मञ्जु भण्डारी (सुवेदी)

नेकपा(एमाले) को तर्फबाट मेयरका उम्मेदवार धरान उपमहानगरपालिका

मञ्जु भण्डारी सुवेदी नेपाली राजनीतिकमा उदयमान नाम हो । देश भरका ११ वटा उपमहानगरपालिकाका उपमेयर मध्य मेयरको टिकट पाउने ४० बर्ष उमेर नकटेकी भण्डारी माग्यमानी महिला पनि हुन । उहाँले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरको पदमा एमालेबाट उम्मेद्वार बन्नु भएको छ । स्नातकसम्मको अध्ययन गर्नु भएकी भण्डारी स्थानीय तह बुझ्नु भएकी, प्रदेश र संघसँग राम्रो पहँच राख्ने नेताको रुपमा परिचित हुनु हुन्छ । उहाँ नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । चुनावी माहौलका विषयमा उहाँसँग गरिएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।  

May be an image of 3 people, people sitting and outdoors

चुनावी प्रचार–प्रसारको घरदैलो अभियान कस्तो हुँदैछ ?

– धरानमा हाम्रो चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रम आक्रामक तरिकाले भएको छ ।  । वैशाखको यस्तो चर्को गर्मीमा पनि एमालेको पक्षमा हामी उम्मेदवारसँगसँंगै सबै जनता र कार्यकर्ताहरू उत्साहका साथ एक ढिक्का भएर चोकचोक, टोलटोलमा परिचालित हुनुभएको छ । धराने जनतामा उत्साह बढेको छ । 

धरानमा एमालेले जित्ने आधार चाहिँ के छ ?

– धरानमा एमालेले जित्ने आधार धेरै छ । तर, प्रतिपक्षीहरूले ममाथि प्रमाणित हुनै नसक्ने अनेक आक्षेप र लाञ्छना लगाएर कमजोर देखाउने प्रयास गरेका छन् । अरुलाई नराम्रो देखाएर आफु राम्रो हुँ भन्नेहरुको धोती खुस्किसकेको छ । उनीहरुको गलत बनावती आक्षेप धराने जनताले विश्वास गर्नेवाला छैनन् । धराने जनताको मलाई अपार माया छ । पाँच बर्ष उपमेयर भएको बेला धराने जनताका लागि काम गरेको छु । प्रदेश संघसँग समन्वय गरेर अरवौंका योजना धरानमा आएका छन् । २०७४ पछि एमालेको नेतृत्वमा धरानमा केन्द्रीय सरकारबाट ठ्रलो योजनाहरु आएका छन् । कतिपय काम सम्पन्न भएका छन् भने केही पाइपलाइनमा छन् । ती सम्पन्न गर्न पनि स्थानीय तहमा एमालेको नेतृत्व आवश्यक छ ।  

धरानमा एमालेले जित्न किन जरुरी छ ?

– एमाले यो देशको मूल प्रवाहको प्रमुख पार्टी हो । प्रदेश र सङ्घको सत्ता सञ्चालन गर्ने पनि यही पार्टी हो । नगरको समग्र विकास गर्न धरानमा एमालेले जित्न जरुरी छ । धरानको विकासको खाकालाई मूर्तरूप दिन सङ्घ एव प्रदेशसहित दातृनिकायको साथ र सहयोग चाहिन्छ । ०७६ को उपनिर्वाचनमा काङ्ग्रेसका मेयर तिलक राईजी आउनुभयो । तर, दातृनिकायले धरानको विकास निर्माण गर्न उहाँसँग सहकार्य गर्न चाहेको देखिएन । यताबाट पनि पहलकदमी हुन सकेन । दातृनिकायसँंगै सङ्घ र प्रदेशको स्रोत विना धरानको विकास निर्माण सम्भव छैन । यो अवस्थामा केन्द्रमा सिधा पहुँच बनाएर र दातृनिकायसँग सहकार्य गरी आर्थिक स्रोत जुटाएर अधुरा रहेका ठूला योजना पूरा गर्न र पहिल्यै डीपीआर बनेका दीर्घकालीन गौरवका योजनाहरू सुरुवात गर्न एमालेले धरानमा जित्न जरुरी छ । दातृनिकायसँग सहकार्य गर्न, सङ्घ र प्रदेशबाट स्रोत जुटाउन म आफू सक्षम छु भन्ने कुरा हो । उपमेयर पदम लिम्बुसहितको टिमबाट धरानको विकासमा कायपलट हुने छ ।

तपाईंको पालाको खानेपानी आयोजानले खानेपानी अझै दिन सकेको छैन नि ?

