धरान / मुलुकमा  २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने  व्यवस्था भएबमोजिम गरिएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका पाँच सय ९४ सदस्य मतदाता थिए । 

पहिलो निर्वाचनमा केही राजनीतिक दलले भाग नलिएका कारण पाँच सय ७८ सदस्यले मात्र मतदान गरे । सो निर्वाचनमा रामवरण यादवले दुई सय ८३ तथा रामराजाप्रसाद सिंहले दुई सय ७० मत प्राप्त गर्नुभयो । प्रथम चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेको हुँदा २०६५ साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा यादवले तीन सय आठ तथा सिंहले दुई सय ८२ मत प्राप्त गर्नुभयो । संविधानसभा सदस्यमा तत्काल कायम रहेका सदस्यको बहुमत प्राप्त भएपछि यादव नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित हुनुुभएको थियो । 

नेपालको अन्तरिम संविधान, २०६३ मा राजनीतिक सहमतिका आधारमा राष्ट्रपतिको निर्वाचन संविधानसभाले गर्ने व्यवस्था थियो । दलहरुबीच यदी सहमति कायम हुन नसकेमा संविधानसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था थियो ।

संविधानसभाबाट नेपालको संविधान जारी भएपछि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको प्रावधानअनुरूप राष्ट्रपति निर्वाचन सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट बहुमतबाट हुने व्यवस्था छ । वर्तमान राष्ट्रपतिको निर्वाचन २०७४ फागुन २९ गते भएको थियो ।

उक्त निर्वाचनमा सङ्घीय संसद् सदस्य तीन सय ३४ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहेकामा सङ्घीय संसद् सदस्य तीन २६ र प्रदेशसभा सदस्य ५३६ गरी जम्मा आठ सय ६२ जना (

९७.५१ प्रतिशत)ले मतदान गरेका निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । निर्वाचनमा आठ जना (०.९३ प्रतिशत) को मत बदर भएको थियो ।

सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहने कानुनी व्यवस्था भएको उक्त निर्वाचनमा विद्यादेवी भण्डारीलाई ३९ हजार दुई सय ७५ तथा कुमारी लक्ष्मी राईलाई ११ हजार सात सय ३० मत प्राप्त भएको थियो ।

आज मुलुकको तेश्रो राष्ट्रपतिका लागि निर्वाचन हुदैंछ । नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र पौडेल उम्मेदवार बन्नु भएको छ । 

निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनु भएको छ । 

संघीय सांसद(प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले निर्वाचनमा भाग लिनेछन् । संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ । मतदाताले आफूलाई मन परेको उम्मेदवारको नाम र फोटो भएको कोठाभित्र स्वस्तिक छाप लगाउनुपर्ने छ ।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ ।

निर्वाचनलाई लक्षित गरी संसद भवन भित्र र बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हुन् । कांग्रेसबाट चुनिएका यादवको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो । दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित हुनु भएको थियो । 

भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न आज निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति पुनः निर्वाचनमा उम्मेदवार हुन नसक्ने संविधानमा व्यवस्था छ ।