- देवेन्द्र कार्की
केही दिन अघि पारिवारिक काममा धरान आउनु भएकी घुम दाजीलिङकी कवियत्री साहित्कार मञ्जुला तामाङ सुब्बाले सम्झनु भयो । उहाँका जीवन साथी नविन र कवि भीम विरहीसँगै बसेर धरानको भानुचोक नजिक कफी खाइयो । उहाँले उपहारमा उहाँले प्रकाशन गर्नु भएका केही कृति ल्याइदिनु भएको रहेछ । साथमा दार्जीलिङको चिया पनि । उहाँको उपहार ग्रहण गरियाे । केही समय उहाँसँग भलाकुसारी गरियो । उहाँको साहित्यिक तथा सामाजिक जीवनबारे जान्ने मौका पाइयो । विद्यालयकालमा आफ्नो साथीहरुलाई प्रेम पत्र लेखिदिएर नेपाली भाषामा निखारिएको उहाँले अनुभव सुनाउनु भयो । उहाँले लेखिदिएको प्रेम पत्रबाट कतिले जोडी बाधे त्यो छुुट्टै पाटो छ । त्यसबारे कुनै बेला लेखौला । साचिकै त्यो युवा अवस्थाको प्रेम पत्र लेखनले उहाँलाई नेपाली भाषा लेखनमा निकै निखारेको उहाँका कृतिबाट प्रष्ट हुन्छ । अहिले उहाँले भरखरै प्रकाशन गर्नु भएको कविता शृङ्खला 'कुहिरो भित्र घूम जोरबङ्गालो' बारे लेखौ ।बाँकी उहाँको सामाजिक जीवनबारे पछि चर्चा गरौला ।
एउटा स्थानलाई केन्द्रीत बनाएर कविता लेख्नु त्यो पनि ५५ वटा चानचुने कुरा होइन । एउटा सानो ठाउँका विषयमा चर्चा परिचर्चा गरेर यति धेरै शिर्षकमा कविता लेख्ने कवियत्री दार्जेलीङ घूमकी मञ्जुला तामाङ सुब्बा हुन । उहाँ भारतीय भूमीमा रहेर नेपाली साहित्यमा उदाउदो नाम पनि हो । सानैदेखि नेपाली विषयमा लेखन क्षेत्रमा रुचि राख्नुहुने तामाङले भरखरै 'कुहिरोभित्र घूम जोरबङ्गलो' शिर्षकमा कविता संग्रह प्रकाशन गर्नु भएको छ । घूम उहाँको कर्मभूमी । त्यही सेरोफेरोमा उहाँले ५५ वटा बान्कL परेका सुन्दर कविता लेख्नु भएको छ ।
कवियत्री मञ्जुलाद्वारा लेखिएको ‘कुहिरोभित्र घूम जोरबङ्गलो' लाई एउटा ऐतिहासिक दस्तावेजको रूपमा लिन सकिन्छ । घूम जोरबङ्गलोको सेरोफेरोका भौगोलिक, ऐतिहासिक, साहित्यिक, सांस्कृतिक, सामाजिक पाटाहरू समेटेर लेखिएको यो पहिलो शृङ्खला कविता हुनसक्छ। भावना र कल्पनामा विचरण गरे पनि तर यथार्थ धरातल टेकेर उभिएको छ ‘कुहिरोभित्र घूम जोरबङ्गलो' पढ्दा घूम आफै पुगेको अनुभूति गर्न सकिन्छ । मानसपटलमा घूमकाे पुरै चित्र यस भित्रका कविताहरु पढ्दा आउने गर्छ ।
सूर्यदेव झिलिक्क आउँछन्
ङिच्च हाँसी मिलिक्क हराउँछन्
हतार(हतार कुहिरो दगुर्छ
डाँड़ा(काँड़ा ढम्म ढाक्छ।।।
(कुहिरोभित्र घूम जोरबङ्गलो)
कविताका हरफमा मौसमको यो छरितो वर्णनले घूम जोरबङ्गलोको बिजुलीबत्तीको सम्झना गराउँछ । साँझ विहान आउने घामलाई छेक्ने कुहिरो अनि त्यहाँकाे जनजीवनलाई पनि संकेत गर्छ ।
“अविरल वर्षा धुम्म कुहिरो सिकसिकाउँदो
बाह्रै महिना भिज्न पर्ने न वर्षा न हिउँदो
थिएनन् छाता बर्साती कल्पनामै नभएका
घूमुओढ़ी छेक्नपर्ने विरक्त बर्खाझरी
पर्न गएछ क्यार नाम ‘घूमु यसैगरी ।”
दोश्रो कविताको पाँचौ हरफमा कविले घूमको नामकरणबारे यसरी व्यक्त गर्नु भएको छ । कविता पढ्दैं जादा जैविक विविधताको प्रसिद्ध थलो सिञ्चेल वाइल्डलाइफ सेक्चुअरीमा पाइने वन्यप्राणी, फलफूल, उद्भिद्, रूखपौधाहरू सबै नै कवितामा समेटिएको पाइन्छ । विकासको नाउँमा वनजङ्गल मास्दै बस्ती बस्न थालेपछि विभिन्न प्रजातिका उद्भिद् तथा वन्यप्राणीहरू केवल मिथक बन्दै गइरहेका कुरा अटाइएको छ ।
