दोधारा चाँदनी, / कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारू समुदायको दसँै अन्य समुदायको भन्दा पृथक छ । अन्य समुदायले बडादसैँको पहिलो दिन घटस्थापनामा जौको जमरा राख्छन् तर यो समुदायले घटस्थापनाको दोस्रो दिन मकैको जमरा राख्ने प्रचलन छ ।
थारू समुदायका जानकारहरूका अनुसार यो समुदायले पृथक तरिकाले दसैँ धुमधामसँग मनाउने गर्छन् । “दसैँमा विशेषगरी हाम्रो समुदायमा पितृपूजा हुन्छ”, थारू अगुवा बलबहादुर डगौराले भन्नुभयो, “थारूमा पनि विभिन्न थरी छन्, सबैको फरक फरक चलन छ ।” उहाँले थारू समुदायमा दसैँको टीका पनि सेतो लगाउने प्रचलन छ । तर पछिल्लो समय यो परम्परालाई छोडेर रातो टीका लगाउन थालेको उहाँले बताउनुभयो । “हाम्रो परम्पराअनुसार दसैँमा सेतो टीका पाँच ठाउँमा लगाइन्छ”, उहाँले भन्नुभयो, “अहिले सबैले अन्य समुदायको जस्तो रातो टीका लगाउन थालिसके ।”
दसैँको पहिलो दिन घटस्थापनालाई ‘जिउरा ढर्ना’ दिन भनिन्छ । यस दिन बिहानै घरमूलीले पवित्र भएर रातोे माटो ल्याएर देउथान ९देवता राख्ने ठाउँ० मा मकैको जमरा राख्छन् । कसैले दोस्रो दिन जमरा राख्छन् । जमरा राखेदेखि नै गाउँका सबैजना भलमन्साको आँगनमा भेला भएर रातभर सखिया नाच्ने गर्दछन् ।
तेस्रो दिन टेरो कुल थरका थारूहरूले पितृलाई विधिपूर्वक पूजा गर्छन् भने पञ्चमीको दिन दहित कुल थर भएका थारू समुदायले पितृपूजा गर्ने प्रचलन छ । उसलाई थारू भाषामा ‘सराढक’ दिन भनिन्छ । यो दिन महत्वपूर्ण दिन मानिन्छ । त्यसैगरी षष्ठी र सप्तमीमा चेलीबेटीहरूलाई निम्ता गर्ने, लुगाफाटा धुने, माछा मार्ने, तरकारीको जोहो गर्ने गरिन्छ । “सुकेको माछा र घरमा बनेको रक्सी बिना पितृपूजा अधुरै हुन्छ, मदिरा र माछा अनिवार्य हो”, स्थानीयवासी देवी चौधरीले भन्नुभयो, “मदिरालाई प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।”
महाअष्टमीको दिन विशेषतः ढिकुरी रोटी पुजिन्छ । यस दिनलाई थारू भाषामा ‘ढिक्रहवक’ दिन भनिने उहाँले बताउनुभयो । उहाँका अनुसार यस दिन सुँगुरको मार हान्ने प्रचलन छ । दिनभरि ढिकुरी बनाइन्छ । साँझपख गाउँको भलमन्साको आँगनमा गाउँका सबै भेला भएर सखिया नाचिन्छ ।
यो समुदायमा नवमीको दिन अझ महत्वपूर्ण दिन हो । यस दिनलाई थारू भाषामा ‘मुर्गैहवक’ भनिन्छ । पितृपूजा गर्दा भालेको बलि दिने भएकाले मुर्गेहवक दिन भनिएको जानकारहरु बताउँछन् । कुलअनुसार मुर्गाको सङ्ख्या घटीबढी हुने गर्दछ । बिहानै कुखुरा बासेपछि कुभिण्डाको भेडा छप्काइन्छ । बिहान कुखुराको बलि दिइन्छ । कुखुराको मासु, माछा, कुभिण्डो, रायोको साग र मदिरा पितृपुजनमा अनिवार्य खाना हुन् ।
“कसैले चारवटा कुखुराको बलि दिन्छन्, कसैले सातवटाको बलि दिन्छन”, स्थानीयवासी सीता चौधरीले भन्नुभयो, “विशेषगरी यो दिन पितृहरुको पूजा गरिन्छ ।” पूजा गरिएको सामग्री, टपरी, पात र अन्य फोहर सबै बढारेर नजिकको नदी, खोला वा तलाउमा छोड्ने गरेको उहाँले बताउनुभयो । यसलाई थारू भाषामा ‘पिट्टर पुहैना’ भनिने उहाँले बताउनुभयो । यस दिन गाउँभरिका महिलाहरू परम्परागत पहिरनमा सजिएर ढकियामा खानपिन, रक्सीसहित पिट्टर पठाउन निस्कने प्रचलन रहेको चौधरीले बताउनुभयो ।
दशमीका दिन घरमा पूजा गरेको जमरा र प्रसाद लगेर गाउँका भलमन्सा पुजारीलगायत ठूलाबडाको घरमा गएर आशीर्वाद लिने शिक्षिका सरिता चौधरीले बताउनुभयो । “मान्यजनको घरमा टीका लगाउन पनि जान्छन्, टीका थाप्न पनि जान्छन्”, उहाँले भन्नुभयो, “टीकाको दिन मान्यजन, इष्टमित्र सबै बसेर खाने र सखिया नाच्ने गर्छन् ।” उहाँले कसैले पञ्च अन्न वा तीनवटा अन्नको जमरा राख्ने चलन भए पनि पछिल्लो समय यो लोप हुँदै गएको बताउनुभयो ।
उहाँका अनुसार यो समुदायमा विशेषगरी जौ, गहुँ र मकैको जमरा राख्ने गरिन्छ । घरघरमा पारिवारिक टीका दिनभर चल्छ । गाउँमा नाचगान चल्दछ, यसरी थारू समुदायको दसैँ सकिने उहाँले बताउनुभयो ।
दसैँको दसौँ दिन दुर्गाले महिषासुरलाई वध गरेको तिथिलाई विजयादशमी भनिएता पनि थारूहरूले महाभारत महाकाव्यमा आधारित गीत गाएर दसैँ मनाउने गर्दछन् । अन्य समुदायमा शक्तिपूजाको पर्वका रूपमा पुजिए पनि थारू समुदायमा दसैँ विशेषतः पितृपूजाको पर्वका रूपमा स्थापित छ ।