- युवराज विष्ट
भोजपुर / ‘योगमाया आयुर्वेद विश्वविद्यालय’ निर्माणका लागि दुई सय रोपनी भन्दा बढी जग्गा प्राप्त भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ ढुङ्गाविसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट दुई सय रोपनी नौ आना तीन पैसा दुई दाम जग्गा विश्वविद्यालयको नाममा स्थानीयले पास गरिदिएका छन् ।
जग्गा खरिद प्रक्रियाका लागि संघीय सरकारबाट रु सात करोड रकम प्राप्त भएको षडानन्द नगरपालिकाका प्रमुख सरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “योगमाया आयुर्वेद विश्वविद्यालय निर्माणका लागि जग्गा खरिद प्रक्रिया सुरु भएको छ । हालसम्म दुई रोपनी बढी जग्गा विश्वविद्यालयको नाममा पास भएको छ । अन्य आवश्यक जग्गा पनि खोजी भइरहेको छ ।”
विश्वविद्यालयले निर्माणका लागि षडानन्दमा दुई सय ३३ रोपनी र खाँदबारी नगरपालिकामा तीन सय ७२ रोपनी जग्गा लिने मन्त्रिपरिषद्को निर्णय भएबमोजिम खोजी प्रक्रिया थालनी गरिएको उहाँले जानकारी दिनुभयो ।
जग्गा खरिद गर्नका लागि रु सात करोड रकम सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयमा आएको नगर प्रमुख उदासले जानकारी दिनुभयो । षडानन्दको तर्फबाट योगमायाको समाधिस्थल मझुवाबेँसीमासमेत आवश्यक जग्गा खरिद गरेर संरचना निर्माण गर्नुपर्ने माग रहेको उहाँले बताउनुभयो ।
सङ्खुवासभामा पनि विश्वविद्यालयको नाममा जग्गा खरिद भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो । पहिला भएको सम्झौताअनुसार सङ्खुवासभामा प्रतिरोपनी रु एक लाखका दरले जग्गा खरिद गरिएको उहाँको भनाइ छ । भोजपुरका जग्गाधनीले भने प्रतिरोपनी रु ५० हजार पाउने गरी पहिला नै सम्झौता भएको उहाँको भनाइ छ ।
भोजपुरतर्फको दुई सय ३३ रोपनी र सङ्खुवासभाको तीन सय ७२ गरी ६०५ रोपनी खरिद गर्ने र अपुगमा सरकारी जमिनलाई पनि प्रयोगमा ल्याउने प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाइ छ । दुवै जिल्लाको जग्गा खरिद प्रक्रिया सपन्न भएपश्चात विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर निर्माण प्रक्रिया अघि बढ्ने उहाँले जानकारी दिनुभयो । डिपिआर बनेपछि कुन जिल्लामा कति र कस्ता संरचना बन्ने भन्ने टुङ्गो लाग्ने उहाँको भनाइ छ ।
“दुई जिल्लाको समन्वयमा जग्गा खरिद प्रक्रिया भइरहेको छ । दुई जिल्लामा जग्गा खरिद गर्नुपर्ने भएकाले कुन क्षेत्रमा कति संरचना बन्छन् भन्ने यकिन भएको छैन । विश्वविद्यालयको पूर्ण विस्तृत परियोजना प्रतिवेदन बनेपछि निर्माणको प्रक्रिया सुरु हुन्छ । त्यसपछि कस्ता संरचना कतिवटा कहाँ बन्छन् भन्ने कुराको टुङ्गो लाग्छ ।”प्रजिअ खतिवडाले भन्नुभयो ।
सतिप्रथाको अन्त्यका लागि लड्ने क्रान्ति योद्दा योगमायाको जन्म विसं १९१७ मा भोजपुरको षडानन्द –१ नेपालेडाँडामा भएको हो । देशमा जकडिएको सतिप्रथा अन्त्यका लागि पटक–पटक तत्कालीन राणा सरकारसँग माग गर्दा पनि कुनै निर्णय नभएपछि योगमायासहित ६८ जनाले समाधि लिएका थिए । सतिप्रथा, छुवाछूत प्रथा अन्त्यका लागि आफ्नो अभियानको नारा लगाउँदै विसं १९९८ असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले मृत्युवरण गरेका थिए । उहाँहरूले समाधि दिएको ठाउँ षडानन्द–६ को मझुवाबेँसीमा पर्दछ ।
