धरान / धरानका मेयर हर्क साम्पाङले धरानको मौलिक परिकार र स्वादहरूको ब्राण्डिङ गर्ने चाहना रहेको र त्यसका लागि यस क्षेत्रमा काम गर्ने  विज्ञहरूलाई सुझाव दिन आग्रह गर्नु भएको छ । धरानमा २१ दिनसम्म सञ्चालित पाक शिक्षाको तालिमको समापनका अवसरमा बोल्दै मेयर साम्पाङले प्राविधिक ज्ञानको अधिकतम प्रयोग गर्न विद्यार्थीलाई हौसला प्रदान गर्नु भयो । 

धरानको पर्यटनलाई समृद्ध बनाउन हस्पिटालिटी सेक्टरको महत्त्वपूर्ण भूमिका रहने भन्दै मेयर साम्पाङले धरानको विशिष्ट स्वादहरू पर्यटक माझ पस्कन स्थानीय सरकारले पनि केही काम गर्ने तर विज्ञको सुझाव आवश्यक भएको बताउनु भएको छ । 

स्वीट्जरल्यान्डका एक्जेक्युटिभ सेफ गुन्थर नट्जको प्रशिक्षणमा भएको २१ दिनसम्मको तालिममा विद्यार्थीले डेजर्ट आइटम, इटालियन फुड, कन्टिनेन्टल कुजिन, किचन हाइजिङ, फुड डेकोरेसन, फुड स्टोरेजलगायतका सीप आर्जन गरेको कलेजले जानकारी दिएको छ ।

कार्यशालामा प्रशिक्षक नट्जले आफ्नो सिग्नेचर कुजिन ‘वाइन सुपु’ लगायत इटालियन, कन्टिनेन्टल कुजिन प्रस्तुत गर्नु भएको थियो ।  एक्जेक्युटिभ सेफ नट्जले प्रेम, समर्पण र कलात्मकताको संयोजनमा खानालाई तयार गर्न प्रशिक्षार्थीलाई प्रोत्साहन गरेको बताउनु भयो । 

कार्यक्रममा नेपाल यातायात स्वातनत्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा संचारकर्मी भीमज्वाला राईले धरानलाई पर्यटकीय शहरको रुपमा भित्रित गरिए पनि स्थानीय सरकारले ठोस काम गर्न नसकेको बताउनु भएको छ । धरानको पहिचान खुल्ने खानाका परिकार अझैसम्म छुटाउन नसकेको बताउदैं त्यस तिर स्थानीय सरकारले ध्यान पु¥याउनु पर्ने उहाँको भनाई थियो । होटल व्यवसायी, पर्यटन व्यवसायी र होटल म्यानेजमेन्ट सम्बन्धिका कलेजहरुसँगकोका सहकार्यमा उहाँको ‘टिपिकल खाना’ पहिचान गर्नु पर्ने उहाँले बताउनु भयो । 

कार्यशालाका अवसरमा विद्यार्थीले तयार गरेको कुकिज धरानका शिक्षक, प्राध्यापक, जनप्रतिनिधि र सञ्चारकर्मीहरूलाई सर्भ गरिएको थियो । इटालियन तथा कन्टिनेन्टल परिकार, किचन हाइजिङ, फुड डेकोरेसन, फुड स्टोरेज लगायतका सिप सिकेको प्रशिक्षणमा सहभागी विद्यार्थी निशा राईले बताउनु भयो ।  

धरानको पर्यटनमा ‘हस्पिटालिटी सेक्टर’लाई जोड्न पाक शिक्षा प्रशिक्षण (कलिनरी वर्कसप) सञ्चालन गरिएको कार्यक्रम संयोजक सञ्जीव  बान्तवा राईले जानकारी दिनु भयो ।  

स्वीस कन्ट्याक्टको संयोजनमा धरान इन्टरनेश्नल कलेज अफ होटेल म्यानेजमेन्टको आयोजनामा प्रशिक्षण भएको कलेजका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । ८ वर्ष अघि स्थापना भएको कलेजमा हाल ४२ जना विद्यार्थी अध्ययनरत छन् । कलेजले उत्पादन गरेका ३ सय ५० भन्दा बढी विद्यार्थी हस्पिटालिटी क्षेत्रमा कार्यरत रहेको  प्रमुख कार्यकारी निर्देशक श्रेष्ठले बताउनु हुन्छ । तालिममा १५ दिनसम्म विद्यार्थीहरूले प्रशिक्षण लिए भने एक हप्ता प्रयोगात्मक कार्यशालामा सहभागी भएका थिए । प्रशिक्षणमा धरानका विभिन्न कलेजका ४२ जना विद्यार्थीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।