• कृष्ण प्रधान, सिलिगुड़ी (भारत)

krishna pradhanनाकमुन्तिर मुख ढाक्ने वृत्ताकार अवयवलाई ओँठ भनिन्छ।
 ओँठ सबैको हुन्छ।  ओँठ नहुने तरुणी-तन्नेरी, लोग्ने मान्छे, आइमाई मान्छे सायज संसारको कति पनि पाइँदैन। स्त्री-पुरुष दुवै नै ओठका धनी हुन्छन्। पुरुषहरूका ओँठभन्दा आइमाई मान्छेको ओँठ नै बजारमा लोकप्रिय र प्रसिद्ध छ। एकजना आइमाई मान्छेको ओँठ हेरर तिनको व्यक्तित्व छर्लङ्ङै बुझ्न सकिन्छ।
सुठी नै मसिना, पातला ओँठका धनी आइमाई मान्छेहरू साह्रै मापाकि हुन्छन् भने लोग्नेलाई घुर्की मात्रै होइन मुड़्की बजार्नु पनि सिद्धहस्त हुन्छिन्। मसिना, पातला तथा खिरिला ओँठवाल्नी आइमाई मान्छेहरू ओँठ लम्काउनु मात्रै होइन रिस देखाउनुमा पनि पोख्त हुन्छिन्।  मोचीको आँखा जुत्तामा, हजारमको आँखा केशमा परे झैं पुरुषहरूको आँखा आरम्भमै आइमाई मान्छेहरूका ओँठमै पर्छ। तर कुनै पनि आइमाई मान्छेहरूका आँखा पुरुषहरुका ओँठमा परेको कहिल्यै देखेको छैन। कारण कालो, टायरजस्तो पुरुष ओँठ किन र के भनेर हेर्ने? सुङ्गुरको थुतुनीजस्तो पुरुष ओँठ हेरेर के नाफा?
आइमाई मान्छेहरूको ओँठ यसै पनि सुन्दर, बानिकला परेको हुन्छ। ओँठको बगरमा रातो, गुलाबी रङ्गे लिपिस्टिकको फिनिसिङ् टचले मैँ हुँ मैँ हुँ भन्ने ब्रह्मचारीसमतको आँखा तिरिमिर झ्याइँ हुन्छ। ब्रह्मचारी मात्रै किन भोट र नोटका निम्ति अहर्निश छटपटिने नेताहरू पनि खिरिलो, बानिक्लो परेका ओँठहरूका निम्ति काकाकुली छटपटिरहेका हुन्छन्। यी ब्रह्मचारी वा नेताहरूका कुरा छोड़िदिउँ, कवि, गीतकार समेत आफ्नो काव्य सिर्जनामा आइमाईमान्छेहरूका ओँठबारे वर्णन नपाइऩे होइऩ।  त्यसका केही उदाहरणहरू यहाँ राख्नु प्रासङ्गिक होला-

प्रिये! ओँठ तिम्रा  कति कमुलो
छुनु पनि डर लाग्छ,
लत्याकलुतुक होलाजस्तो
रक्तिम तिम्रो ओँठबाट भुलुक्क
निस्केलाजस्तो।
**************
एउटै जूनको उज्यालीले
लाखौं तारा फिका हुन्छ
रङ्-बिरङ्गे ओँठमा प्रिये
यो मुटु घाइते हुन्छ।
*********
हजारौं मुटु घाइते हुन्छ
ओँठको सामान्य स्पर्शले
ओँठहरू ठुस्किए कठै!
