• रणध्वज लाेहार 

धरान ।  धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आर्थिक मन्दकिो चपेटामा परेको छ । एक बर्ष अघि नियुक्ति पाउनु भएका रजिष्टार डा. सूर्यप्रसाद संग्रौलाले नियुक्ति पाएको एक महिना नवित्दैं स्वेत पत्र जारी गर्नु भएको थियो । आर्थिक समस्या कै कारण अहिले पनि कर्मचारी, चिकित्सकहरुले नियमित तलव खान पाएका छैनन् ।

तर यता संघीय सरकार भने प्रतिष्ठानको फर्जि खर्च हुने काम मै बढि जोड गरिरहेको छ । संघीय सरकार मातहात रहेको प्रतिष्ठानलाई स्वास्थ्य मन्त्रालयका सचिव तथा मन्त्रीहरुले पनि दुहुनो गाई बनाउने काम मात्र गदैं आएका छन् ।  

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालिन उपकुलपति डा. ज्ञानेन्द्र गिरीले पदीय मर्यादा विपरीत प्रोफेसर पदको दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ ९ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

डा।गिरीले कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको प्रोफेसर पद प्रयोग गरेको देखिएको भन्दै अख्तियारले  बिशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरे पछि उहाँ स्वत निलम्बनमा पर्नु भएको थियो । 

उहाँको निलम्बन पछि स्वास्थ्य मन्त्रालयले शिक्षाध्यक्ष प्राडा. सञ्जीवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको थियो । तर प्राडा शर्मालाई जिम्मेवारी दिएको केही महिना नवित्दैं स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले विपी प्रतिष्ठान कै प्राडा प्रल्हाद कार्कीलाई कामु उपकुलपति तोक्नु भएको छ । 

मन्त्री वस्नेत नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको ठाडो आदेशमा गत असार १७ गते कार्कीलाई प्रतिष्ठानको कामु उपकुलपतिमा नियुक्ति दिनु भएको थियो । निमित्त भइरहेको बेला मन्त्री बस्नेतले कामु उपकुलपति नियुक्तिगरेर प्रतिष्ठानको थप व्ययभार बढाउनु भएको छ । 

प्रतिष्ठानको नियमावलीमा कुनै कारणवस उपकुलपति खाली भए मर्यादाक्रमको आधारमा भएका पदाधिकारीहरुलाई निमित्त दिने व्यवस्था छ । तर स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले नियम विपरित कामु पद सिर्जना गरेर प्राडा कार्कीलाई नियुक्ती दिनु भएपछि आलोचना  पनि भएको छ । नियमावलीमा कर्मचारी रिक्त भएको हकमा मात्र कामु तोक्ने व्यवस्था भएको प्रतिष्ठानका एक कर्मचारीले जानकारी दिनु भयो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्मालाई निमित तोकिएको दुई महिना पछि प्राडा कार्कीलाई असार १८ गतेहाजिर हुने गरि १७ गते कामु उपकुलपति नियुक्ति गरेको थियो  । 

यस अघि तत्कालिन उपकुलपति प्रा.डा. राजकुमार रौनियार निलम्बन हँुदा पनि तत्कालिन शिक्षाध्यक्ष प्रा.डां गुरुप्रसाद खनाललाई विशेष अधिकारसहितको निमित्त उपकुलपतिको जिम्मेबारी स्वास्थ्य मन्त्रालयले दिएको थियो । तर यस पटक विगतको नजिरलाई लत्याउदैं स्वास्थ्यमन्त्री बस्नेतले कामु उपकुलपति पदाधिकारी भन्दा बाहिरबाट नियुक्ति गर्नु भएपछि मन्त्री बस्नेतले आफ्नो स्वार्थ अनुकुल प्रतिष्ठानलाई थप व्यवभार बढाएको आरोप लागेको छ ।  

प्राडा कार्की प्रतिष्ठानमै कार्यरत वरिष्ठ चिकित्सक हुनु हुन्छ  । डा.कार्कीलाई अर्को व्यवस्था नभए सम्मका लागि आर्थिक र प्रशासनिक अधिकार सहितको कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ ।

तर प्रतिष्ठानका निलम्बित उपकुलपति डा.ज्ञानेन्द्र गिरीको अदालतबाट सफाई पाएको खण्डमा कामु उपकुलपति डा.कार्कीले स्वतः पद छोड्नुपर्ने हुन्छ । यता डा. कार्की उमेर हदवन्दीका कारण आगामी मंसिरमा अवकास पाउने प्रतिष्ठानले जनाएको छ । 

सुद्रिएन विपी प्रतिष्ठान

सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई छाता ऐन ल्याएर एकिकृत गर्ने निर्णय गर्दा विपी प्रतिष्ठानका केही चिकित्सक तथा कर्मचारीहरुले धरानका राजनीतिक दलहरुलाई प्रयोग गरेर विरोध गरे । सरकारले प्रतिष्ठानलाई आफै कमाएर आफै प्रतिष्ठान संचालन गर्न स्वयत्त छाडिदिए पनि यहाँको नेतृत्वको खिचातानी र भ्रष्टव्यापारीहरुसँगको साँठगाँठका कारण प्रतिष्ठानको नेतृत्व विवादमा पदैं आएका छन् । पूर्व उपकुलपति प्राडा. विपी दास, स्व. प्राडा. राजकुमार रौनियार, डा. ज्ञानेन्द्र गिरी, पूर्व रजिष्टार कुलबहादुर श्रेष्ठलगायतलाई भ्रष्टचारको मुद्धा लागेको थियो । सक्षम नेतृत्वको अभावका कारण प्रतिष्ठान ओरोलो लाग्दैं गएको यहाँ कार्यरत चिकित्सक, शिक्षक, कर्मचारीहरु नै बताउछन् । पैसाको चलखेल र राजनीतिक प्रभावमा जुनियर र असक्षम व्यक्तिले पदाधिकारीमा नियुक्ति पाउदा प्रतिष्ठानको दुभाग्य भएको एक चिकित्सक बताउनु हुन्छ । 

 जनशक्ति छ, मेसिन उपकरण छैनन् 

विपी प्रतिष्ठान दक्षिण एसिया मै नाम चलेको स्वास्थ्य शिक्षा र उपचार केन्द्र हो । यहाँ दक्ष चिकित्सकहरु छन् । तर मेसिन उपकरणहरु अभावमा प्रतिष्ठानले प्रभावकारी सेवा दिन सकेको छैन् । एमआरआई मेसिन विग्रिएको बषौं हुदासम्म प्रतिष्ठान नेतृत्वले खरिद गर्न नसक्दा यहाँ आउने विरामी अन्यत्र रेफर हुदैं आएका छन् । अन्य उपकरणहरु पनि पुराना भई काम नलाग्ने  अवस्था भएका कारण सानो परीक्षणका लागि पनि चिकित्सकहरु विरामीलाई अन्यत्र पठाउन बाध्य भएका छन् ।