- भीमज्वाला राई
आचार, विचार र व्यवहारमा आजीवन कम्युनिष्ट आदर्श बाँचेका विचारी उराँव सुनसरीको मधेश वस्तीमा गुमनाम जिन्दगी बाँचिरहेका छन् । १९९७ सालमा सुनसरीको पश्चिम कुसाहामा जन्मिएका उराँव उमेरले ८३ लागे । उमेरका कारण सक्रिय हुन सक्ने अवस्थामा छैनन । विचारी उराँवसंगै भूमिगत कालमा काम गर्ने कम्युनिष्ट आन्दोलनका सहयोद्धाहरु धेरै बाँकी छैनन । सक्रिय राजनीतिमा रहेकाहरुले विचारी उराँव बारे जानकारी राख्छन् तर, उनको अवस्थाको सोधिखोजी गर्ने र भेटघाट गर्ने समय कमै निकाल्ने गर्छन् ।
पार्टीमा काम गर्ने पछिल्लो पुस्ताका आम नेता, कार्यकर्ताहरुले आन्दोलनमा पुराना पुस्ताको योगदान बारे खासै चासो राख्न छाडिसकेका छन् । उनिहरुलाई विचारी उराँव जस्ता अग्रजहरुको बारेमा जान्ने खासै दर्कारै पर्दैन त्यस कारण पनि विचारीलाइ चिन्ने कुरै भएन ।
विचारी उराँव, तात्कालिन पछौटे समाजमा ग्रामिण भेगमा किसान र गरिबकाबीचमा कम्युनिष्ट पार्टीले कसरी काम गथ्र्यो भन्ने दुर्लभ इतिहाँस हुन् । विचारी उराँव, कम्युनिष्ट आन्दोलनमा टुटफुट, विभाजन र संकटका समयका जिवित साक्षि हुन् ।
विचारी उराँव, कम्युनिष्ट योद्धाहरु काढ्ने, संरक्षण गर्ने, हुर्काउने बढाउने ओथरा हुन् । थुप्रै कमरेडहरुका सेल्टरदाता हुन् ।
तिनै विचारी उराँवसंग कुराकानी गर्न उनकै निवासमा पुगेका बेला आँगनमा उभिएर पुराना दिनहरुको स्मरण गर्दै उनले सुनाए ‶यही ठाँउ हो पहिले गुँड जस्तै, झिक्राले बनेको झुपडी थियो । धेरै कमरेडहरुका लागि सेल्टर थियो” पहिलेको गुँडको ठाँउमा अहिले छोराहरुले कटेरो बनाएका छन् खासै धेरै परिवर्तन छैन । यो घर वामपन्थी विचारको विस्तार गर्ने थलो हो ।
कोशी गाँउपालिका वडा नम्बर २ झापा टोल साविक पश्चिम कुसाहाका उनै विचारी उराँव वाम आन्दोलनमा आफुले गरेका कामहरु सम्झिरहेका छन् । समाजवादको सपना बोकेर आन्दोलनमा विताएका आफ्ना उर्जाशील जीवनका पानाहरुलाई पल्टाइरहेका छन् ।
गरिब परिवारमा जन्मिएका उराँवले १५ वर्षकै उमेरमा भिख्नीदेवीसंग विवाह गरे । राजेन्द्र, भूवनेश्वर, विशेस्वर, धनबहादुर र विन्देश्वर गरि ५ भाइ छोराहरु र एक छोरी उर्मिलाको अभिभावकत्वसंगै वाम आन्दोलनको अगुवाइ गरे ।
२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र खोसेको घटनामा पार्टीका महासचिव केशरजंग रायमाझी राजाको कमदको पक्षमा लागेपछि पार्टीमा उथलपुथल भयो पार्टीभीत्र थुप्रै विचार समहहरु बने कृष्ण वर्मा समुहमा रहेर काम गरे । पार्टी र त्यस समुहभीत्र समेत गुट उपगुट र विभिन्न समुहको तानातानमा परेपछि मनमोहन अधिकारीको माक्र्सवादी समुहमा जोडिँदै २०४७ सालमा माले र माक्र्सवादीबीच एकिकरण भएर एमाले बनेपछि अहिलेसम्म निरन्तर एमाले छन् ।
विचारीको कम्युनिष्ट यात्रा :