महाकवि देवकोटाले आफ्नो भ्रमणमा टाइगर हिललाई 'बाघचुली' भनेका'ऐतिहासिक तथ्यलाई उहाँले आफ्ना कवितामा उजागार गर्नु भएको छ । टाइगर हिलबाट वन्यप्राणी विलुप्त हुँदै गइरहेको अवस्थालाई इङ्गित गर्दै उहाँले लेख्नुभएको छः
टाइगर हिलको जङ्गलमा
देखिँदैन टाइगर अहिलेु
(वाइल्डलाइफ सेड्क्चुअरी)
उहाँले चाङ परेर बसेका बाल्यकाल, किशोरवस्थाका सम्झनाहरू कवितामा व्यक्त गर्नु भएकाे छ । यस्तै सम्झनाहरूमा आलो छ घूम रेलवे स्टेशन'। इशु मिथु डाकबाबुु खेल्ने शैशवको त्यो सानो'स्टेशन जहाँ गऱ्याप गऱ्याप बूट बजाउँदै छुट्टीमा आउने-जाने गरेका मामाहरुकाे चहलपहल रहन्थ्यो भने अहिले केवल सम्झना मात्र रह्यो । विश्व धरोहर दार्जीलिङको सानो रेल पर्यटकीय मनोरञ्जनको साधन मात्र बनेको छ। सधैँ कुहिरोले ढाकिरहने घूम जोरबङ्गलो कविको जन्मथलो र कर्मथलो भएको हुनाले अति प्रिय भएको कविताले बोलेका छन्। घूम जोरबङ्गलोको इतिहास पनि कुहिरोले नढाकियोस भन्ने प्रबल चाहना राख्दै इतिहास उत्खननमा उहाँ अग्रपङ्तिमा देखिनुहुन्छ ।
सन् १८२९ सालमा घूम भञ्ज्याङ (ओल्ड गोर्खा स्टेशन)(मा बास बस्न पुगेका दुईजना अङ्ग्रेज, क्याप्टन लोयड अनि जे.डब्लु. ग्रान्टले त्यहाँबाट भव्य कञ्चनजङ्घाको काखमा बसेको रमाइलो पाखा (भविष्यको दार्जीलिङ शहर) देखेर मक्ख परे । त्यसपछि त्यो दार्जीलिङको इतिहास बन्यो। इतिहासको प्राङ्गणमा आफ्ना गौरवपूर्ण अवशेष छाड़िगएका राय साहेबद्वय खड़कबहादुर छेत्री अनि जङ्गवीर छेत्री खड़का, खुकुरी बेपारी के. बी. ठकुरी, गायिका अरुणा कन्दङ्बा, खड़कसिंह राई काँड़ा, राधिका राया, सरिता राई (प्रधान), गनुसिंह गुरूङ, कृष्ण कुमारी सुब्बा, ए.जे. प्रधान, जगन्नाथ प्रधान, विष्णुप्रसाद शर्मा, मनबहादुर प्रधान, नारायण तामङ, शान्तिदेवी राईलाई सम्झनामा राख्दै श्रद्धाञ्जली अर्पण गरेकी छन्। यसरी नै दिवङ्गत फूटबल खेलाड़ी रकम सुब्बा, दावा लामा, गागु छिरिङ, खाती बाबु, गंगा प्रसाद, पाल्देन सरदार, दिलप्रसाद राई, सन्तु राईलाई कविले स्मरण गर्नु भएको छ ।
७०/ ८० काे दशकमा प्रेरणा परिवार अनि संयुक्त मित्र संघको तत्परतामा घूम रेलवे स्टेशनको लोको शेडमा धेरै नाटकहरू मञ्चन भएको इतिहास पाइन्छ । दार्जीलिङको नाटकको इतिहासमा कवि मञ्जुलाले ती नाटकहरूका विवरण पाठक सामु राखेर नाट्य साहित्यको इतिहास सम्झाउने काम गर्नु भएको छ । अमला सुब्बा क्षेत्रीका अनुसार जोरबङ्गलोको पहिलो नाट्यकर्मी (सन् १९३६) रणसिंह गजमेरले रोपेको नाटकको बिरूवा सत्तरी अस्सीको दशकमा मौलिएर लहलह भयो तर त्यस समयको हावाहुरीले सबै छताछुल्ल पारिदियो। वर्तमानमा घूम रेलवे स्टेशनको त्यो लोको शेड समेत अस्तित्वमा छैन।
त्यस बेलाका प्रतिभाशाली नाटककार, निर्देशक अशोक सुब्बा, गायिका दिलमाया खाती, फूटबल खेलाड़ी सुरेन पाखरिन, चित्रकार शनिकुमार मोक्तान, पर्वतारोहीद्वय पासाङ दावा लामा अनि कुशाङ दोर्जे शेर्पाको योगदानलाई घूम जोरबङ्गलोले कहिल्यै नबिर्स्न् भनी कवियत्रीले आफ्ना कविताहरूमा उल्लेख गर्नु भएको छ । कविले विगत र वर्तमानका साहित्यिक स्रष्टाहरूलाई खोजी खोजी प्रकाशमा ल्याउन गरेको यो प्रयासलाई उत्कृष्ट मान्न सकिन्छ ।
खोज्दैछु तिम्रा नाम तिम्रा कृतिहरू
घूम जोरबङ्गलोका पन्नाहरूमा बसेका स्मृतिहरू....
