सुन्नु भो ज्यू !
   झोला केलाई भनिन्छ ?
काँधमा भिर्न वा हातले समाउन मिल्ने गरी उझिण्डो लगाइएको कपड़ा आदिको थैलोलाई झोला भनिन्छ । साग-सब्जी, राशन-पानी, पत्र-पत्रिका हाल्ने काममा झोला प्रयोग गरिन्छ ।
मैले भर्खरै एउटा नयाँ झोला तयार पारेको छु । यसको कुनै आकार छैन न ता .यसको कुनै लमाइ छ न ता चौड़ाइ नै । यो सानो पनि छैन न ता ठूलो नै । यसमा न ता साग-सब्जी हाल्न सकिन्छ, न राशनी-पानी वा कुनै पत्र-पत्रिका नै ।  खासमा मेरो यो झोला अदृश्य । मैले तयार पारेको आकारै बिनाको, साइजै बिनाको यो झोला प्रत्येकले बोक्ने गर्छ हिजोआज । मैले तयार पारेको यो झोला तपाईँले पनि बोक्न थाल्नुभो भने तपाईलाई फलिफापै-फलिफा हुन्छ तर कुनै टुटा भने पर्दैन । यो झोला जता पायो त्य्तै जहिलेसुकै, जता पायो त्यतै पनि बोकेर वा भिरेर हिँड़्नु चाहिँ ठ्याम्मै हुँदैन । घरदेखि कार्यालय, कार्यालयदेखि घरसम्मै मात्रै बोक्निुपर्छ ।  यी दुइ ठाउँ बाहेक अन्त कतै बोकेर वा भिररे जानुभो भने यसको शक्ति हराउँछ । कार्यालयमा मात्रै यसले आफ्नो करामति देखाउन सक्छ । तपाई कार्यालयमा जानु हो भने तपाईँले मैले तयार पारेको झोला बोक्नैपर्छ ।
किन ? के को लागि ? झोला बोक्नुपर्छ (?) भनी मलाई सायद प्रश्न गर्नुहुन्छ होला । तपाईको प्रश्न सोह्रै आना सत्य र अकाट्य छ । तपाई कार्यालयमा पुग्नुहुन्छ...एक लगनी काम गर्नुहुन्छ । काम प्यारो हुन्छ, चाम प्यारो हुँदैन भन्ने भन्ने कुरामा लागेर तपाई कार्यालय वा अफिसमा जोतिरहनुहुन्छ । कुनै पनि दिन कथङ्कल कार्यालयमा अबेर गरी पुग्नुभो कार्यालयमा मुखियाले तपाईको सातोपुत्लो खान्छन् । एकदिन छिटो निस्किनुभो भने ता कुरै छैन । तर महिना पन्ध्र-पन्ध्र दिनसम्म कार्यालयबाट छिट्टै निस्किने तपाईका आँतका सहकर्मीलाई मुखियाले काखी चेपेका दृश्यले तपाईलाई कस्तो लाग्छ ? सायद यसको चित्तपर्दो जवाफ दिने आँट र बुता तपाईसित ठ्याम्मै छैन । किनभने तपाई साह्रै सोझा मान्छे । सादा-सिधा मान्छे तपाई । सोझो औंलोले घिउ निक्लन्न है ज्यू निक्लन्न ।  तपाईका सहकर्मीले हाकाहाकी क्राइम गर्दा पनि मुखियाको नजरमा उनी चाहिँ थै-थै, तपाई चाहिँ पर-परै । किन ? तपाईका ठगार सहकर्मी बन्धु आँखाको नानी अनि तपाईजस्ता होनहार, विश्वस्त कर्मी चाहिँ आँखाको तारो ? खास कारण के हो ?
