बाजे-बज्यूको जमाना बड़ो स्ट्रिक्ट थियो । साँझ पऱ्यो कि घरभित्र टुप्लुक्कै हाजिर हुनुपर्ने कठोर शासन । बिहान सखारै गाग्रो बोकी धारामा पानी लिनु जानुपर्ने दैनिक तालिका नै थियो । कथङ्कल बिहान उठ्नु अल्याङ्-टल्याङ् गऱ्यो कि बाजे सुतेको कोठामा पसी गर्जिन्थे । यति गर्दा पनि अटेर गर्दा बाजे कुनामा राखेको सिर्कनु निकालेर स्वाम् कि स्वाम् सोर्क्याउँथे ।
धाराबाट पानी लिएर ठिक टाइममा घरभित्र पस्नुपर्ने । पानी बोकेर बाटामा कतै बिसाउनु हुँदैन भन्ने बाजेको कठोर निर्देश हुन्थ्यो । भारीमाथि सुपारी भनेजस्तो त्यै माथि आमा-बाब आगोमा घिउ थप्थे ।
'किन बिसाउनु हुँदैन '  भन्ने प्रश्न गर्दा बाजे-बज्यू दुवै एकमुख भएर गर्जिन्थे - 'किन चाहियो ? सानो मुख ठूलो कुरा गर्छस् ? उम्रिँदै तीनपाते । आफू छस् बोकोजस्तो कुरा गर्छस् डोकोजस्तो ?'
एकातिर बाजे-बज्यू गर्जिन्थे, अर्कातिर आमा-बाबा खनिन्थे ।  पुलिसले भीड़माथि लाठी प्रहार गरेजस्तो । ग्याङ एटेक । बोलिसक्नु थिएऩ । बोल्यो कि सर्वनाश । सबसे भला चूप ।
धाराबाट पानी बोकेर ल्याउँदा ठ्याम्मै कतै पनि बिसाउनु हुँदैन (?) भन्ने प्रश्नको विस्तृत व्याख्या, सठिक वा चित्तपर्दो उत्तर दिन सक्ने बुता वा ज्ञान बाजै-बज्यू कसैसित पनि थिएऩ  कि ! अहिले बुझ्दै जाँदा वा उबेला धारा जाने निहुँमा उनका छोरा-छोरी वा नाता-नातिना कुनै झिल्केसित लभमा परेर बित्यास पो पार्छन् कि भन्ने डरले नबिसाई धाराबाट एकै श्वासमा पानी ल्याउनुपर्छ भनेका हुनन् । सो आजसम्म मैले बुझ्न सकेको छैन । किनभने त्यसताका दुइ प्रेमि-प्रेमिकाका भेटघाट हुने एकमात्र प्रणयथलो भन्नु नै धारा नै उपयुक्त स्थान थियो । धारमै हाँस-खेल...धारामै ठट्टा...धारामै एराउण्ड द वर्ल्ड ।
जमान बदलियो । विज्ञानले हामीलाई साँघुरो बनायो । म्युनिस्याप्यालिटिले घर-घरमै पानी दिएपछि अचेल धारा धाउनुपर्ने आवश्यकता पनि परेन, वाध्यता पनि रहेन । चोरको हजार बुद्धि भनेजस्तो बाजे-बज्यूले लाख छेकावार लाए पनि  लुकीछिपी लभ गरिन्थ्यो । धाराकै कतैतिर  ढुङ्गाको चेपमा लभ लेटर लुकाएर राखेपछि त्यसको जवाब भोलिपल्ट ढुङ्गाकै चेपमा पाइन्थ्यो । कसले सक्ने ? खाने मुखलाई जुङ्गाले छेकावार कहाँ लाउन सक्छ र ! जहाँ इच्छा तहाँ उपाय । तर यो लभरोगको ओखति थियो , ईङ्गलिश धुलाइ । साँच्चै, उबेलाका अभिभावकहरू अभिभावकै थिए । खाँटी अभिभावक । टाउन इन्सपेक्टरजस्तो । राशिन पूरै सप्लाई तर शासन बेजोड़ । प्रेमिकाका ड्याड उस्तै । जबरस्वाँठ । रावणकै जेरक्स । त्यसताका भविष्यत ससुरालाई ठाड़ो हेर्नै नसकिने । कथङ्कल आँखा जुझ्यो कि उनकी सुपुत्रीसित बिहे गर्ने जल्पना-कल्पनाले भेजाबाट कुम्लो कुटुरो बोकी सुइँकुच्चा ठोक्थ्यो । त्यसताकाको लभ जण्डिसले भेटेको जस्तै हुन्थ्यो । त्यसले भेट्यो कि मान्छे पहेँलै । बिहेको छेकमा बेहुला-बेहुलीले जीउभरि हर्दा दलजस्तो । सबैले बुझ्थे यो युवक वा युवतीलाी लभजण्डिसले भेटेको छ । कति पारखी नजर (!) त्यसताकाका मान्छेहरूका । थाहा नपाएसम्म ता ठिकै थियो...थाहा पायो कि प्रेमिकाका शाखा-सन्तान आफन्त, इष्ट-मित्र तिनका गाउँ-घरका सबै छिमेकीहरू मिली माला उन्नु थाल्थे । फूलको माला होइन, जुत्ताको माला । उबेलाको लभ र भूत, चुँड़ेल, बोक्सा-बोक्सीलाई पर्यायवाचीकै रुपमा लिइन्थ्यो । गाह्रो थियो उबेलाको लभ सफल पार्नु । जति लुकाउँ भने पनि कसरी हो कसरी हो एक कान दुइ कान मैदान भैहाल्थ्यो ।
  उबेला केटाको केटै साथी केटीकी केटी नै । 'ब्वाई फ्रेण्ड'  वा 'गर्ल फ्रेण्ड' कुन चराको नाउँ हो कसैले पनि जानेकै थिएनन् । अचेल ईङ्गलिश माध्यम पढ़्ने नर्सरीको नानी समेतले हाकाहाकी 'हि इज माई ब्वाई फ्रेण्ड...सि इज माई गर्ल फ्रेण्ड' भनेका सुनिन्छ ।
  कलेज पढ्दै गरेकी युवती तिनका बुवालाई निर्धक्कै भन्छे - ''ड्याड ! हि इज माई ब्वाई फ्रेण्ड ।''
बुवा पनि गजक्क र मसक्क हुँदै बत्तीस दन्तलहर ङिच्च पार्दै भन्छन् - ''ग्ल्याड टु मिट यू ।''
अर्कोतिर आमा मुहारको भूगोलभरि एक राश मुस्कान निक्षेप गर्दै नन स्टप बस गुड़ेजस्तो संवाद हाँक्छिन् - ''हाय.... !''
कति सजिलो अचेल । उबेला केटाहरूले आफ्नो घरभित्र केटीहरू हुल्नु पाउँदैन थिए । केटीहरूले कुनै केटो साथीलाई त्यसरी घरभित्र हुलेर '' हि इज माई ब्वाई फ्रेण्ड भनोस् ता डँड़ाल्नु मस्किन्थ्यो ब्वाई फ्रेण्डकी मालिकनीको । घरका ठूला-बड़ा सामु यसरी ब्वाई फ्रेण्ड वा गर्ल फ्रेण्डलाई घरमा लगी परिचय गराउनु पाइन्थ्यो ? नारायण....! सातो खान्थे....सातो ! यी बाजे-बज्यू, आमा-बाबु नामक आतङ्कवादीहरूले । यी आतङ्कवादीहरूले बसिसक्नु पार्दैनथे । त्यतिमात्रै कहाँ र हजूर ! यी आतङ्कवादी नाउँका ठूला-बड़ाहरूको कचहरीमा कैफियत दिनुपर्थ्यो  । केरकार हुन्थ्यो । कतिलाई ता महिनौं दिनसम्म घरबन्दी समेत गरेर राखिन्थ्यो ।
मुट्ठीभाष (सेलफोन) आएपछि अचेलको लभ झनै साँघुरी न साँघुरो भएको छ । घरमा, कलेजमा, बाटामा, बस बिसौनी, पार्क मात्र होइन जता पायो त्यतै अचानक मुठ्ठीभाषको ध्वनितरङ्ग । कसले सुन्यो, कसले सुनेन...ड्याम केयर । मुट्ठीभाषधारी प्रेमि-प्रेमिका (बिग्रेका राधा-कृष्णहरू)-को जगजगी । ओँठका कुना-काप्चामा कुनाकाप्चामा मिठाइलो मुस्कान । आँखाका डिल-डिलमा प्रणयातुर सरोवर । जता हेऱ्यो उतै उत्तरआधुनिक राधा-कृष्णको युगलरप्रेमि लभर रिमिक्स ।
अहा ! यो संसार कति सुन्दर ! बूढ़ी राधा, बूढ़ा कृष्णसमेत मुट्ठीभाषमा संवाद (म्यासेज) प्रेषण गर्न व्यस्त । अचेलका बाजे-बज्यूहरू पनि कम्ति ता कहाँ छन् र नारायण ! लभराज्य नेपालभूमि वा भरतभूमिमा लभ दूधको धाराजस्तै वाल्छ्याल बगिरहेछ कि बगिरहेछ । उबेलाका बाजे-बज्यूहरू धाराम लभ गर्थे । तिनका लालाबालाहरू अचेल मुट्ठीभाष खेलाउँदै संवाद मार्फत् प्रेमालाप गर्छन् । न ता धारामा भेट्ने  झ्याउला न ता लुकीलुकी भेट्ने झमेला । बेलुकी टिभी हेर्दै गर्दा चाहिँ सिरकभित्र पसेपछि लण्ठैसाफ ।
 वर्तमान रिमिक्स राधा-कृष्णको एउटा टेसिलो उदगार -

