धरान  / भारतबाट अवैध रूपमा भित्रिने नशालु पदार्थ तराईका जिल्लामा खुलेआम बिक्री हुँदै आएको छ । अवैध नशालु पदार्थ सस्तो दरमा पाइन थालेपछि विशेषगरी युवावर्गमा यसको लत लाग्ने गरेको छ । दुई रुपैयाँमा पाइने शिमव भाङ खाएपछि त्यसले असाध्यै नशा दिने गरेको प्रयोगकर्ताहरू बताउँछन् । भाङको नाम दिएर यहाँ यस्ता दर्जनौँ भारतीय नशालु पदार्थ खुलेआम बिक्री(वितरण हुँदै आएको छ । 

यसका अलावा धुलोमा पाइने ‘सुहाना’, ‘रसिला’ आदि नशालु पदार्थ पनि पाँच रुपैयाँमा पाइरहेको छ । ‘मस्त निदके लिए, थकाइ हटानेके लिए अति उत्तम बौद्धिक चूर्ण’ भनेर ती सामग्रीको पाकेटमा लेखिएको हुन्छ । खासगरी पान र किराना पसलमा खुला रूपमा बिक्री(वितरण हुँदै आएका यस्ता सामग्री १४÷१५ वर्ष उमेरदेखिका व्यक्तिहरूले प्रयोग गर्दै आएका छन् । 

सुरुमा यस्ता नशालु पदार्थ सस्तो मूल्य राखेर लोभ्याएपछि मूल्य बढाउँदै बिक्री(वितरण गर्ने काम सुरु हुन्छ । पहिला ६ रुपैयाँदेखि बिक्री थालिएको ‘डबल मजा’ अहिले २५ रुपैयाँमा बिक्री हुँदै आएको छ । 

गुट्खाजस्तै सडेको सुपारीबाट निर्माण गरिएको ‘डबल मजा’ का साथमा सुर्तीबाट निर्मित तुलसी पनि राखिएको हुन्छ । राम्रो सुगन्ध दिने र चपाउँदा मजा आउने भएकाले यसको प्रयोगकर्ता बढी रहेको जानकारहरू बताउँछन् । 

“दैनिक आठदेखि १० वटासम्म डबल मजा खाने बानी परिसकेको छ”( कृष्णपुरका सञ्जय यादवले भन्नुभयो(“मजस्तै यसको प्रयोग गर्ने धेरै व्यक्ति छन् ।” उहाँको भनाइमा कतिपय महिलाले पनि यसको प्रयोग गरिरहेका छन् ।

योभन्दा बढी ‘गुट्खा’ को प्रयोगकर्ता छन् । सगरमाथा अञ्चलको प्रमुख व्यापारिक बजार लहानको एक पान पसलमा मात्र दैनिक पाँच प्याकेटभन्दा बढी गुट्खाको बिक्री(वितरण हुँदै आएको छ । दुई रुपैयाँमा पाइने गुट्खाको बिक्री ग्रामीण भेकमा पनि उल्लेख्य रहेको जिझौलका अजय यादवले बताउनुभयो । गुट्खा, डबल मजा, सुहानाजस्ता नशालु पदार्थ एकदुईपटक प्रयोग गरेपछि यसको लत नै लाग्ने गरेको उहाँको भनाइ छ ।

भारतले हरेक वर्गलाई लक्षित गरी सुपारी र सुर्तीजन्य सामग्रीको उत्पादन गर्दै आएको छ । बालबालिकालाई लोभ्याउन विभिन्न नाम दिएर ‘स्विट सुपारी’ बनाउँदै आएको छ । एक रुपैयाँमा नै पाइने यो पनि सडेको सुपारीबाट बनाइएको हुन्छ । जानेर होस् या अन्जानमा कतिपय अभिभावकले नै आफ्ना बालबालिकालाई यसको प्रयोग गर्न लगाइरहेका सिरहाका वरिष्ठ पत्रकार अर्जुन थपलियाको भनाइ छ । 

तस्करमार्फत आउने यस्ता नशालु पदार्थको करसमेत तिर्नु नपर्दा सस्तोमै बिक्री भइरहेको व्यापारीहरू बताउँछन् । ठूला(ठूला सामग्री भारतबाट ल्याउँदा प्रहरी, प्रशासनले केही कडाइ गरे पनि यस्ता सामग्रीप्रति उनीहरू अनभिज्ञ छन् । 

कुन र कस्तो तत्व मिसाएर यस्ता नशाजन्य पदार्थको निर्माण भइरहेको हो, त्यसबारे अहिले भन्न सकिने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका नासु राजकुमार दासले बताउनुभयो । भारतबाट खुलेआम आउने र बिक्री(वितरण हुने नशालु पदार्थको कारोबार बन्द गराउन स्थानीय प्रशासनको ध्यान जानु जरुरी भएको उहाँको भनाइ छ ।