धरान / धरान उपमहानगरपालिकाले धरान स्थापना दिवसको अवसरमा पुस २० गते धरान भरी सार्वजनिक विदा दिने घोषणा गरेको छ । 

पाँच दिनसम्म स्थापना दिवसको अवसरमा धरान उत्सव मनाउदै शुक्रबार उद्घाटनका दिन सार्वजनिक विदा दिएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलाले सुचना जारी गर्दै पुस २० गते सार्वजनिक विदा दिने नगर प्रमुख स्तरीय निर्णय भएको जानकारी दिनु भएको छ । उक्त दिन उपमहानगरपालिका, वडा कार्यालयहरु, मातहतको स्वास्थ्य संस्था, सरकारी कार्यालय, गैरसरकारी कार्यालय, विद्यालय र क्याम्पसहरुमा विदा दिइएको पनि सुचनामा उल्लेख गरिएको छ । 

धरान उपमहानगरपालिकाले १२३ औं स्थापना दिवस पाँच दिनसम्म विविध कार्यक्रमहरु आयोजना गरि मनाउने भएको छ । उपमहानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरेर पुस २० देखि २४ गतेसम्म स्थापना दिवस मनाउने जानकारी दिएको हो । 

मेयर हर्क साम्पाङले कार्यक्रमहरुबारे जानकारी दिदै  बिहान ७ बजेदेखि हिमालयन पेट्रोल पम्पदेखि तीनकुनेसम्म सरसफाई गरिदैं छ । पुस २० गते पब्लिक स्कुलमा उत्सवको उद्घाटन र र्याली हुनेछ भने सहकारी क्रियाकलाप र सम्मान कार्यक्रम पनि हुने बताइएको छ । पुस २१ गते बिहान साइक्लिङ हुनेछ भने बिहान ११ बजेबाट साहित्यिक सम्मान कार्यक्रम आयोजना हुने छ ।  

पुस २२ गते  वाकाथन, विद्यालयको खेलकुद प्रतियोगिता र लोकदोहोरी पनि हुनेछ । पुष २३ गते र्याली र विभिन्न साँस्कृतिक झाँकी प्रर्दशनी कार्यक्रम पनि हुनेछ । यस्तै, अन्तिम दिन पुस २४ गते लगानी गोष्ठी, रस्सीतान प्रतियोगितासँगै समापन हुने छ । 

उत्सव अवधिभर रोटेपिङसहितको बाल मनोरञ्जनका खेल  तमसाहरु सञ्चालन हुने उपमहानगरले जनाएको छ । उत्सवस्थलमा ७० भन्दा बढी स्टलहरु पनि राखिदैं छ ।  उत्सवको सम्पूर्ण तयारी भएको उपमहानगरले जनाएको छ । 

उत्सवको उद्घाटनको प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाललाई मेयर आफै काठमाडौं गएर निमन्त्रणा गरे पनि उहाँ नआउने हुनु भएको छ । उद्घाटन मेयर आफैले गर्ने बताइएको छ । 

प्रधानमन्त्रीले धरानलाई समय नदिएको भन्दैं मेयर साम्पाङले सामाजिक संजालमा सार्वजनिक नै गरेर आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर हटाउनु भएको छ ।