च्याउ एक प्रकारको ढुसी हो । यसको वनस्पति अवस्था मसिनो, सेतो, धागोजस्तो आकारकै हुन्छ । जसलाई अंग्रेजीमा माइसेलियम भनिन्छ । यसले उचित प्राकृतिक वातावरण पाएपछि फल्दछ । माइसेलियमको फल नै च्याउ हो । १९ औ शताब्दीमा सबैभन्दा पहिले अमेरिकामा यसको खेती गरेको पाइन्छ ।
च्याउ विभिन्न प्रकार र आकारका हुन्छन् । यो खान हुनेदेखि लिएर अति विषालु पनि हुन्छन् । नेपालमा मात्र १ सय १० जातिका च्याउ पाइन्छन् । तीमध्ये व्यावसायिक रुपमा फल्ने च्याउः पराले च्याउ, गोब्रे च्याउ र सिताके च्याउ खेती गरेको पाइन्छ । च्याउको बनावटमा फरक भए पनि प्रायः जसो यसको प्राकृतिक संरचना उस्तै हुन्छ ।
च्याउलाई बहुउपयोगी खाद्य पदार्थको रुपमा लिन सकिन्छ । च्याउमा प्रायः सबै किसिमका एमिनो एसिड (प्रोटिन तत्व) पाइन्छ । च्याउमा मासु तथा कुनै पनि सागसब्जीमा नपाइने प्रोटिन तत्व पाइने र सजिलै पचाउन सकिने भएकोले बच्चादेखि बुढाबुढीलाई अति उपयोगी हुन्छ । च्याउको विभिन्न स्वादिष्ट परिकार बनाएर महंगोमा बेचेको पनि पाइन्छ । त्यसैगरी अन्य खनिज पदार्थहरु भिटामिन, चिल्लो पदार्थ, कार्बोहाइडे«ट प्रचुर मात्रामा पाउनुका साथै शरीरभित्रको ‘टक्सीन’लाई पसिना र दिशापिसाबको माध्यमद्वारा बाहिर फाल्न मद्दत गर्दछ ।
यार्सागुम्बा च्याउः यो औषधिजन्य प्राकृतिक रुपमा उच्च हिमाली भेगमा ३ हजार मिटरदेखि ६ हजार मिटसम्मको उचाइमा सफा वातावरण तथा घाँसे मैदानमा झुसिलेकिराको शरीरबाट निस्किएर फल्दछ । यसलाई चिनिया भाषामा हिउँदे किरा, वर्षे च्याउ भन्दछन् भने भारतमा किरा च्याउ भनेर चिनिदै आएको छ । यो करिब ४, ५ सेमी लामो सानो र खैरो रंगको हुन्छ । यो च्याउ हिउँ पग्लिएर बन्ने हुनाले घाँसे मैदानमा पाइन्छ । खासगरी यो मुटु रोग, मस्तिष्क रोग, यौन उत्तेजना र तागत बढाउन औषधिको रुपमा प्रयोग गरिन्छ । हालसम्म यसको खेती गर्ने चलन भित्रिएको छैन र यो प्राकृतिक रुपमा आफैं उम्रेर फल्ने गर्दछ । यो यार्सागुम्बा पहिला चीनमा आयुर्वेदिक औषधिको रुपमा प्रयोग गरेको पाइन्छ । अरु च्याउमा पनि यार्सागुम्बामा पाइने गुणहरु कम मात्रामा पाइन्छ ।