(कुलपितृ साहित्यकार)
आफ्नो थानथलोलाई असाध्यै माया गर्ने कवि मञ्जुला तामाङ सुब्बाका कविताहरू धारा प्रवाहरूपमा सलल बगेको पाइन्छ । सरस, सरल एवं बोधमय कविताहरू पाठकका लागि रुचाएर पढ्ने खालका छन् । बिम्ब, मिथकहरूको भारी नबोकेका कविताहरू तथ्यपरक छन् भन्दा फरक पर्दैंन । ठोस ऐतिहासिक तथ्यहरूको धरातलमा कविता बेजोड प्रस्तुत भएको पाइन्छ । विम्ब र मिथक खोज्ने पाठकहरुलाई उहाँका कविताहरु अकविता जस्ता पनि लाग्न सक्छन् । कवितामा विगत अनि वर्तमानलाई सँगै डोर्याइएको छ । कविताहरू एउटै विषयको सेरोफेरोमा लेखिएका हुनाले कतिपय शब्दहरूको पुनरावृत्ति अस्वाभाविक मान्न सकिदैंन् । कविता कृति ‘कुहिरोभित्र घूम जोरबङ्गलो'भरि कविको उपस्थिति बोधगम्य छ । कवितामा कविको जीवन प्रतिबिम्बित हुनपर्छ भन्ने मान्यता यहाँ पनि लागु भएको महसुस गर्न सकिन्छ ।
‘इजा अर्घ्य’ बाट कविको रूपमा चिनिनु भएकी मञ्जुला तामाङ सुब्बाको यो दोस्रो कृति हो। उहाँकी छोरीको अल्पआयुमा भएकाे मृत्युको सम्झना गदैं उहाँले पहिलो कृति 'इजा अघ्य' लेख्नु भएको थियो । उहाँले केही अक्षर केही भाव तरङ्ग'' मुक्तक संग्रह तेश्रो कृति पनि सार्वजनिक गरि सक्नु भएको छ । 'कुहिरोभित्र घूम जोरबङ्गलो' शृङ्खला कविता वास्तवमा घूम जोरबङ्गलोको इतिहासको पुनर्लेखन हो भन्न सकिन्छ।
मञ्जुला तामfङ सुब्बाले आफ्नी प्राण भन्दा प्यारी छोरी गुमाए पछि साहित्य सिर्जना गरेर त्यो पीडा भुल्ने कोशिस गर्नु भएको छ । असह्य पीड़ालाई साहित्यिक सिर्जनामा, साहित्यको पठन पाठनमा राखेर अघि बढ़िरहँदा ‘इजा अर्घ्य (सन् २०२१) मा प्रकाशन गर्नु भएको थियाे । सृजना मानव जीवनका सम्पूर्ण पक्षसँग जोडिएको हुन्छ। ज्ञान र विज्ञानका समग्र पक्षसँग सम्मिलित भएको हुन्छ। सृजनात्मक कार्य गर्न मान्छे आफ्नो अन्तःचेतनाबाट सँधै उत्प्रेरित रहन्छ । यही कुरालाई मनन गदैं उहाँले साहित्य र समाजसेवालाई सँगसँगै लानुभएको छ ।
२२२ पेजमा ५५ वटा कविता अटाउनुभएको छ । कुहिरो भित्रको घुम जोरबङ्गालो देखि अन्तिम होइन शिर्षकबाट विट मादैं गर्दा उहाँको यो कृति लेखन अन्तिम होइन भन्ने प्रष्ट पारेको छ । निकै मोटो र बाक्लो महगो पेपरमा उहाँले छरितो बोधगम्य, चोटिला कविता प्रस्तुत गर्नु उहाँको लेखकीय खुवी मान्न सकिन्छ । यस संग्रहको मूल्य रु २५० मात्र राख्नुभएको छ । विद्यार्थी जीवनमा आफ्ना साथी संगीहरुलाई प्रेम पत्र लेखिदिएर नेपाली लेखनमा खारिनु भएकी मञ्जुला यति बेला कविता लेखनमा राम्रो दख्खल राख्दै आउनु भएको छ । छोरीको नाममा इजा प्रकाशन समेत सञ्चालन गदैं आउनु भएकी मञ्जुलाले आफ्नो प्रकाशन गृहबाट अन्य साहित्यकारका कृतिहरु प्रकाशन गरेर सहयोग गदैं आउनु भएको छ ।
कृतिः कुहिरो भित्र घूम जोरबङ्गलो
लेखकः मञ्जुला तामङ सुब्बा
विधाः कविता शृङ्खला
मूल्यः रु. २५० मात्र
पृष्ठ संख्याः २२२