– खानेपानी आयोजना असफल भएको छैन । तर, व्यवस्थापनमा कमजोरी भएको छ । यसका लागि ऐन बनाएर खानेपानी वितरण गरिने छ । एक बर्षभित्र हामी धरानमा खानेपानी वितरण प्रणालीमा पूर्ण रुपमा सुधार ल्याउछौं । यो मेरो प्रतिवद्धता हो । धरान खानेपानी व्यवस्थापन बोर्ड अन्तर्गत पानी वितरण गर्न सकिने अवस्था छ । साविक एरियामा अनुगमन समिति बनाएर ४० प्रतिशत चुहावट हुने खानेपानी नियन्त्रण गर्नेछौं ।  यो काम ३ देखि ५ महिनाभित्र गर्नेछौं ।

धरानमा सुकुम्बासीको व्यवस्थापन कसरी गर्ने भन्ने सोच्नुभएको छ ?

– सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने, अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने मुद्दा हामीले पहिल्यैदेखि भन्दै आएका छौं । धरानमा उनीहरूको मुद्दालाई सम्बोधन गर्नुपर्छ भनेर लगत लिने, घर नम्बर दिने काम पनि स्वर्गीय मेयर तारा सुब्बाको पालादेखि नै सुरु भएको हो । तर, गठबन्धन सरकारले अवरोध गरेपछि बीचैमा रोकियो । धरानमा १३ हजार ५ सय घरधुरीको लगत सङ्कलन भएको छ । पहिलो चरणमा २५ सयलाई निस्सा दिने तयारी पनि गरिएको छ । त्यसबाहेक सुकुम्बासी समुदायको शिक्षा, स्वास्थ्य, आवास र रोजगारको अवसरमा पहुँच दिलाउने प्रतिबद्धता पनि गर्छु ।

धरानको विकास निर्माणमा एमालेको एजेण्डा छैन भनिन्छ नि ?

– धरानको विकास निर्माणमा हामीसँग थुप्रै एजेण्डाहरू छन् । हामीले गुरु योजना बनाएका छौं । भिजन भएको पार्टी नै एमाले हो । एजेण्डा छैनन् भन्ने हल्ला विपक्षी पार्टीले फैलाएका हुन । यि सव भ्रम हो । मुख्यगरी यो दुई वर्षभित्र पूरा हुने गरी स्मार्ट बसपार्क निर्माणका लागि टेण्डर नै भइसकेको छ । अहिले भौतिक पूर्वाधार तयार हुँदैछ । म उपमेयर हँुदा गरेको पहलमा स्मार्ट बसपार्क निर्माणको काम २५ प्रतिशत भएको छ । सर्दु, सेउती करिडोर, साइन्स सिटी पार्क, धरान सिटी अस्पताल, धरान स्मार्ट सिटीका लागि पूर्वाधार तयारी गर्न डीपीआर तयारी नै भएको छ । अर्को महत्वपूर्ण कुरा छ, धरानको किरातकालीन ऐतिहासिक पुरातात्विक थलोको रूपमा विजयपुरलाई चिनाइरहन पर्दैन । यो स्थलमा सम्बन्धित समुदायसँग समन्वय गरेर विजयपुर दरबार बनाउने, सभ्यता र संस्कृतिको पहिचानसहितको सङ्ग्रहालय बनाएर पर्यटकीय गन्तव्य स्थल बनाउने योजना छ । यसैगरी धरानलाई इकोनोमिक करिडोरको रूपमा विकास गरेर पुर्वी पहाडी जिल्लाका लागि ट्रान्जिट पोइन्ट बनाउने, अटोजोनको रूपमा विकास गर्ने, सिण्डीकेट प्रणाली खारेज भएपनि रहेका उनीहरूका सम्पत्तिलाई हाल बनेका कम्पनीमै हस्तान्तरण गर्न पहल गर्ने, आदिवासी जनजाति विकास समिति गठन गरेर भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको विकास गर्ने, त्यसका पनि विशेषगरी सम्बन्धित समुदायसँग समन्वय गरेर मुन्धुमी ज्ञानलाई प्रवद्र्धन गर्ने र भाषा, लिपि पठन–पाठनका लागि पहल गर्ने एजेण्डाहरू हामीसँग छ । त्यतिमात्र नभएर नयाँ पर्यटकीय गन्तव्यका लागि धरानको विजयपुर–वराहक्षेत्र–खुवालुङ सर्किट बनाएर बहुधार्मिक, बहुसांस्कृतिक सम्पदाको संरक्षण गर्ने एजेण्डाहरू पनि छन् । शिक्षामा गुणस्तर सुधार गर्न पहल गर्ने र निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्ने, नगर युवा परिषद्, महिला विकास समिति बनाएर काम गर्ने योजनाहरू छन् । ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा निःशुल्क सेवा र निःशुल्क दाँत लगाइदिने योजना पनि छन् ।  धरानलाई बालमैत्री, अपाङ्गमैत्री, महिलामैत्री र वातावरणमैत्री बनाउँदै जातीय छुवाछुत र विभेद तथा महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्नेछौं ।