त्यो वेला वस्ती पातलो थियो, चारैतिर जंगलैजंगल थियो, पूर्वपश्चिम सडक बनेकै थिएन, पढ्नका लागि विद्यालय थिएन हाम्रो काम गाइभैसी चराउने, हलो जोत्ने हुन्थ्यो । स्कुल नदेखेका, पढ्न नपाएका म जस्ता अरु पनि थिए र हामीलाइ पढाउनका लागि भन्दै भारतको विहारबाट मथुराप्रसाद सिंह नामको मास्टर हाम्रो गाउँमा आएका थिए । उनि हाम्रै गाउँमा बस्थे । हामीलाई अक्षर चिनाउने काउम उसैले गरेका हुन् । कक्षा पछि उनि सधैँ एउटा महत्वपूर्ण काम छ म जान्छु भन्थे । के काम भन्दा क्लास छ बैठक छ भन्थे । उनि प्राय जमुवाबाट नहरको बाटो जंगलको बाटो हिँड्थे ।
एक दिन म पनि जान्छु भनेँ, सुरुमा उनले मानेका थिएनन् तर मैले जान्छु भनेपछि उनिसंगै गएँ । उनले हरीपुर पुर्याए त्यहाँ ऋषिदेव मुसहर, रामनाराण (थर याद भएन) भोला कमरेड (थर थाहा भएन) र पौडेल कमरेड (नाम बिर्सेँ) संग भेट गराए ।
जनवाद ल्याउनु पर्छ त्यो भनेको किसानहरुको राज्य हो मजदुरहरुको राज्य हो, जमिन जोत्नेको हुनुपर्छ, सामन्तहरुलाई अन्त्य गर्नु पर्छ र त्यो काम कम्युनिष्ट पाटीले गर्छ भनेपछि मैले पनि आजदेखि म कम्युनिष्ट हुन्छु भन्ने निर्णय गरेँ । र कमरेड भनेको साथी हो, हामी सबै समान हौं, जात, धर्म ठुलो होईन, गरिब किसान र मजदुरको पार्टी कम्युनिष्ट हो भन्ने क्लास पाएपछि मलाई त्यस कुराले सारै प्रभावित बनायो ।
किन भने हाम्रो गाउँमा लक्ष्मीबाबु भन्ने जमिन्दार थियो, त्यो जमिन्दारको गाउँमा रजगज थियो हामीलाई जात्न लगाउथ्यो तर बनि (तोकिएको अन्न) दिदैन थियो । सोझा सिधा किसानहरुको जग्गा विभिन्न नाममा हड्पिन्थ्यो । हामीले फोकटमा जोतिदिनु पथ्र्यो । जमिन्दारको शोषणले पनि मलाइ कम्युनिष्ट बन्न बाध्य बनायो । र मैले २०२२ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए ।
टुटफुट र गुटले कम्युनिष्ट कमजोर:
मेरो घर पार्टी काम र नेतृत्वको केन्द्र थियो पार्टीका नेताहरु मेरो घरमै आउथे, पार्टी जिल्ला कमिटीको बैठक पनि मेरै घरमा हुन्थ्यो । पार्टीका दस्तावेजहरु मेरैमा सुरक्षित राखिएका थिए । रायमाझी कारबाहीमा परेपछि विष्णु मानन्धर, कृष्ण वर्माहरुले पनि फरक समुह बनाएका थिए । विष्णु मान्नधर त मेरो घरमै आएर मलाई साथ दिनु पर्यो भनेर फकाउथे । तर, म टुटफुट, विभाजन र गलत कामको जहिल्यै विरोध गरेँ । कतिपय नेताहरुको विवादको विषय रुसले विद्यार्थीलाई दिने छात्रवृतिमा कुन नेताको छोराछोरी पठाउने र कसले पहिले पठाउने भन्नेमा पनि थियो त्यसको मैले विरोध गरेँ ।
त्यस्तै झापामा भएको २०२८ सालको विद्रोहपनि समयसापेक्ष होइन भनेको थिएँ । मेरो बुझाइ के थियो भने हत्याहिंसा भन्दा प्रजातान्त्रिक विधिबाट कम्युनिष्टहरुले सबैको मन जित्नु पर्छ भन्ने हो । २०१९ सालदेखि करिव २०३५ /२०३६ सालसम्म आइपुग्दा धेरै कम्यसनिष्ट पार्टीहरु बनिसकेको थियो । त्यहीवेलादेखि कम्युनिष्ट पार्टीमा टुटफुट भइरहेको छ अहिलेपनि नयाँ पार्टी बन्ने र फुट्ने क्रम रोकिएको छैन ।