समाज सुधारका लागि कुरीति, अन्धविश्वासको विरोधको त्यो समयमा अभियान चलाउने साहसी महिलाका रूपमा योगमायालाई चिनिन्छ । काठमाडौँ पुगेर श्री ३ जुद्धशम्शेरसँग भेट गरी धर्म भिक्षा माग्नुभएको थियो । जुद्धशम्शेरबाट धर्म भिक्षाको वचन पाए पनि वचनअनुसार राणाहरूले कुनै काम नगरेपछि उहाँमा थप क्रान्तिको विजारोपण भएको पाइन्छ ।
राणाकालीन समयमा राणा शासनले अन्याय विरोधमा समाज परिर्वतनका लागि जीवन नै बलिदानी दिने साहसी महिला भए पनि राज्यले भने उचित सम्मान दिन सकेको छैन । शोषण, दमनको जीवन बिताइरहेका महिलाको आवाज खरोरूपमा उठाउने योगमाया न्यौपानेको योगदान आवश्यक प्रचारको अभावले पनि ओझेलमा परेको देन्खिन्छ । योगमायाको योगदानलाई बेवास्ता गरिएको महिला अधिकारकर्मी तथा समाजका अगुवाहरूले बताउने गरेका छन् ।
सतिप्रथा, दासप्रथा, जातपातको अन्त्य, न्याय, महिला मर्यादा, विधवा अधिकार र मानापाथी एकरुपतालगायतका राजनीतिक तथा सामाजिक परिर्वतन लागि उहाँले माग गर्नुभएको बताइएको छ । सामाजिक अन्धविश्वासका विरुद्धमा उहाँले चालेको कदम समाजका परिवर्तनको मेरुडण्डको रूपमा देखिएको छ ।
योगमायाको बिहे सात वर्षको उमेरमा भोजपुरको धोद्लेखानी अर्थात् हालको रामप्रसादराई गाउँपालिका–२ मा भएको थियो । इतिहासकारका अनुसार सानै उमेरमा बिहे भएको कारण घरमा खानलाउन नदिएपछि उहाँ तीन दिन लगाएर आफ्नो माइतीघर नेपालेडाँडा पुग्नुभएको थियो । घर छाडी हिँडेकी र तीन दिन बाटो हराएकी भनी योगमायालाई घरकाले स्वीकार गरेनन् । माइतीले पनि हेलाँ गरेको पाइन्छ । त्यसपछि योगमायाको जीवनमा वैराग्य बढेकाले नेपाल फर्केर मझुवाबँेसीमा कठिन तपस्या गर्नुभयो ।
योगमायाले श्रीमतीको मृत्युपछि श्रीमानले बिहे गर्न हुने तर श्रीमान्को मृत्युमा श्रीमतीले जिउँदै चितामा जल्नुपर्ने जनाउँदै यसको जवाफ तत्कालीन राणा सरकारसँग माग्नुभएको थियो । त्यस्तै उहाँले श्रीमान्को मृत्यु भएको खण्डमा श्रीमती पनि अर्को विवाह गर्न पाउनुपर्ने भनी आवाज उठाउनुभएको बताइएको छ ।
यसको परिणामस्वरुप अहिले समाजमा धेरै नै परिवर्तन आएको देखिन्छ । पछिल्लो समय राज्यले दिएको आरक्षको व्यवस्थालाई यसैको उपजका रूपमा मान्न सकिने महिला अधिकारकर्मीको भनाइ छ । योगमायाले उठाएको समानताको क्रान्तिको अभियानले समाज रुपान्तरणका लागि निकै ठुलो योगदान पुगेको छ ।
योगमायालाई राष्ट्रिय विभूतिका रूपमा राज्यले घोषणा गर्नुपर्ने स्थानीयस्तरबाट आवाज पनि उठिरहेको छ । राज्यको तर्फबाट योगमायाको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न स्थानीयवासीको माग छ । उहाँको योगदानको राज्यले उचित मूल्याङ्कन गर्न नसकेको स्थानीय जानकारहरूले बताउने गरेका छन् । अहिले राज्यले गरिरहेका काम मात्र योगमायाको योगदानका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ ।
षडानन्द नगरपालिकाका स्थानीय प्रकाश पौडेलले भन्नुभयो, ‘‘राज्यले योगमायाको योगदानको उचित ढङ्गले मूल्याङ्कन गर्न सकेको छैन । हामीले राष्ट्रिय विभूति घोषणा गर्न धेरैपटक आवाज उठाएको भए पनि राज्यले त्यसलाई सुनेन । उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने हाम्रो जोडदार माग छ । राज्यले यो जे गरिरहेको छ यो मात्र पर्याप्त होइन् ।”