उबेलाका बाजेको पालामा
लभ गरिन्थ्यो चोरसरि
अहिले हाम्रो पालामा
मोबाइलमै लभ सराबरि ।

पानी बोक्ने निहुँमा
बज्यै  धारामा हराउँथिन्
गाग्रो माझ्ने निहुँमा
बज्यूले बाजेलाई भुल्याउँथिन् ।

अचेल हाम्रो पालामा
धारा धाउनु पर्दैन
मुट्ठीभाष संवाद नै काफी छ
दशवटा बहाना चाहिँदैन
मात्रै मिस्ड कलकै पर्खाइ छ ।
हाम्रो समाजलाई नियालेर हेऱ्यौं भने, अचेल हाम्रा सम्पूर्ण अभिभावकवर्ग समाज निराश र हताश देखिन्छ । बाटामा हिँड़्नु पनि दुरी दुहाइ । 'ओल्ड सिटिजन'  होइन 'ओल्ड वुल्भस्' । सड़क बीचमा छाती उदाङ्गो पारेर इण्टरनेटेली लभ ठमठम हिँड़्दैछ । मुट्ठीभाषमा नयाँ जमानाको ल्याङ्ग्वेज -
"LUV U
LUV U 2
UR COCKS COMING
DAM CARE. THEY R GOरुज ।"