हृदय छिया छिया बरै।।
लोग्नेमान्छेलाई भन्दा पनि आइमाईमान्छेहरूलाई ओँठले गतिलो सघाउ पुऱ्याइरहेको  हुन्छ। यसकारण यी बान्किला, खिरिला ओँठहरू आइमाईमान्छेहरूकै निमित्त बनिएका हुन् कि जस्तो लाग्छ।  लोग्नेलाई चोपारो घस्नु, ओँठ चाहिन्छ। लोग्नेलाई घुर्की देखाउनु पनि ओँठै चाहिन्छ।  ठुस्किनुपर्दा पनि ओँठै चोसा पार्नुपर्छ। लोग्नेसित टैँ-टैँ बाझ्नुलाई मिसाइलजस्तो थुतुनो चलाउनु पर्दा पनि ओँठकै सहारा नलिइ थुतुनो बजेको इज्जतै हुँदैन। आकाश र पाताल एकै ठाउँमा पारी पतर्किनुलाई पनि ओँठ नभई हुँदैन।  लोग्नेसित सामान्य ठाटाक-ठुटुक परेको बेला लोग्नेको कुरालाई 'फ्लप्' पारिदिनु ओँठै लेबार्नुपर्छ। खुसी पर्दा लोग्नेलाई च्वाक्क म्वाइँ खानु पनि ओँठै चाहिन्छ आइमाईमान्छेहरूलाई। रिस उठेको बेला वा झोंक चलेको बेला लोग्नेलाई ओँठे जवाब लाउनु पनि गजबकै ओँठ चाहिन्छ। ओँठ जस्तोसुकै होस्, टा.यरजस्तो होस् वा सुङ्गुरको जस्तो नै किन नहोस्। ओँठ स्याप्पै सुकेको होस् वा चाउरी परेको किन नहोस्...ओँठ आइमाईमान्छेहरूको ठूलो सम्पत्ति हो।
रगतै चुहुलाजस्तो होस् कि कागती जस्तो होस्। प्रत्येक आइमाईमान्छेको ओँठलाई लिपिष्टिक चाहिन्छ।  ओँठमा लिपिष्टिक पोतिनुनै पर्ने हुन्छ। लिपिष्टिक पोतिएका वा लिपिएका ओँठहरू काठ पसेको मूलजस्तै, चिरुवा दाउराजस्तै, लोहोरोजस्तै ओँठहरू पनि आकर्षक  देखिन्छन् । प्रत्येक आइमाईमान्छेहरूका ओँठमा लिपिष्टिक पोतिनु तिनीहरूको यौनसिद्ध ओठाअधिकार हो। यसकारण पर्समा अरु केही नहोस् दुइ चारोटा लिपिष्टिक ता हुन्छै हुन्छ।  पर्स वा ब्यागभित्र यसरी लिपि।ष्टिक राख्नु अचेल स्ट्याटस् भइसकेको छ। कलर म्याचिङको यो युगमा साड़ी, चोली, सलवार-कुर्ता लेगिङ्ग्सको रङ्ग अनुसार नै आफ्नो थुतुनोमा लिपिष्टिक पोतेका देखिन्छ। यो झन् महास्ट्याटसको सङ्केत हो।
पातलो, खिरिलो अऩि बान्किलो ओँठमा एकैपल्ट मात्र लिपिष्टिक पोत्दा वा लिप्दा सोड़ा हालेकोजस्तो अनुहार पनि धपक्क बलिहाल्छ। यस्ता ओँठहरूका निम्ति लिपिष्टिक धेर खपत हुन्छ। तर सुङ्गुर थुतुने, मोटा, काला, डोनाल्ड डगजस्ता ओँठहरूमा एक कोट लिपिष्टिकले केही हुँदैन। पहिलो कोट, दोस्रो कोट, तेस्रो कोट र फाइलन कोटसम्म पोतेपछि मात्र मुहार उज्यालो देखिन्छ। तर उपरोक्त ओँठहरूका निमित्त लिपिष्टिक कति थुपार्नुपर्छ सो को हिसाब-किताब ता एउटै ओँठमा चार कोटसम्म लिपिष्टिक पोत्नेहरूले मात्र छ्याङ्ङै पार्न सक्छन्।
चार वा पाँच कोटसम्म लिपिष्टिक लिपपोत गरेर आफ्नो मुहार जूनजस्तो उज्यालो पार्ने ओँठवाल्नीहरूका पतिदेवहरूका मासिक बजेटको थुतुनो पानीहात्तीजस्तै भएको कसले देख्ने? लिपिष्टिक पीड़ाले पीड़ित पतिदेवहरूले पत्नी पीड़ित पति सङ्घ स्थापित गरी सरकारसमक्ष लिपिष्टिक भत्ता दिने माग गरेकाअनि पत्नीपी़ड़ित पतिदेवगणले ता लिपिष्टिक नियोजन गराउनुपर्ने प्रस्तावसमेत अनुमोदन गरी सरकारसमक्ष प्रदान गर्ने निर्ण लिएको गाइँगुइँ सुनिँदैछ। तर को भन्दा को कम्ति र? पत्नीपीड़ित पति सङ्घले अनुमोदन गरेको प्रस्तावलाई नारी सङ्गठनले प्रतिवाद गरी राजनीतिक मुद्दा बनाएको पनि हल्ला बजारभरि सुनिँदैछ।
