दलु छाया भनेर चिनिने धरानका बामपन्थी योद्धा दल दहादुर छायाँ ( भुजेल) को आइतबार निधन भएको छ । धरान २ निवासी छायाँको ७७ वर्षको उमेरमा  निधन भएको हो ।

उहाँको आजै धरानको खत्री धारामा अन्त्येष्टि गरिने भएको छ । धरान निवासी नेपालको कम्युनिष्ट आन्दोलनका अविचिलित कर्मठ योद्धाको नाम हो । २०१७ साल पछि पूर्व कोशी प्रान्तिय कमिटिसँग निकट रहेर भूमिगत कालको बिषम अवस्थामा कम्युनिष्ट आन्दोलनलाई हाँक्ने अग्रज हुनुहुन्छ । 

     बिक्रम सम्वत २००३ साल मंसीर २ गते माता श्रीकुमारी र पिता पहलमान भूजेलको कोखबाट धरान देशी लाइनमा जन्मनुभएका दल बहादुर भुजेल नेपाली जनताको मुक्तिको लागि भूमिगत कालदेखि अनवरत संघर्ष गर्दै आउनुभएका योद्धा हो । जव जब पार्टीलाई बिभिन्न मोर्चामा समस्या पर्छ, तव तव दलु भूजेललाई ती मोर्चा सम्हाल्न परिचालन गरेको पाइन्छ । मूलतःउहाँ शिक्षकनेता भएपनि बिद्यार्थी र पार्टीको राजनीतिमा पनि उत्तिकै ससक्त ढंगले भूमिका निर्वाह गर्नुभएको छ । एरिया कमिटि दखि पार्टीको केन्द्रीय सल्लाहकार सम्म बन्नुभएका अग्रज कम्युनिष्ट दलु छायाँले  पञ्चायती ब्यवस्था बिरुद्धको लडाईमा  पटक पटक गरी सात पटक  जेल जीवन बिताउनुभएको छ । 

  कमरेड  दलु छाँया बाल्यकालदेखिनै कम्युनिष्ट राजनीतिमा आकर्षित हुनुभयो । अन्याय, अत्याचार सहन नसक्ने र जनताको मुक्तिको खातिर जस्तो सुकै त्याग गर्नुपर्छ भन्ने भावना भएका दलु छायाँले २०२२ सालमा पार्टीको सदस्यता प्राप्त गर्नुभएको हो । पूर्वकोशी प्रान्तिय कमिटिको २०२३ सालमा धरान एरिया कमिटिको सदस्य बन्नुभयो । एक बर्षपछि धरान एरिया कमिटिको सचिवका रुपमा जिम्मेवारी सम्हाल्नुभयो । २०३० सालमा जिल्ला कमिटि सुनसरी सदस्य बन्नुभयो ।

    २०२९ साल मंसीर र पुषमा तत्कालिन पञ्चायती शासकले पूर्वको झापा,मोरग,सुनसरी र धनकुटा बाट कम्युनिष्ट योद्धाहरुलाई पक्राउ गरयो । धरान स्थित पञ्चालय माध्यमिक बिद्यालय बाट अध्यन गराएर फर्कदै गरेको अवस्थामा २०२९ पुष १३ गते दलु छायाँ पनि पक्राउ पर्नुभयो । त्यहि समय झापाबाट वीरेन राजबंशी  नेत्र घिमिरे, कृष्ण कुइँकेल, रामनाथ दाहाल, र नारायण श्रेष्ठ   पक्राउ पर्नुभएको थियो । बिराटनगरबाट राधेश्याम दली,इटहरीबाट बलराम पोखरेल,धनकुटा बाट आनन्दसन्तोषी राई र महेश्वरमान श्रेष्ठ पक्राउ पर्नुभयो । खानाखाने बेलामा प्रहरीको आँखा छलेर दलु छायाँ भूमिगत हुनुभयो ।

पञ्चायती शासकले झापाली योद्धाहरु वीरेन राजबंशी  नेत्र घिमिरे, कृष्ण कुइँकेल, रामनाथ दाहाल, र नारायण श्रेष्ठलाई जेल सार्ने नाममा इलाम र झापाको सिमानामा पर्ने सुखानीमा लगि २०२९ साल फागुन २१ गते हत्या गरेको थियो ।  २०२९ साल मंसीरमा झापाली योद्धा बीरेन राजबंशी धरान आउनुभएको बेला दलु छायाँ सँग भेट भएको थियो । उहाँले नौलो जनवाद नामक पुस्तक दिनुभएको थियो । २०२९ सालमै उहाँले धरानबाट नेपालमा नक्सलबाद नामक बुलेटिन प्रकाशित गरी झापा पठाउनुभएको थियो। 

