ता तमसा सहितको मेला लगाउन लाग्दा उपमहानगरले निषेध गर्दा केही ठेकेदारहरुको लगानी नै डुवेको थियो । 

यसअघि गत वर्ष सुनसरी उद्योग वाणिज्य सङ्घले धरान १६ रंगशालमामा आयोजना गरेको ‘धरान ए्क्स्पो’ व्यापार मेलामा बालबालिकाको लागि उद्यान र रोटेपिङसम्म राख्न मेयर साम्पाङले राख्न दिनु भएको थिएन । 

दशैंमा लाग्दै आएको मेला पनि धेरै वर्ष यता धरानमा बन्द भएको थियो । त्यस बेला मेला सङ्घ, संस्थाहरूले  फण्ड राइजिङ लागि लगाउँथे । यसपालि ‘धरान डे’ मनाउने भनी धरान उपमहानगरपालिका आफैले मेला लगाउने भएको छ । विगतमा तीन दिन मनाउदैं आएको उत्सव खेलतमसा भएकै कारण ५ दिनसम्म बनाइएको छ । सामुदायिक विद्यालय क्षेत्र भित्र उपमहानगर आफै लगाउने भएको छ । पुस २० गते उपमहानगरले नै सार्वजनिक विदा दिएको छ । बाँकी दिनमा विद्यालयले विदाको घोषणा त गरेको छैन् तर अध्ययन अध्यापन भने नहुने भएको छ । उपमहानगरको कार्यक्रम भएकाले विद्यार्थीहरु पनि कार्यक्रमै सहभागी हुने विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले बताउनु भयो । 

बुधबार मेलाको बारेमा जानकारी दिदैं मेयर साम्पाङले मेलामा सबै खेल तमासा हुने बताउनु भएको थियो । उहाँले अव धरानमा दशै तिहारमा पनि मेला लाग्ने बताउनु भयो । 

मेलामा रोटेपीङ लगाउने सूचना पुस ११ गते प्रकाशित गरिएको थियो । बोलपत्र अनुसार तीन जनाले प्रस्ताव लगाएका थिए । तीन प्रस्तावमा मापदण्ड पूरा भएको एउटा मात्र प्रस्ताव आएको भन्दै धरान ४ का धनबहादुर राईलाई कुल ३ लाख रुपैयाँमा ठेक्का दिइएको बताइएको छ ।