  कारण केही पनि होइन ज्यू केही पनि होइन । यी सबै झोलाकै करामती हो । तपाईलाई थाहा छ कि छैन को'नि ? तपाईका सहकर्मीसित गतिलो झोला छ...अदृश्य झोला । उनको झोलाभित्र कार्यालयका मुखिका स्वात्तै पसेका छन् । एकपल्ट झोलाभित्र पसेपछि जुन स्वर्गीय आनन्द उपभोग गर्न सकिन्छ त्यो आनन्द स्वर्गमा समेत उपभोग गर्न सकिँदैन ।

तपाईहरूजस्ता लट्ठक, आबा न चाबा स्वभाव भएका समस्त कर्मीहरूकै खातेर तायर पारिएको झोला झट्टै लिइहाल्नोस् अनि पक्षपातीको शिकराले ग्रस्त भएका मुखियालाई झोलामा हाल्नोस् । साँप पनि मर्ने, लट्ठी पनि नभाँचिने । आरम्भमा तपाईजस्ता छलकपटविहीन सद्दे मान्छेलाई साह्रै पर्छ । अप्ठ्यारो पनि लाग्छ । कुरीकुरी पनि । मन मान्दैन । तर जसो जसो बाहुन उसै उसै स्वाहा गर्नुभएन भने तपाईको कार्यालयमै तपाईको जिलोगाँठो हराउँनेछ । जो लड़्छ उही बढ़्छ । जस्ता देवता उस्तै पूजा ।
   
यसैले मैले तयार पारेको झोला आजै लिनुहोस् अनि आफ्नो दुनो सोझ्याउनुहोस् । यो यस्तो झोला हो तपाईले दिन्हौं बोकेर वा काँधमा भिरेर कार्यालय धाउनु पर्दैन अनि तपाईको नयाँ झोलाभित्र स्वात्तै पसेका मुखियालाई श्रवण कुमारले आफ्ना माता-पितालाई बोकेजस्तो तुइँ-तुइँती बोकिहिँड़्नु पर्दैन । किनभने यो झलो नबोक्ने, नभिर्ने पाराले नै तयार पारिएको छ ।
मुखियालाई झोलाभित्र हाल्नुलाई सामान्य एक-दुइवटा नियम मात्र पालन गर्नुपर्छ । त्यो नियम पालन गर्नुहोस् । तपाईँ  टाढ़ा-टाढ़ा हुन खोज्ने, तपाईलाई पर-पर गर्ने मुखिया चुपो लागि तपाईको नयाँ अदृश्य झोलाभित्र स्वात्तै पस्नेछन् । तपाईले पालन गर्नुपर्ने नियमहरू -
क) राम्रो चियापत्तीको पोको दिनुहोस् ,
ख) नौनी घिउको पोको चढ़ाउनुहोस् ,
ग) कार्यालयमा कोही नभएका बेला मुखियाको गुँड़ (च्याम्बर) भित्रै पसी उनको चरण स्पर्श गर्नोस्,
घ) मुखिया कार्यालयदेखि बाहिर निस्किने बित्तिकै उनको सेमे-सरजाम बोकिदिनुहोस्,
ङ) कार्यालयमा मुखियाको विरोध गर्ने, मुखियाको खोइरो खन्ने आफ्नै आँतको सहकर्मीको पोल खाराक्-खुरुक् खोलिदिनुहोस् ।
उपरोक्त पाँचवटा नियम पालन गर्नुहोस् - मुखिया तपाईको झोलाभित्र स्वात्तै पसेनन् भने मलाई भन्नुहोला । भनिन्छ नि, छोता ओढ़्नु घाममा, हीरा फोर्नु काममा । तपाईका मुखिया एकपल्ट तपाईको झोलाभित्र पसेपछि पसेका पसेकै । कथङ्कल झोलाबाट निस्किनु खोजे कुकुरलाई हड्डी सुँघाएजस्तो चियापत्तीको पोका, नौनी घिउको  पोको, गाउँमा भर्खर छिनाएको खसीको मासुको पोको, तीनपानेको पोको सुँघाइ दिनुहोस्...बस खेल खतम । चित पनि तपाईको पट पनि तपाईको । कि चाहिँ झोलाभित्र हात हाली मुखियाको खुट्टा छोइदिनुहोस् ? बुहारी झारजस्तै साप्राक्-सिप्रिक् भएर मुखिया झोलाभित्र गुजुल्टिएर बसेनन् भने लु मरिजाउँ हजूर मरिजाउँ ।
यसकारण, नयाँ तक्निकले तयार पारिएको झोला झट्टै मगाउनुहोस् । झोला मगाउने हाम्रो टुङ्गो -
झोला कम्पनी प्रा. लि.
चाप्लुसी प्लाजा,
बाह्र तला,
पो. लोलोपोतो सिटी
जि. पिपलपाते नगरी ।