स्वअध्ययनले सहि ठाँउमा ल्यायो :
मेरो उमेरको ९ देखि १३ वर्षको उमेरसम्म पढेको हो । त्यस पछि मैले स्वअध्ययन गरेको हो । भारतीय कितावहरु पढेको छु, माक्र्सवाद सम्बन्धी पुस्तकहरु र रसियन प्रकाशनका पुस्तकहरु पढेको छु । त्यो समय मलाई धरानका विए कृष्ण श्रेष्ठले पुस्तक ल्याइदिन्थे, धेरै पुस्तकहरु र कागजातहरु मेरोमै छाड्थे । धरानकै देवराज अधिकारीले पुस्तकहरु ल्याइदिन्थे । देवराज अधिकारी प्राय मेरो घरमा आइरहने र पुस्तक तथा पत्रपत्रिका ल्याइदिनेमा पर्छन् । देवराज अधिकारी मेरोमै बास बस्थे, म पनि धरान जाँदा देवराज अधिकारीकै घरमा बस्थें । तिनै पुस्तक र पत्रपत्रिकाको अध्ययनले मलाई विचार बुझ्न सजिलो भयो । दृष्टिकोण बनाउन मद्दत पुग्यो ।
सुनसरीको प्रकासपुर, श्रीपुर, हरीपुर भोक्राहा, मधुवनमा हाम्रो पकड राम्रो थियो । मैले कम्युनिष्ट बनाएकाहरु अहिलेपनि धेरै छन् । हामी जिल्लाका प्राय सबै स्थानहरुमा जान्थ्यौं राती राती पार्टीका काम गथ्यौँ । वंशी मोक्तान, डम्बर बुढाथोकी, गणेश ठाकुर, कमलदेव मेहता, कदमलाल उराँव, सप्तरीका कमरेडहरु त्यस समयका सक्रिय कमरहरु हुन् ।
पछि माक्र्सवादी ठिक छ भन्ने निष्कर्षमा म पुगें । माक्सवादीमा म मात्रै होइन धेरैजनाको कुरा मिल्यो । माक्सवादी र मालेबीच एकिकरण भएर नेकपा एमाले बनेपछि नेकपा (एमाले) शक्तिमा मात्रै होइन दृष्टिकोण विचार र जबजको जगमा यो नै देशले खोजेको पार्टी बनेको छ भन्ने विश्वास छ ।
विचारीका विचार र परिवारको साथ
नेकपा (एमाले) को प्रारिम्भक समयमा सुनसरी जिल्ला समदस्य भएर काम गरेका विचारी उराँव सास रहुन्जेल एमाले भएर बाँच्ने अठोटका साथ पार्टीका हरेक कामलाई नजिकबाट हेरिरहेका छन् । अहिले उनको परिवारै एमाले छन् । उनको परिवार संगोलमा छन् परिवारमा अहिले ३१ जना छन् विचारका हिसावले सबै एमाले छन् । उनको काँइली बुहारी अनिता उराँव एमाले सुनसरी जिल्ला कमिटी सदस्य, लोकतान्त्रिक उराँव संघको केन्द्रीय अध्यक्ष एवम् नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रीय सदस्यका रुपमा काम गरिरहेकी छिन्, काँइलो छोरो धनबहादुर उराँव कोशी गाउँ कमिटी सचिवालय सदस्य छन् । परिवारका अन्य सदस्यहरु सबै एमालेमै छन् । विचारी भन्छन् एमाले हुनमा गर्व छ र त हामी सबै एमालेमै छौं ।
विचारीको चिन्ता
मजदुर, किसान, सुकुम्वासी र गरीखाने जनताको विषयमा पार्टीले ध्यान कम दिएको हो कि जस्तो देख्छु । अहिलेका नेतृत्वमा माथिका नेतादेखि तलका नेता, कार्यकर्तासम्म अनुशासनको कमि देख्छु । पार्टीको नीति, नियम र विचारलाई बोक्ने नेताहरु कमै देख्छु । यो राम्रो होइन । यसरी समाजवाद ल्याउन सकिदैन ।
हामीले काम गर्दा अनुशासन कडा थियो, आचार, विचार र व्यवहार कम्युनिष्ट चरित्रको हुन्थ्यो । पार्टीको नीति, विचार र सिद्धान्त विपरित हिड्यो भने कारबाही हुन्थ्यो ।