 भूमिगत कालमा राखिएको उहाँको नाम दलु छायाँ बाट कम्युनिष्ट आन्दोलनमा परिचित हुनुहुन्छ ।४२बर्षसम्म शिक्षण पेशामा आवद्ध हुनुभयो । शिक्षण पेशामार्फत जनतालाई पञ्चायति ब्यवस्था बिरुद्ध सचेत गराउने क्रान्तिमा सदैब अग्रसर बन्नुभयो । धरानको मात्र होइन सुनसरी र तत्कालिन कोशी अञ्चलको संगठन  निर्माणमा दलु छायाँको भूमिका अविस्मरणीय छ । २०३५ सालमा भएको शिक्षक आन्दोलनमा उहाँ पक्राउ पर्नुभयो । डेढमहिना पछि  शिक्षक संगठनले मान्यता पाएपछि रिहाई हुनुभयो । 

   २०४२ सालमा नेकपा माक्र्सवादी निर्माण भएपछि उहाँ नेकपा माक्सर्वादी मार्फत कम्युनिष्ट आन्दोलनमा सक्रिय बन्नुभयो । उहाँले मनमोहन अधिकारी र भरतमोहन अधिकारी निकट रहेर आन्दोलनको मोर्चा सम्हाल्नुभएको थियो । सुनसरी जिल्लामा शिक्षक आन्दोलन उठाउने र संगठन निर्माणको नेतृत्व गर्ने ब्यक्तित्व दलु छायाँ शिक्षक संगठनको २०३६ सालमा भएको पहिलो जिल्ला अधिबेशनबाट जिल्ला सचिव बन्नुभयो ।

दोश्रो र तेश्रो कार्यकालमा जिल्ला अध्यक्ष भएर शिक्षक आन्दोलनलाई नयाँ उचाईमा पुरयाउनुभयो । त्यसपछि कोशी अञ्चल इन्र्चाज बनेर सिंगो कोशी अञ्चलकै शिक्षक आन्दोलन हाक्नुभयो । उहाँले शिक्षक संगठनको केन्द्रीय समितिमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको छ।

   २०२४ सालमै उहाँ पार्टीको धरान एरिया कमिटि सचिव हुनुहुन्थ्यो । प्रजातन्त्र पूर्नस्थापना पछि पूनः उहाँले ५७ साल तिर धरान पार्टीको नेतृत्व गर्नुपर्ने पार्टीको आदेशलाई स्वीकार्नुभयो र नगरसचिवका रुपमा क्रियाशिल भएर पार्टीमा देखिएका आन्तरिक समस्याहरुलाई समाधान गर्नुभयो । धरानमा पार्टीको कार्यालय भवन शिलान्यास भएको थियो उहाँको कार्याकालमा पहिलो तला सम्म निर्माण भयो ।

  कम्युनिष्ट योद्धा दलु छायाँ बिद्यार्थी नेता पनि हुनुहुन्थ्यो । तर उहाँ क्याम्पसमा पढन होइन  बिद्यार्थी आन्दोलन हाँक्न खटाइनुभएको थियो । महेन्द्र क्याम्पस धरानमा अनेरास्ववियूलाई एब्सुलेट मेजोरिटिको अवस्थामा पुरयाउने कार्यको नेतृत्व दलु छायाँले गर्नुभएको थियो । २०२४ सालमा संगठनको अवस्था कमजोर रहेको बेलामा पार्टी हेडक्वार्टरले उहाँलाई महेन्द्र क्याम्पसको बिद्यार्थी राजनीति हाँक्न पठाएको थियो । जवकी उहाँ त्यस बेला पार्टीको नगर सचिव पनि हुनुहुन्थ्यो ।

उहाँ स्वबियू सचिव बन्नुभयो र आफूले नयाँ पुस्तालाई हस्तान्तरण गर्दा महेन्द्र क्याम्पसमा संगठनको अवस्था मजवुद बनाउनुभयो ।  बिद्यार्थी, शिक्षक र पार्टीका बिभिन्न कमिटिमा रहेर उहाँले कम्युनिष्ट आन्दोलन हाँक्नुभएको छ । पार्टीको जिल्ला कमिटि सदस्य,प्रदेशको सल्लाहकार हुदै केन्द्रको पनि सल्लाहकार बन्नुभयो । पहिला आफूहरुले दुःख गरेर संगठन निर्माण गरेका कथाब्यथाहरु अहिलेका पुस्तालाई दन्त्यकथा जस्तो लाग्ने उहाँको अनुभव छ ।