‘म धरानको लागि सक्षम र योग्य उम्मेदवार हुँ’–पदम लिम्बु

May be an image of 14 people, people standing and outdoors

पदम इस्वो लिम्बू, उपमेयर उम्मेदवार, नेकपा (एमाले) धरान

पदम इस्वो(लिम्बु धरान–१९ का स्थायीवासिन्दा हुनुहुन्छ । नेकपा एमालेमा लामो सयम राजनीति गर्नु भएका लिम्बु २०५४ सालको निर्वाचनमा १९नं. वडाको अध्यक्ष भएर पनि काम गर्नु भएको अनुभव छ । तत्कालिन मेयर मनोजकुमार मेन्याङ्वो हुदा धरानलाई जनसहभागिताको शहर बनाइएको थियो । उक्त अभियानमा लिम्बु पनि सहभागित हुनुहुन्थ्यो । पेसाले अभिवक्ता लिम्बु धराने जनताको दुखदुख बुझेका एउटा सालिन, कर्मठ र योग्य नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँको योगदन, अनुभवकोआधारमा नेकपा एमालेले उहाँलाई धरान उपमहानगरपालिकाको उपमेयरमा उम्मेद्वार बनाएको छ । यहाँका चुनावी एजेण्डा र धरानको समृद्धका लागि उहाँले बनाउनु भएको योजनाबारे गरिएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ । 

घरदैलो अभियानमा मतदाताबाट कस्तो प्रतिक्रिया पाउँदै हुनुहुन्छ ?

– घरदैलो अभियानमा सबैभन्दा बढी त खानेपानीकै कुरा उठेको छ । वितरण प्रणाली चुस्त दुरुस्त नभएको भन्ने गुनासो आएका छन् । यसबारेमा मैले उहाँहरूलाई ३ देखि ५ महिनाभित्र सबै समस्या हल गर्न सकिने बताउँदै आएको छु । धरान खानेपानी आयोजनाको तथ्य पनि त्यही हो । पछि थपिएका विष्णुपादुका र पाँचकन्यासहित सिङ्गो धरानका लागि खानेपानीको मेघा प्रोजेक्टमार्फत दीर्घकालीन आयोजना आवश्यक छ । त्यसबारेमा नेकपा (एमाले) जनताका लागि काम गर्न तयार छ । जनताको उत्साह राम्रो पाएका छौं । एमालेमा जनलहर छ । हामी प्रति उहाँहरुको विश्वास छ । त्यो उहाँहरुको विश्वासलाई जीवित राख्ने हामीले प्रतिबद्धता जनाएका छौं ।

चुनाव जित्ने तपाईंको एजेण्डा के छन् ?

– यो धरान भनेकै आदिवासी जनजातिको सहर हो । लाहुरेहरूले बनाएको सहर हो । यो तथ्य जगजाहेर छ । त्यसैले धरानमा बसोबास गर्ने सबै जातजाति र समुदायको हितमा काम गर्दैै जाने एमालेको योजना हो । केन्द्र र प्रदेशसँग सहकार्य गरेर धरानको पहिचान विजयपुर क्षेत्रलाई ऐतिहासिक, पुरातात्विक, धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने हाम्रो एजेण्डामै छ । जनजाति समुदायका भाषा, लिपिलाई प्रोत्साहित गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ म । नगरका विद्यालयहरूमा आफ्नो भाषा, लिपि सिक्न चाहनेहरूका लागि शिक्षक र पठन–पाठनको व्यवस्था हुनुपर्छ  भन्ने मान्छे हुँ म । कला, संस्कृतिको जगेर्नाका लागि एमालेको एजेण्डा नै छ ।

धरानको कोर एरियाको बारेमा तपाईंको धारणा नि ?

