काठमाण्डौ । काठमाण्डौमा वस्ने धरानेहरुले  पशुपति मन्दिर परिसरमा आध्यामिक वगैचा वनाउने भएको छन् ।पशुपति क्षेत्र विकासले आवेदनको आधारमा धरानेहरुलाई एक विगाहा जमीन मन्दिर परिसरमा उपलव्ध गराएको छ ।   

 पशुपति विकास कोषले उक्त क्षेत्रको ३४ वटा स्थानमा सरसफाई सहित वगैंचा निर्माण गरि वृक्षारोपण कार्यक्रमको लागि आवेदन आव्हान गरेको थियो । सोही आवेदनको आधारमा काठमाण्डौभित्रका धरानेहरुले एक विगाह जमीनमा आध्यामिक वगैचा वनाउनको लागि प्राप्त गरेका हुन् । 

वातावरण तथा वनस्पति अभियन्ता पत्रकार आनन्द श्रेष्ठका अनुसार सो स्थानमा धरानको चारवटा मन्दिरहरुको रुप झल्कने जैविक मन्दिरहरु बनाईने छ । जैविक भन्नाले तारजालीको टोकरी बनाई त्यस भित्र बिरुवाहरु रोपिन्छ जो पछि सोही बिरुवा मन्दिरको आकारमा देखिन्छ । यसलाई टोपियारी शैली भनिन्छ । यो संसारभरि प्रसिद्ध रहेको शैली रहेको श्रेष्ठले बताउनु भयो  ।

धरानेहरुले पाएको सो स्थान गौशाला चोक देखि पशुपतिनाथको मुख्यगेट तर्फ जाने बाटोमा पर्दछ । बलियो पर्खालले घेरिएको सो बगैंचाको गेटमा सुरक्षाको लागि पर्यटक प्रहरी बस्ने घर पनि रहेको छ । धरानमा सम्बन्धित मन्दिरका पुजारीबाट औपचारिक रुपमा बिरुवा लिएर शनिवार बिहान संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री सुदन किराँतीको हातबाट बगैंचामा रोपण गर्न लगाउने कार्यक्रम रहेको छ ।  यसैगरी सो बगैंचाको छेउछेउमा विभिन्न प्रजातिका बाँसहरु पनि रोपिने छ । एक किसिमले सो बगैंचामा आउने मान्छेले एकै ठाउँमा धेरै प्रजातिको बाँस हेर्न पाउने  म्युजियम नै बनाउने परिकल्पना भएको श्रेष्ठले बताउनु भयो  । 

धरानेहरुको तर्फबाट पहलकर्ता राजेन्द्र रिमालका अनुसार बगैंचा चार महिना भित्र तयार गर्नु पर्ने सम्झौता रहेको छ । उहाँका अनुसार त्यहाँ बृक्षारोपणका लागि धरानको प्रतिनिधित्व हुने गरी बुुढासुब्बा मन्दिरको बाँसको बिरुवा,पिण्डेश्वरको रुद्राक्षको बिरुवा,पञ्चकन्याको साल,दन्तकालीको सुपारी पनि रोपिने छ ।

आध्यामिक वगैचा आफनै आवेदन  पारेकाहरुले स्वयम् खर्च व्यवस्थापन गरेर तयार गरिने भएको छ । यो वर्ष १३ वटा संस्थाहरुले बगैंचा बनाउने अवसर पाएकोमा जसको राम्रो हुन्छ प्रथम हुने लाई ३ लाख दोश्रोलाई २ लाख र तेश्रोलाई १ लाख पुरस्कारको व्यवस्था गरिएको कुरा कोषका प्रवक्ता रेवतरमण भण्डारी बताउनु भएको छ  । 

कोषले सो स्थान उपलब्ध गराएकै दिन धरानका ईन्जिनियर सुमन श्रेष्ठको सर्भे टोलीले जमिनको सर्भे गरेर डिजायन कार्य थालनी गरेका छन् । काठमाडौंमा धरानेहरुले गर्ने एउटा महत्वपूर्ण र गर्व लायक कामको अवसर भएकोले यसलाई सम्पूर्ण धरानेहरुले मिलेर सफल बनाउनु पर्ने धरान सरोकार समाजका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठले वताउनु भएको छ ।  

सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएर आए पछि हरेक शनिवार काठमाडौंका विभिन्न सांस्कृतिक सम्पदा मठमन्दिरहरुको सरसफाई अभियान संचालन गर्दै आउनु भएको छ ।सरसफाई कार्यक्रममा स्थानीय सामाजिक संघसंस्थाहरुलाई पनि सहभागी गराउनु पर्छ भन्ने उद्देश्य राखेर यो बगैंचा स्थापना तथा सरसफाई कार्यक्रम राखिएको कुरा पशुपति विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले बताउनु भयो ।