अहिलेका नेताहरु औधि नै लोभी जस्तो लाग्छ । पार्टीको पद चाहिने, लाभको पद पनि चाहिने, नेतृत्वमा पनि निरन्तर बसिरहनु पर्ने । पार्टीमा लामो समय काम गर्नेहरुलाई वास्ता नगर्ने, यस्तोपाराले पार्टी बलियो हुँदैन । यसलाई सच्याउनु पर्छ ।
नेता, कार्यकर्ताहरुले अध्ययन गर्न छाडे
उनले दुईवटा पुराना काठको बाकसको ताला खोल्दै पुराना पुस्तकहरु देखाए । त्यहाँ बोल्सेविकको इतिहास, इतिहासलाई फर्केर हेर्दा, रसियन प्रकाशनहरु देखाउदै भने अहिलेका नेता कार्यकर्ताहरुले पुस्तक पढ्न छाडे । अध्ययननै नगरी टापटिपे कुरा गरेर नेता भइरहेकाछन् । राजनैतिक वैचारिक अध्ययनबीना नेता हुन त सकिएला तर नेतृत्व गर्न सकिदैन । संख्या बटुलेर मात्रै पार्टी बन्दैन, विचार सहितको नेतृत्व र पार्टी बनाउनु पर्छ ।
पार्टीसंग केही अपेक्षा छैन :
मैले कहिल्यै पदकालागि मरिहत्ते गरिन, पार्टीमा निरन्तर काम गरेँ, २०४६ पछिका निर्वाचनहरुमा पनि पार्टीका अन्य कमरेडहरुलाई सहयोग गरें, जिताउन भूमिका खेलें तर आफै पदमा जाने सोंच कहिल्यै आएन । अब त मेरो उमेरले डाँडा काटिसक्यो, म कतिखेर खोला जानु पर्छ थाहा छैन । मैले मेरो पुरै जीवन कम्युनिष्ट आन्दोलनमा लागेर विताँए पार्टीसंग मेरो केही अपेक्षा छैन । कम्युनिष्ट पार्टी बलियो बन्नु पर्छ । एमाले बलियो हुनु पर्छ मेरो अपेक्षा यतीनै हो ।
प्रेरणादायी व्यवक्तित्व:
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीशप्रसाद कुसियैत भन्नुहुन्छ विचारी उराँव सुनसरीकै अगुवा कम्युनिष्ट हो । हामीले जान्दादेखिनै वहाँ जुझारु नेताका रुपमा चिनिनु भएको थियो । गरिबि, अशिक्षा र अविकास व्याप्त रहेको मधेशमा विचारीको विचार उच्च थियो । वहाँ निरन्तर लाग्नु भयो वहाँ प्रेरणादायी व्यवक्तित्व हो । जतिबेला म राजनीतिमा बामे सर्दै थिएँ विचारीकै अभिभावकत्व र सल्लाहमा म अघि बढेको हो । वहाँ हाम्रो पार्टीको मात्रै होइन नेपालको कम्युनिष्ट आन्दोलनकै गहना हो । हामी सबैको सम्पति हो ।
पुराना वामपन्थी नेता २०४९ र २०५४ सालमा भएको स्थानीय तह निर्वाचनमा दुई पटक महेन्द्रनगर गाउँ विकास समितिको अध्यक्ष हुनु भएका बद्रीनाथ घिमिरे विचारी उराँव पुराना नेता र भूमिगत कालदेखिकै कम्युनिष्ट रहेको बताउनुहुन्छ । हाल एमाले कोशी प्रदेश सदस्य समेत रहनु भएका घिमिरे भन्नुहुन्छ विचारी उराँवलाई मैले २०३८ साल अघिदेखिनै चिनेको हुँ । वहाँ मेरो समकक्षि नेता हो । मेरो घर महेन्द्रनगर सालबन्दी त्यस समय भूमिगत कमरेडहरुको सेल्टर हो विचारी पनि वरोवर मेरोमा आउनुहुन्थ्यो हाम्रो पनि त्यतिखेरको पश्चिम कुसाहा जाँदा बस्ने घर विचारी उराँवकै घरमा हो । वहाँ सारै इमान्दार मान्छे हुनुहुन्थ्यो । (लेखक राई नेकपा एमाले काेशी प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।)