– धरानको कोर एरियामा विराटनगरको रानीदेखि सङ्खुवासभाको किमाथाङ्कासम्मको राष्ट्रिय गौरवको सडक विवादित छ । मुख्य बजारबीच भएर जाने बाटो ६ लेन नभएर सहरी सडकमा विस्तार गर्ने र रानी–किमाथाङ्का सडकलाई बाइपास गर्न मेरो पहल हुनेछ ।

धरानमा गठबन्धन दललाई हराउने आधार के छ ?

– गठबन्धन एकातिर भए पनि एमालेलाई नै हो धरानका जनताले रोज्ने । उपनिर्वाचनमा काङ्ग्रेसले जनतालाई नराम्रो गरी झुक्यायो । गरेका प्रतिज्ञा पूरा गरेन । गठबन्धन आफैमा झनझन विवादित र विभाजित बन्दै गएको छ । राष्ट्रियताको सवालमा पनि गठबन्धन दल दोचारे छ । तर, एमाले चट्टानी अडान लिएर उभिएको छ । यो तथ्य धरानको युवादेखि वृद्धवृद्धा मतदाताले बुझेका छन् । अर्को कुरा, एमालेकै जनप्रतिनिधिहरूले धरानमा सर्दु र सेउतीलगायतमा १० वटा पुल बनाएर गाउँसँग धरानलाई जोडिदिएका छन् । त्यसो त एमालेका तारा सुब्बाकै पालामा सप्तरङ्गी पार्क, शिवजट्टाको सौन्दर्यीकरण, कोकाहा ड्याम, व्यवस्थित वधशाला, खेलग्रामका डीपीआर पहिल्यै बनिसकेका छन् । यसर्थ पनि एमालेले राम्रो गरेको छ भन्ने सन्देश गएकाले गठबन्धन पराजित हुने निश्चित छ । एमालेले धरान उपमहानगरमा सेवाग्राहीलाई धेरैभन्दा धेरै सुविधा दिने लक्ष्य राखेको छ । कर प्रणालीलाई व्यवस्थित गर्ने, अनलाइन सिस्टममा घरैबाट कर तिर्ने व्यवस्था गर्ने, वित्तीय सङ्घीयता लागू भएकाले वडाबाटै सेवा प्रवाह गर्ने, इलेक्ट्रोनिक्स विलिडङ परमिट सिस्टमअनुसार नक्सा पास वडामै गर्नेजस्ता योजनाहरू एमालेसँग छ । त्यो हामी गर्न सक्छौं ।

उपमेयरका लागि योग्य कसरी हुनुहुन्छ तपाईं ?

–म साविक धरान–१९ को ०५४ सालको चुनावमा निर्वाचित वडाध्यक्ष पनि हुँ । त्यसबाहेक २५ वर्ष त मैले कानून व्यवसायी भएर काम पनि गरेको छु । न्याय निरूपणमा मेरो दख्खल छ । मनोज मेन्याङ्बो धरानको मेयर भएको बेला नीति निर्माण गर्दा यहाँको दीर्घकालीन भिजन दिनेमध्ये म पनि हुँ । मलाई धरानको समस्या कसरी समाधान गर्ने, नगरवासी सेवाग्राहीको समस्यालाई कसरी समाधान गर्ने, धरानको विकास निर्माणको समग्र स्केच कसरी बनाउनु पर्छ भन्ने थाहा छ । म धरान फुटबल क्लबको संस्थापक सदस्य पनि भएकाले धरानलाई खेलकुदको सहर कसरी बनाउन सकिन्छ भन्ने खाका पनि छ । युवा स्वरोजगार, लागूपदार्थ नियन्त्रण, न्याय सम्पादनमा निष्पक्षताबारे मलाई राम्रो जानकारी भएकाले म धरानको लागि एमालेको तर्फबाट योग्य उम्मेदवार हुँ भन्ने प्रमाणित गर्न सक्छु ।