धरन /  धरान सभागृहमा सांस्कृतिक दमन, पहुँच र अवसरबाट वञ्चित आदिवासी जनजाति युवाहरूको अवस्था चित्रण गरिएको कथा बोकेको ‘कुमार मामा’ नाटक प्रर्दशन गरिएको छ ।

कथाकार जनकऋषि राईले लेखेको कथा ‘कुमार मामा’को नाट्य रूपान्तरकार प्राज्ञ विष्णु मोक्तानको निर्देशनमा फागुन १७ गतेदेखि हरेक साँझ फागुन ३० सम्म मञ्चन गरिदैं छ ।  लेखक राईले २०६६ सालमा प्रकाशित कथा सङ्ग्रह ‘वस्ति भित्र’को एउटा कथा ‘कुमार मामा’लाई मोक्तानले नाटकीय रुपान्तरण गरि कथालाई अझ गहन र परिस्कृत बनाएर नाटकमा पस्किएका छन् । 

कुल ४ रंगमञ्चय दृश्यमा समेटिएको नाटकले मुलुकमा गणतन्त्र ल्याउन सङ्घर्षमा सहभागी भएका आदिवासी जनजाति युवाहरूको कथालाई रोचक ढङ्गमा प्रस्तुत गरिएको छ । देशमा परिवर्तन ल्याउने कल्पना लिएर द्वन्दमा होमिएका त्यस बेलाका युवाहरूको अहिलेको अवस्था कुमार मामाको अविवाहित मार्मिक वियोगान्तका रूपमा नाटकमा देखाइएको छ ।

२०६२,०६३ को जनआन्दोलनले देशमा गणतन्त्र ल्यायो । तर त्यो जनआन्दोलनमा संलग्न युवाहरूले जुन परिकल्पना गरेका थिए, उनीहरूले के पाए ? विशेषतः आदिवासी जनजाति युवाहरूले न अवसर पाए, न राज्यमा पहुँच पाउन सके । राणाकाल र पञ्चायती कालमा जस्तै लाहुरे जाने तयारी गर्नेहरू, त्यसमा असफल भएकाहरू गाउँ, सहरमा मजदुर गरेर जाँडरक्सी खाएर बेवारिसे मृत्युको अवस्था सम्म दोहोरिएको कथा नाटकमा रूपमा प्रस्तुत गरिएको छ ।

नाटकमा आदिवासी जनजाति भएकैले सांस्कृतिक रूपमा विभेदको शिकार हुनु परेका, आफ्नो सांस्कृतिक चाडमा रोजगारदाताले छुट्टी नदिएको र लाहुरे जाने आशाले युवाहरु गाउँमा कुलतमा फसेका कथा प्रस्तुत गरिएको छ । अझ सहरिया संस्कृतिको अतिक्रमणले आफ्नै मानिसहरू पनि सांस्कृतिक कुराहरूलाई गौण मान्ने प्रवृत्ति बढेर परम्परागत जीवन विश्रृंखलित बन्दै गएको कुरा हिजोआजका गाउँ, सहरका भट्टी पसल, बसपार्कमा राती देखिने सडक मानवको अवस्था, सुकुम्वासी बस्तीका चौकहरूमा देखिने दृश्य नाटकमा मिहिन रुपमा प्रस्तुत गरिएको छ । राजधानी बाहिर एउटा राम्रो नाटक घरको अभावमै करिव सवाघण्टाको नाटक कलाकारहरुले जीवन्त प्रस्तुत गरेका छन् । नाटकमा केही हाँस्य व्यङ्ग्य  रस पनि प्रस्तुत गरिदा दर्शक दिर्घाबाट हासो पनि उतिकै निस्कने गरेको छ । 

आदिवासी जनजाति युवाहरूको गाउँ र शहरमा हुने दैनिकी कुमार मामामा सजीव रुपमा चित्रण गरिएको छ । पटक पटकको असफलता, पहुँच नभएका युवाहरूको मनस्थिति जाँड, रक्सी खाएर विश्रृंखलित बनेको दृष्य नाटकमा पोखिएको छ । 

नाट्य रुपान्तरका पात्रहरू विष्णु मोक्तान, उदय बेघा लिम्बु, सजेष्ट घायल राई, विकास कुलुङ, मानबहादुर राई, दीपेन्द्र राई, एलिना रुम्दाली, करिश्मा क्षेत्री, एञ्जल तामाङको टिम रहेको छ । राजधानी बाहिर सभागृहको लथालिङग अवस्थामा पनि मञ्चलाई नाटक प्रदर्शनका लागि कलाकारहरुले नाट्य प्रस्तुतिलाई नयाँ आयम थपेका छन् । 

 नाटकमा आदीवासी युवाहरुको चरित्र चित्रण तथा उनीहरुको समस्या र भोगाई सटिक रुपमा प्रस्तुत भए पनि अव युवाहरुको गन्तव्य के हुने, जीवन शैली कस्तो बनाउने भन्ने सुझाव पनि नाटकमा समेटिए झन उत्कृष्ट हुने दर्शकहरुले प्रतिक्रिया दिनु भएकाे छ । 

333313362_3011803449116533_3949121252559121737_n