धरानमा पानीको समस्या भनेको स्रोतको होईन, व्यवस्थापनको हो । यो हामीले धेरै पहिला देखि नै भन्दै आएका हौं । पहिले पनि र अहिले पनि पानीको अभाव भनेको कृत्रिम नै हो । पहिला कृत्रिम कै कुरा गर्छु – पहिला चरम कृत्रिम अभाव देखाएर एडिबीको पैसा ल्याउन बाध्य पारिएको हो, अहिले पनि चरम अभाव देखाएर सप्तकोशी, तमोरको पानी ल्याउँछु भन्न बाध्य पारिदै गरेको हो । तर म फेरि पनि भन्छु हामीकहाँ पानीको स्रोतको अभाव हुँदै होईन ।
सँगै पोस्ट गरिएको तस्वीरहरु सर्दु र यसका सहायक खोला खोल्सीहरुमा पानी नाप्ने क्रममा लिईएको हो । त्यसबेला मैले एकजना आधिकारिक प्राविधिक लिएर वर्षै भरि सर्दुखोलाको पानी नापेको थिएँ, त्यसैले मेरो दावी यथार्थमा आधारित हो भन्ने उल्लेख गर्दछु ।
वर्षभरिको मापन पछिको निष्कर्षका आधारमा धरानको पानीको मुख्य स्रोत सर्दु खोला ९र यसमा मिसिने सहायक खोलाहरु समेत० मा वर्षा याममा दैनिक ९ करोड २० लाख लिटर पानी बग्छ भने सुख्खा याममा ४ करोड ८० लाख लिटर पानी बग्छ । यसमा सेउती, सेरा, कोकाहा, भालु खोला आदि समावेश छैन ।
अब भन्नु होला, यत्रो पानी रहेछ, किन अभाव भएको त ? त्यसैले त भनेको यो कृत्रिम अभाव हो भनेर, अभाव नदेखाई ठूलो प्रोजेक्ट आउँदैन, त्यो नआए कमिशन खान पाईदैन । अलि अभाव भएपछि त हाम्रा बुद्धिजीवी पनि कोशी कै पानी ल्याउन पर्छ भनेर विद्वता बाड्न थालिहाल्छन् । सर्दु, खर्दु, सेउती, शेरा, भालु, कोकाहा खोलाको पानी व्यवस्थापन गर्ने हो भने धरानले खान पुगेर ईटहरी र विराटनगरलाई पनि बेच्न पुग्छ, र त्यो हाम्रो आम्दानीको ठूलो स्रोत हुन सक्छ, जनतालाई करले ढाड सेकाउनै पर्दैन ।