२०४५ साल भदौ ५ गते बिहान ४.५५ बजे गएको महाभूकम्पको चपेटामा धरान पनि परेको थियो । झण्डै सवासयले धरानमा ज्यान गुमाएका थिए भने ६ हजार जति घाइते भएका थिए ।
कुमार सुवेदी दाइको पूरै परिवार ३ तले घर चकनाचुर भएर पुरिनु भएको थियो । झण्डै ४ घण्टा पछि छोरो पारस र कुमार दाइलाई घाइते अवस्थामा उद्धार गरेर हामीले धरान अस्पताल लिएर गयौं ।
बाटाभरी, भूकम्प पछि दर्के पानी परेको पीडा संगै घरका भग्नावशेषहरुमा जीवित मानिसको खोजी जारी भएको कारुणिक दृष्य छिचोल्दै हामी अस्पताल परिसर पुग्यौं । धरानको छाताचोक मास्तिर सरकारी अस्पताल थियो । त्यहाँको दृष्य झन भयावह थियो । सयौंको संख्यामा घाइते र तिनका परिवारहरुको घुइँचो थियो पूरै प्राङ्गण भरी ।
त्यहाँ सरकारी अस्पतालका २ जना डाक्टर मात्र थिएनन् उपचारमा जुटेका । स्वतस्फूर्त रुपमा अस्पताल आएर आफ्नै घरबाट औषधी, बेन्डेज, सुई लगायत सामान लिएर धमाधमा उपचारमा जुटेका थिए धरानका ३ जना महामना डाक्टरहरु : डा ज्ञानबहादुर श्रेष्ठ, डा तपन तरफदार र डा खालिद हुसैन हक ।
कुनै निम्तापत्र चाहिएन कुनै आह्वान गर्नु परेन - डाक्टरको इमान र धर्म निर्वाहमा स्वयं जुटे यी देवदूतहरु । प्राइवेट क्लिनिक चलाउँथे तर आपदका समयमा उद्धारलाई सर्वोपरी ठानेर कर्मक्षेत्रमा यी जुटेका थिए ।
त्यसको ठीक ३५ वर्ष पछि बजार अनुगमनका नाममा ती महान डाक्टर जसले आफ्नो पैत्रिक घर कलकत्तामा हुँदा हुँदै सारा सर्वस्व त्यागेर धरानलाई नै कर्मथलो बनाएर आजीवन स्वास्थ्यसेवामा आफूलाई समर्पित गर्यो, उनै डा तपनकुमार तरफदार माथि अपमानजनक र खेदजनक ब्यवहार भोग्नु पर्यो, मेरो जन्मथलोका तर्फबाट म डाक्टर तपनसंग माफी माग्न चाहन्छु ।
अपमान गर्ने जो कोही होस् त्यो धरानको प्रतिनिधि हो, अर्थात मेरो पनि प्रतिनिधि हो, त्यसैले धरान कै तर्फबाट म माफी माग्न चाहन्छु । महामनाहरु विरलै जन्मन्छन् र तिनलाई कदर गर्न जान्नेहरु त झन विरलै हुन्छन् । क्षमा सबैभन्दा ठूलो अस्त्र हो ।