- नगिता लेप्चा राई, जलपाईगुड़ी (भारत)
माथि भनेको अग्लो ठाउँ बुझ्थेँ...बुझिरहेकी थिएँ । त्यसरी नै तल भनेको फेद वा भुइँतिर बुझ्थेँ । स्कूलमा छँदा तलको विपरित माथि, माथिको विपरित तल अनि अङ्ग्रेजीमा अपको अपोजिट डाउन अनि डाउनको अपोजिट अप भन्ने सिकेकी हुँ । त्यसभन्दा बढ़ी मैले माथि शब्दमाथि त्यति ध्यान दिएकी थिइनँ ।
साहित्यमा जबदेखि मेरो परिचयको परिधि फैलिँदै गयो । उति उति साहित्यिक कार्यक्रम, पुस्तक लोकार्पण कार्यक्रमतिर उपस्थिति पनि दिन दिनै बढ़्दै गयो । यस्ता कार्यक्रमतिर दुइ थरिका आसन हुँदोरहेछ भन्ने पनि यस्ता कार्यक्रमतिर धाउन थालेदेखि बुझ्न थालेकी हुँ । प्रथम आसनमा अतिथिहरूलाई मञ्चमा आदरपूर्वक निम्त्याएर आसन ग्रहण गराउँदा रहेछन् ...यसको नाम माथि । अनि कार्यक्रम आयोजन हुने भवनमा तलतिर चेयर ओछ्याएको हुँदोरहेछ...तिनमा निम्त्याइएका अतिथिहरू बस्दा रहेछन्...यो भयो तल ।
मञ्चको माथि साहित्यका बड़े बड़े, मेरो भाषामा भीआइपी साहित्यकारहरूलाई माथि आसनमा राखिँदा रहेछन् । अनि लोकार्पणमा पनि उस्तै भीआइपी साहित्यिकहरूलाई निम्त्याएर पुस्तकको लोकार्पण गराइँदा रहेछ । अनि हामी तल बस्नेहरूले किताब किनिदिनुपर्नेरहेछ । माथि मञ्चमा उभिएर किताब लोकार्पण गरिदिनेहरूले सित्थैमा किताब पाउँदा रहेछन् । कति मज्जा । कति आनन्द । किताब किन्नु नपर्ने । यसबारेमा मेरो केही ज्ञान थिएन । सोध्न पनि भएन । लाजमर्ने कुरा ।
मेरो किताब लोकार्पण हुने घोषणा भयो । मैले फेसबुक वालमा मेरो किताब लोकार्पणबारे सार्वजनिक गर्नु मात्र होइन वाटसएप र म्यासेञ्जरमा मेरा फेसबुके साथीहरूलाई ई निम्तो पोष्ट गरेँ । सबैले बधाई, लोकार्पण कार्यक्रमको सफलताको कामना गरी एडभान्स़ड शुभकामना पठाएँ । म हर्षले गदगद भएँ ।
ती साथीहरूले रातदिन फोन गरे । भिडियो कल गरे । एकजना अत्यन्तै घनिष्ट साहित्यकार दाइले मलाई सर्काउनुसम्म सर्काए । सर्केर म पनि माथि पुगिसकेकी थिएँ । म्यासेञ्जरमा हामी प्रायः दिनहुँ बात मार्थ्यौं। कुरै कुरामा उनले म्यासेज पठाए....बुइनी....माथि मलाई पनि सानो आसन दिने है । अनि फलानो फलानो ठाउँबाट...फलानो ख्यातिप्राप्त भनेर मेरो नाम घोषणा पनि गरिदिने है । बुइनीको किताब सय प्रति लु म लाने ।
एकजना ठूला साहित्यकारले भने, म तिम्रो किताबको समीक्षा लेखेर यहाँको नाम चलेको न्यूजपेपरमा छपाइदिन्छु । तर तिमीले जसरी हुन्छ मलाई चैं माथि राख्नैपर्छ ।
धेर नबोल्ने तर चालै नपाई आफ्नो काम बनाउने घुसघुसे साहित्यकार सरले तिम्रो कार्यक्रममा माथि ककसलाई राख्छ्यौ? मिल्छ भने यसो मलाई पनि याद गर ल । तिमीलाई पछि म पनि हेर्छु नि । गिभ एण्ड टेक ।
म ता साहित्यमा एकदमै नयाँ । साहित्यकारहरूलाई माथि बस्ने कति रहल लागेको भन्ने कुरा गमेर म छक्क परेँ । यस्तो लाग्न थाल्यो हाम्रो यतातिर हुने लोकार्पण कार्यक्रममा माथि आसनमा बस्नेहरूलाई उनीहरूको साहित्यिक योगदानको कदर नभएर सबै नै भनसुनमै माथि उभिएका हुँदारहेछ भन्ने सोचेर घिन लाग्यो ।
अरुलाई कोनि मलाई थाहा छैन । तर मलाई भने धेरै साहित्यकारले मलाई माथि राख्यौ भने मञ्चबाटै पचास, पच्चीस, दस प्रति तिम्रो किताब क्यास किनिदिन्छु भनी घोषणा गरिदिन्छु भनेर वाक्कै दिक्कै लगाए । लोकार्पण कार्यक्रममा किताब प्रकाशित गर्ने कवि साथीहरूलाई पनि यी भीआइपी साहित्यकारले यसै भन्दा हुन् भन्ने लाग्यो ।
सोंचेँ, कुनै साहित्यिक तथा लोकार्पण कार्यक्रमतिर माथि बस्नु नै ठूलो हो र ? नाउँ चलेका भीआइपी साहित्यिकारहरू नवोदित स्रष्टालाई आशीर्वाद शुभकामना दिन आउँछन् कि माथि बस्ने लोभमै कार्यक्रमतिर उपस्थित हुन्छन् भन्ने प्रश्नले आजसम्म पनि मलाई हण्टर लाइरहेको छ ।
मेरो किताबको लोकार्पण कार्यक्रम धुमधामले नै हुने भयो । फेसबुक वालमा, म्यासेञ्जरमा अनि वाटसएपमा हल्ला गर्नुसम्म हल्ला गरेँ । सबैले उपस्थित दिने भएँ । हिसाब गरेँ...डेढ़ सय जनाको सूची तयार भय़ो । डेढ़ सय जनामध्ये पचहत्तर जनाले भीआइपी साहित्यकारले माथि बस्छु भनी रिक्वेष्ट गरे । मैले केही उत्तर दिनु सकिनँ । हुन्छ पनि भनिनँ, हुँदैन पनि भनिनँ ।
कार्यक्रमको अघिल्लो दिन बेलुकी फेरि उही माथि राख्नेकै कुरा । मैले भनेँ, सर यो लोकार्पण कार्यक्रम एउटा संस्थाले आयोजन गर्ने भएकोले ती संस्थाकै अध्यक्षलाई अध्यक्षको आसनमा अनि संस्थाले नै प्रमुख अतिथि, विशिष्ट अतिथिको आसनमा राख्ने अरे । मेरो लोकार्पण कार्य़क्रम विचाराहरूले आयोजन गरिदिएका हुन् । उनीहरूको कुरा मैले कसरी काट्नु सर ।
बस लोकार्पण कार्यक्रम धुमधामले आयोजन भयो । माथि बस्न खोज्ने भीआइपी साहित्यकारहरूको नाक मुख देखिनँ । अहिले उनीहरूले मलाई फेसबुकमा वलक् गरेका रहेछन् ।
छक्क परेँ...
थुक्क माथिका लोभेहरू!!