रक्ते च्याउः गानो दुख्दा यो औषधिजन्य च्याउ रेसीको नामले प्रत्यात भएको पाइन्छ । चीनमा यसलाई लिङ, झी नामले चिनिन्छ भने यसको वैज्ञानिक नाम गानडुर्मा लुसिडम हो । यसलाई नेपालमा रक्त च्याउ भनेर पनि चिनिदै आएको छ । अहिले आएर यसको खेती जापान, मलेसिया, चीन, कोरिया आदि देशहरुमा व्यावसायिक रुपमा खेती गरेको पाइन्छ । यो हेर्दा कडा र रातो आकारमा च्याउजस्तै फुलेको हुन्छ । यो जातको च्याउ राम्रो जंगली क्षेत्रमा पनि केही ठाउँमा फुलेको पाइन्छ । यसलाई काठको धुलोमा बिउ राखी उचित वातावरणमा ढुसी उमारेर फलाइन्छ । यसलाई फलाइसकेपछि उच्च प्रविधिद्वारा प्रशोधन गरी विभिन्न रोगको आयुर्वेदिक औषधिको रुपमा प्रयोग गरिन्छ । बजारमा जताततै च्याउको चिया, साबुन, टुथपेष्ट, रिङचर आदि औषधिको रुपमा बिक्री गर्न ल्याइएको पाइन्छ । यो च्याउ खानाको लागिभन्दा पनि विभिन्न रोगहरुको समाधान गर्ने औषधिको प्रयोजनको लागि बढी प्रयोग भएको पाइन्छ । यसको खेती नेपालमा पनि सुरुवात गरिएको छ।
हाम्रो देशमा यस्ता औषधिजन्य च्याउहरु धेरै पाइन्छ । च्याउका विविधतासम्बन्धी अध्ययनको कमीले पनि हामी यस विषयप्रति अनभिज्ञ रहेका छौं । हाम्रो देशमा विभिन्न क्षेत्रमा पाइने खानयोग्य र औषधिजन्य च्याउहरु स्थानीय रुपमा प्रयोग भइरहेको हुन्छ । यी च्याउहरुले रोगसँग लड्ने जैविक क्षमता भएको द्यष्ययिनष्अब िचभकउयलकभ mयमषष्भचक को रुपमा काम गरेको वैज्ञानिकहरुले पुष्टि गरेका छन् । औषधिजन्य च्याउहरु पनि हाम्रा गाउँघरका बुढापाकाहरु दबाइका रुपमा प्रयोग गरेको प्रशस्तै पाइन्छ ।
यसरी स्थानीय ज्ञानका आधारमा यी च्याउहरुको विविधता के कस्तो अवस्थामा रहेको छ । सो जान्नको लागि अनुसन्धान गर्न नितान्त आवश्यक देखिन्छ । यस्ता औषधिजन्य बहुमूल्य च्याउहरुको पहिचान र तिनको प्राकृतिक उत्पादन क्षेत्रहरु अध्ययन गरी संरक्षण र प्रवद्र्धनका लागि सबैले बेलैमा सोच्नुपर्ने बेला भएको छ । अन्यथा यी च्याउहरु हाम्रो देशबाट बाहिरिनेछन् साथै देशको सम्पत्ति गुम्ने सम्भावना त छँदैछ, धेरै मूल्यमा त्यही च्याउबाट प्रशोधित औषधि किनेर हामीले उपचार गर्नुपर्ने स्थिति आउन सक्छ । यस्ता च्याउहरुका बारेमा हामी सबै नागरिकहरुले सजग र सावधानी अपनाउनु अति आवश्यक देखिन्छ किनभने गैरकानुनी रुपमा विदेशमा लगी ठूलो धनराशीका रुपमा आयआर्जन गर्ने स्रोत बन्न सक्ने सम्भावना धेरै छ । तसर्थ हाम्रो देशमा यस्ता च्याउहरुसम्बन्धी केही पनि अनुसन्धान भएको पाइएको छैन । समयमा नै यसको अनुसन्धान र पहिचान हुन नसके हामी हाम्रो प्राकृतिक सम्पदाको उचित प्रयोगबाट वन्चित त हुन्छौं नै साथै हाम्रो सम्पतिको अधिकार गुमाउँदछौं । त्यसैले यस क्षेत्रमा पनि हाम्रो देशका वैज्ञानिकहरुले सोच्नुपर्ने बेला आएको छ ।