आग्राको कुरा गर्दा-गर्दै को'नि किन गाग्राको कुरा गर्न मन लाग्यो। हाम्रो समाजको ओँठ वा थुतुनो पनि रसबिनाको कोदोको छ्याङजस्तै भइसकेको  यसैकारण ता हाम्रो समाजको ओँठ वा थुतुनोलाई राजनितिक लिपिष्टिकले जति नै डेण्टिङ-पेण्टिङ, क्लिनिङ, ब्रसिङ, भार्निसिङ गरे पनि ओँठ र थुतुनो बत्तिनै रहेको हुन्छ। बड़ो मापाको छ हाम्रो समाजको थुतुनो वा ओँठ। हेनतेन नभनी लाज नमानी भन्नु हो भने हाम्रो राजनीतिको ओँठ वा थुतुनो चाहिँ चिप्ले किराझैं नै छ।  हाम्रो राजनीतिको ओँठ वा थुतुनोमा न ता साँठगाँठको लिपिष्टिकले सुहाउँछ न ता यसलाई सठिक योजनाको लिपिष्टिकको कोटिङले सर्वाङ्ग सुन्दर बनाउऩ सकिन्छ। एका-अर्कामाझ हिलो छेपाइले राजनीतिको थुतुनो वा ओँठ दुगर्नधित भएको कुरा मलाई मात्रै होइन सबैलाई थाहा भइसकेको छ। व्यक्तिगत इख-इबी, व्यक्तिगत आक्षेपका कारणले राजनीतिको ओँठ वा थुतुनो ल्त्यालुतुक भएको छ। आफ्नै मात्र दुनो सोझ्याउने खालको राजनीति गराइले हाम्रो सामाजिक, आर्थिक, सास्कृतिक ओँठ वा थुतुनाहरू ङालाक्-ङिलिक् भएका देखिँदोछ। यस्ता लत्याक-लुतुक, ङालाक्-ङिलिक् परेका ओँठ वा थुतुनाहरूमा संसारको कुनै लिपिष्टिक न ता लिपपोगत गर्न सक्छ न ता डेण्टिङ-पेण्टिङ नै गर्न सक्छ।
यतै भ्वाङ् परेको, उतै भ्वाङ परेको, यतै खोस्रिएको, उतै कोपरिएको, नेप्टो-चेप्टो परेको हाम्रो समाज, हाम्रो राजनीति, हाम्रो आर्थिक अवस्था, हाम्रो सांस्कृतिक ओँठ वा थुतुनाहरूलाई चिरिच्याट्टै र विछट्टै सुन्दर पार्न गतिलो सुधारात्मक लिपिष्टिकको झट्टैभन्दा झट्टै निर्माण हुनु नितान्तै आवश्यक छ। यस्ता कलेँटी परेका ओँठ वा थुतुनोमा राजनीतिको षड़यन्त्र, हानथापको राजनीति पोतिँदा पोतिँदा निकट भविष्यमा हाम्रो राजनीति लाटाको धोतीजस्तै हुन बेर लाउँदैन।
लिपिष्टिक पोतिएको समाज, राजनीति, अर्थनीति र संस्कृतिका ओँठहरूको एउटै मुस्कानमा इख-इबी, रिस-राग, हानाहान-तानातान. लुँछाचुँड़ी, भ्रष्टाचार सबै-सबै धराशायी बन्छन् र समाजले हाँगा अनि टेक्ने ठाउँ नभएका हामी सबैका ओँठहरूमा सुखिलो मुस्कान तैँछाड़्-मैँछाड़् गर्नेछ अनि हाम्रो खिरिलो समाज, तह नमिलेको राजनीति, पल्लो फाल पुगिसकेको अर्थनीति, उल्का भ्रामरीमा परेको हाम्रो संस्कार-संस्कृतिको भोलिको बिहान उज्यालो हुनैनै छ। यसमा शङ्का गर्ने कुनै ठाउँ नै रहने छैन।  अनि मात्र हाम्रो आङमा गतिलो न्यानो घाम लाग्नेछ।  त्यतिमात्रै होइन, नाइट वान, रोज ह्विस्पर, प्लम, चकलेट मेल्ट, ड्रिमी ब्राउन, सन ब्रस्ड अरेञ्ज, मेजिकल म्यागनेट, स्वीटेष्ट मभ, पर्पल, कफी, डिप वीन, मलबरी, चेरी भेल्भेट, ज्वेल पिङ्क, टिकलेड पिङ्क, रोमाण्टिक, मिष्ट्री स्पेश, स्याटिन रोज, ब्लस्ड आदि नाउँका अनेकन लिपिष्टिक र ओँठमा धर्का तान्ने लिप लाइऩर, क्यारामल, रोस्पबेरी, डार्क बेरी, पर्फेक्ट प्लम आदि व्यवहार गर्ने हाम्रा तमाम् म्याडमहरूको ओँठहरू वैंशालु भएर आफू बसेको ठाउँको प्रशंसा गर्नेछन्।
''छु लेने दो नाजुक ओँठों को
कुछ और नहीं है जाम है ये।
कुदरत ने जो इनको बख्सा हैं
ओ सबसे हँसी इनाम हैं ये।।
ओँठ जिन्दाबाद!
लिपिष्टिक जिन्दाबाद!